बालमन्दिर जग्गा घोटालाविरुद्धको पक्राउ पुर्जी रद्दीको टोकरीमा
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको सचिवालयअन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालमन्दिरको जग्गा ‘लिज’मा दिँदा भएको घोटालाको छानबिन गरी त्यसमा संलग्न विशाल ग्रुपका व्यापारीहरूलगायत नेपाल बाल संगठनका पदाधिकारीहरूविरुद्ध आफैँले जारी गरेको पक्राउ पुर्जी प्रहरीले रद्दीको टोकरीमा फालेको छ र सुरुमा नै उनीहरूलाई कसरी उम्काउने भन्ने उपाय खोजेर छानबिनको नौटङ्की गरेको देखिएको छ ।
उक्त घोटालामा संलग्न व्यक्तिहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिएपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने थियो तर सीआईबीले तीमध्येका एक जना तुलसीनारायण श्रेष्ठबाहेक अरु कसैलाई पनि अहिलेसम्म पक्राउ गरेको छैन र उनी पनि पक्राउ गरेको दुई दिनमा छुटेका छन् ।
पक्राउ पुर्जी जारी गरिएका मध्येका विशाल ग्रुपसँग सम्बद्ध व्यापारीहरूलाई जोगाउनका लागि सीआईबी आफैँले जारी गरेको पक्राउ पुर्जी निष्क्रिय पारेर उनीहरूलाई भगाएको बुझिएको छ ।
सीआईबी गत वैशाख २७ गते बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित पूर्वपदाधिकारीहरू तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपक दासलगायतलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
त्यस्तै बृहस्पति विद्यासदनका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघनिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेसहितलाई पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि पनि अभियुक्तहरू सीआईबीमा आउने–जाने क्रम चलिरहँदा समेत सीआईबीले पक्राउ नगरी छोड्ने गरेको छ ।
पक्राउ पुर्जी जारी भएका मध्ये संघाई, सिंघनिया र केडिया विशाल व्यावसायिक समूह विशाल ग्रुपसँग सम्बन्धित भएको र यही समूहले बालमन्दिरसँग जग्गा भाडामा लिएर बृहस्पति विद्यासदन चलाएको सीआईबीले जनाएको छ ।
बालमन्दिरको जग्गा भाडासम्बन्धी विवाद लामो समयदेखि चल्दै आएको थियो । विसं २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा एक सय १९ रोपनी १२ आना तीन पैसा जग्गा राखेको थियो ।
सोमध्ये धेरैजसो जग्गा विभिन्न सरकारी निकायहरूले भोगचलन गरिरहेको र त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीहरूको मिलेमतोमा मन्दिरको २९ रोपनी चार आना जग्गा निजी विद्यालय बृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो मूल्यमा लिजमा दिएपछि विवाद बढेको थियो ।
गैरकानुनीरूपमा बालमन्दिरको जग्गा उपभोग गर्दै आएका समूहहरूलाई कारबाही गर्नुपर्ने माग बालमन्दिरका सदस्यहरूले नै राख्दै आएका थिए । विनाप्रतिस्पर्धा, न्यून रकममा जग्गा उपभोग तथा भाडामा लगाउँदै आएको समूहलाई कारबाही गर्नुपर्ने अडान उनीहरूको थियो ।
उनीहरूले एउटा निश्चित समूहलाई नियमविपरीत जग्गा उपभोग गर्न दिनु गैरकानुनी भएको बताउँदै त्यसमा सरकारले आवश्यक कारबाही अगाडि बढाउनुपर्ने बताउँदै आएकोमा सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाउने संकेत देखाएर पुनः पछि माथिको आदेश भन्दै पक्राउ पुर्जीलाई नै निष्क्रिय बनाएको हो ।
बालमन्दिरको जग्गा भाडा अनियमिततामा काण्डमा उच्च अदालतका पूर्वन्यायाधीश हरि भट्टराई नेतृत्वको छानबिन आयोगले जग्गा लिजमा दिँदा अनियमितता भएको ठहर गरेको थियो भने अख्तियार दुरूपयोग अनुसन्धान अयोगले पनि छानबिन गर्न चासो देखाएको थियो । तर, अख्तियारले हालसम्म छानबिन प्रक्रिया अघि बढाउन सकेको छैन ।
बालमन्दिर परिसरमा सञ्चालन भएको बृहस्पति विद्या सदनका सयेरधनीमा पुरुषोत्तमराज जोशी, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, अनुज अग्रवाल, श्रद्धा संघई, अर्पित अग्रवाल, ग्रीन फिल्ड इंक प्रालि, श्यामसुन्दर कंडेल, समीर थापा, महेशकुमार सिंघानिया, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल छन् ।
जसमा पुरुषोत्तमको २५ लाख ८० हजार रुपैयाँ, प्रवीणराज जोशीको एक करोड ८७ लाख १० हजार रुपैयाँ, प्रज्वलराज जोशीको एक करोड ३१ लाख १० हजार रुपैयाँ, अनुज अग्रवालको तीन करोड ६१ लाख १२ हजार पाँच सय रुपैयाँ, श्रद्धा संघईको दुई करोड ५७ लाख ९२ हजार पाँच सय रुपैयाँ, अर्पित अग्रवालको एक करोड १२ लाख १० हजार रुपैयाँ, ग्रीन फिल्ड इंक प्रालिको ५० लाख १० हजार रुपैयाँ, श्यामसुन्दर कंडेलको ६४ लाख ६५ हजार रुपैयाँ, समीर थापाको १० हजार रुपैयाँ, महेशकुमार सिघांनियाको ४२ लाख ३० हजार छ सय रुपैयाँ, सञ्जयकुमार मोरको सात लाख चार हजार दुई सय रूपैयाँ, सञ्जय अग्रवालको सात लाख चार हजार दुई सय रुपैयाँ, विशाल अग्रवालको दुई करोड ३६ लाख ७५ हजार रुपैयाँ र निकुञ्ज अग्रवालको दुई करोड ३६ लाख ७५ हजार रुपैयाँबराबरको सेयर लगानी छ ।
बालमन्दिर परिसरभित्र रहेको अर्को विद्यालय राइ स्कुलका सेयरधनीमा श्रद्धा संघाई, अनुज अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, ग्रीन फिल्ड इंक प्रालि, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, एस इन्ष्टिच्युट अफ मेनेजमेन्ट, समीर थापा र अर्पित अग्रवाल छन् । यस विद्यालयमा श्रद्धा संघाईको ७५ लाख ५५ हजार एक सय रुपैयाँ, अनुज अग्रवालको ५० लाख ३६ हजार दुई सय रूपैयाँ, विशाल अग्रवालको ३३ लाख ६० हजार छ सय रुपैयाँ, निकुञ्ज अग्रवालको ३३ लाख ६० हजार छ सय रुपैयाँ, ग्रीन फिल्ड इंक प्रालिको १० हजार रुपैयाँ, प्रवीणराज जोशीको २७ लाख ५० हजार रुपैयाँ, प्रज्वलराज जोशीको २७ लाख ५० हजार रुपैयाँ, एस इन्ष्टिच्युट अफ मेनेजमेन्टको नौ लाख ८० हजार रुपैयाँ, समीर थापाको १० हजार रुपैयाँ र अर्पित अग्रवालको १६ लाख ८७ हजार पाँच सय रुपैयाँबराबरको सेयर लगानी छ । २०५८ जेठ ८ गते बाल संगठनको जग्गा बृहस्पतिलाई भाडामा दिने सम्झौता गरिएकोमा जग्गा प्रयोगको अवधि भने ३० वर्ष कायम गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया