Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशसुन तस्करीका आरोपितहरूसँग संकटग्रस्त मेगा ड्रिम सहकारीका सञ्चालकहरूको सम्बन्ध

सुन तस्करीका आरोपितहरूसँग संकटग्रस्त मेगा ड्रिम सहकारीका सञ्चालकहरूको सम्बन्ध


काठमाडौं : सुन तस्करीको आरोप लागेका विभिन्न व्यक्तिहरूसँग मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरूको सम्बन्ध रहेको खुलेको छ ।

जनताको अर्बौँ रुपैयाँ बचत रहेको काठमाडौंको बालाजु माछापोखरीमा प्रधान कार्यालय रहेको सहकारीका सञ्चालकहरू फरार रहेको समाचार शुक्रबार आर्थिक दैनिकले सार्वजनिक गरेपछि सुन तस्करीका आरोपितहरूसँग सञ्चालकहरूको सम्बन्ध रहेको र सोहीअनुसार कारोबार समेत हुनेगरेको स्रोतले दाबी गरेको छ ।

विश्वस्त स्रोतका अनुसार बहालवाला एआईजी तथा सीआईबी प्रमुख श्यामलाल ज्ञवालीलाई बहालवाला आईजीपी बसन्त कुँवरलाई अपदस्त गरी आईजीपी बन्न दुई करोड सहयोग गरेको भनेर आरोप लगाएका सुन तस्करीका आरोपित जीवन चलाउनेले मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष महाशंकर रेग्मीसँग मिलेर सहकारीको पैसा विभिन्न ठाउँहरूमा लगेर लगानी गरेका हुन् ।

सहकारीका अध्यक्ष महाशंकर रेग्मीको खाद्य सामानहरूको व्यापार गर्ने मारवाडी जितेन्द्र सैनी र उनको श्रीमती बताउने अमृता श्रेष्ठमार्फत जीवन चलाउनेसँग सम्बन्ध बनाएका थिए ।

बहालवाला एआईजी श्यामलाल ज्ञवालीलाई नै घुस दिएको बताउने सुन तस्करीका आरोपित जीवन चलाउनेसँगै अध्यक्ष महाशंकर रेग्मीको व्यावसायिक पार्टनर अमृता श्रेष्ठको श्रीमान् जितेन्द्र सैनीसमेत सुन तस्करीको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको व्यक्ति भएको स्रोतले दाबी गरेको छ । सुन तस्करीमा सेटिङ मिलाएर छुटेको बताउने उनै मारवाडी जितेन्द्र सैनी देश छोडेर भाग्ने तयारीमा रहेको समेत स्रोतले दाबी गरेको छ ।

सुन तस्करीको आरोपित रहेका मारवाडी जितेन्द्र सैनी र व्यवसायी जीवन चलाउनेको मिलेमतोमा मारवाडी जितेन्द्र सैनीकी श्रमिती बताउने अमृता श्रेष्ठसँग सहकारीका अध्यक्ष महाशंकर रेमीले गोल्फुटारमा एसटीजी नामक खाद्य स्टोरमा ४० करोडभन्दा बढी लगानी गर्नुको साथै काठमाडौं चन्द्रागिरि साबिक दहचोक खहरेमा करिब १६ रोपनी जग्गा संयुक्त नाममा किनेको पाइएको छ ।

करिब ११ हजार निक्षेप सदस्य रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारीमा करिब दुई अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेर सञ्चालकहरू फरार भएको भन्दै ठूलो संख्यामा पीडितहरूले उजुरी गरेसँगै सहकारीको लगानी खोज्ने क्रममा सो कुराको पर्दाफास भएको हो ।

पीडितहरूको उजुरीपछि प्रहरी वृत्त बौद्धले संस्थाका सात जना सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गरी संस्थाका उपाध्यक्ष बासुदेव भट्ट, सचिव इन्द्रप्रसाद गेलाल र सदस्य शरद कुमार अधिकारीलाई पक्राउ गरी थुनामा राखेको छ भने संस्थाका अध्यक्ष महाशंकर रेग्मी कोषाध्यक्ष रविन कुमार कार्की सदस्यहरू शेखर बस्नेत र राज कुमार श्रेष्ठ फरार रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिका संयोजक उमाकान्त न्यौपाने सदस्यहरू प्रकाश धिमिरे र शुधद्रा चौलागाईँ समेतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सहकारीका सञ्चालकहरू पक्राउ पर्ने र फरार हुन थालेपछि संस्थामा प्रत्यक्षरूपमा तिलक कार्की नाम गरेका व्यक्तिले सहकारीको हिसाबकिताब गर्दै आएका छन् ।

शंकास्पदरूपमा संस्थामा आबद्ध भएको विषयमा तिलक कार्कीसँगको आर्थिक दैनिकको जिज्ञासामा संस्थाका साथीहरू र विशेषगरी सुन तस्करीका आरोपितहरू अमृता श्रेष्ठका श्रीमान् जितेन्द्र सैनी र जीवन चलाउने र पछिल्लो समय सहकारी हिनामिनामा पक्राउ पुर्जी जारी भएका सहकारीका अध्यक्ष महाशंकर रेग्मीसँगको आफ्नो विशेष सम्बन्ध र उनको चाहनाअनुसार आफूले काम गरेको बताए ।

कार्की केही समयअघिसम्म मात्रै संकटग्रस्त लक्ष्य राइज बचत तथा ऋण सहकारी संस्थामा सीईओको रूपमा कार्य गर्दै आएका व्यक्ति समेत हुन् । गत बिहीबार आर्थिक दैनिकसँग कुरा गर्दै सहकारीमा आफ्नो केही नरहेको र अध्यक्ष रेग्मीसँगको सम्बन्धले मात्र काम गरेको बताएका उनले शनिबारको टेलिफोन वार्तामा आफू सो सहकारीको सेयरसदस्य समेत रहेको बताएका छन् । यसरी कार्कीको गतिविधि शंकास्पद रहेको स्रोतको दाबी रहेको छ ।

एस रिजाल एन्ड एसोसिएट्सबाट आव २०७८/०७९ मा अडिट गरेर त्यसयता फरार रहेका सहकारीका सञ्चालकहरूले केही पीडितहरूलाई भने आफ्ना मान्छेहरूको नाममा विभिन्न ठाउँमा किनेको जग्गाहरू पैसा थपेर दिएको र अन्यलाई समेत सोहीबमोजिम गर्न भन्दै आएका छन् ।

यो पनि पढ्नुहोस

अर्बौं रुपैयाँ बचत रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारीका सञ्चालकहरू फरार


क्याटेगोरी : बिशेष, बैंक बित्त बजार, समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x