Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक महिनामा ११ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता

एक महिनामा ११ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता


काठमाडौं । मुलुकको उद्योग तथा व्यवसायमा प्रत्यक्ष विदेशी लगानीस्वरूप जेठ महिनामा मात्रै करिब ११ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । जेठ महिनामा ११ अर्ब २९ करोड ४६ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार स्वचालित मार्गबाट आठ अर्ब २७ करोड ९० लाख रुपैयाँ र सामान्यतवरबाट तीन अर्ब एक करोड ५६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा ५५ अर्ब ५८ करोड २० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । स्वचालित मार्गबाट ११ अर्ब १८ करोड ११ लाख रुपैयाँ र सामान्यतवरबाट ४४ अर्ब ४० करोड आठ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । सो लगानी प्रतिबद्धता चार सय ४९ वटा उद्योगमा २० हजार एक सय ४६ जनालाई रोजगारी दिनेगरी आएको हो । लगानी प्रतिबद्धता जनाउन स्वचालित प्रणाली लागू भएपछि विदेशी लगानी ल्याउन सहज भएको विभागले जनाएको छ ।

विभागका अनुसार विदेशी लगानीकर्ताले तीन सय ४१ वटा साना, १४ वटा मझौला र चारवटा ठूला उद्योगका लागि प्रस्ताव गरेका छन् । समीक्षा अवधिमा एक सय ७६ वटा पर्यटन, एक सय १४ वटा सेवा, ४० वटा उत्पादन, १० वटा सूचना प्रविधि, आठवटा कृषिजन्य, सातवटा पूर्वाधार, तीनवटा खनिजजन्य उद्योग तथा व्यवसाय स्थापनाका लागि प्रस्ताव आएको हो । जेठ महिनामा मात्रै ३२ वटा पर्यटन, ११ वटा सेवा, ११ वटा उत्पादन, एकवटा खनिज र एकवटा सूचना प्रविधि उद्योगका लागि प्रस्ताव आएकोे छ ।

विभागले कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता गर्ने हुँदा सोही प्रकृतिको उद्योग तथा व्यवसायमा लगानी प्रतिबद्धता आएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले बताएका छन् । उनले सूचना प्रविधिजन्य उद्योगमा लगानी गर्न न्यूनतम सीमा नतोकिएको तर अरु क्षेत्रका उद्योगमा न्यूनतम सीमा तोकिएको जानकारी दिए । ‘उद्योगका लागि न्यूनतम दुई करोडदेखि छ अर्ब रुपैयाँसम्म लगानी प्रतिबद्धता जनाउन पाइन्छ तर सूचना प्रविधिजन्यमा भने उक्त मापदण्डले छैन’, निर्देशक धामीले भने ।

विभागमार्फत प्रत्यक्ष लगानी मात्र नआई सेयर खरिद सम्झौता (एसपीए), साझेदारी सदस्यता सम्झौता (एसएसए) र उद्योग प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) सहित लगानी प्रतिबद्धता आउने गरेको छ । पहिला स्थापना भएका उद्योग तथा नयाँ उद्योगमा विदेशी लगानीकर्ताले लगानी अथवा वेयर खरिद सम्झौता तथा साझेदारी गर्नको लागि एसपीए, एसएसए र टीटीए सम्झौतासहितका लगानी आउने गरेको छ । जसले लगानी रकम भित्रिने विषयको सुनिश्चितता समेत गर्दछ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ५२ वटा उद्योग तथा व्यवसायमा नौ अर्ब ५१ करोड ४५ लाख रुपैयाँबराबरको एसपीए र एसएसए सम्झौता भएको विभागले जनाएको छ । यस्तै ५६ वटा उद्योग तथा व्यवसायको टीटीए सम्झौता गरिएको छ । जेठमा मात्रै नौवटा उद्योग तथा व्यवसायको ४६ करोड १० लाख रुपैयाँबराबरको एसपीए र एसएसए सम्झौता भएको छ । सातवटा उद्योगको टीटीए सम्झौता गरिएको छ ।

लगानीकर्ताहरूले एसपीए, एसएसए र टीटीए सम्झौता आ–आफ्ना मुलुकमा गर्ने र कानुनी प्रक्रिया मात्र नेपालमा पूरा गर्नेगरेको निर्देशक धामीले बताए । पछिल्लो समय भने स्वचालित मार्गका कारण उद्योगको सेयर खरिदबिक्री, लगानीकर्ता परिवर्तनलगायतका विषय विदेशमा बसेर गर्न थप सहज भएको छ । ‘पहिला विदेशी लगानीकर्ता नेपाल उपस्थित हुनुपर्ने व्यवस्था थियो भने हाल स्वचालित मार्गलगायतका कारण विदेशमा बसेर नेपालमा रहेको उद्योग तथा व्यवसाय खरिदबिक्रीलगायतका काम गर्न सकिन्छ’, उनले भने ।

विदेशी लगानीकर्तालाई ‘प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५’ले नेपालमा रहेको उद्योग तथा व्यवसायमा क्षेत्रमा लगानी गर्ने अधिकार दिए पनि लगानी प्रतिबद्धता आउने तर रकम नभित्रिने समस्या छ । प्रतिबद्धता आएको छोटो समयमा रकम भित्रिएमा राम्रो मानिन्छ तर रकम भित्रिने समयमा महिनौँ र वर्षौँ लागेमा भने त्यसलाई राम्रो मानिँदैन । सरकारले लगानी वातावरण बनाउन नसक्दा यस्ता समस्या देखापर्ने भएकाले यसको समाधान गरी अघि बढ्नुपर्ने विज्ञहरू बताउँछन् ।

प्रतिबद्धताअनुसारको लगानी रकम नआएको भन्न नमिल्ने विभागका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार नेपालको उद्योग तथा व्यवसामा लगानी गरिरहुँ भन्ने खालका लगानीकर्ता धेरै छन् अर्थात् तत्काल प्रतिफल खोजी हाल्ने लगानीकर्ता धेरै भएकाले समस्या भएको हो तर पनि लगानी रकम भित्रिने क्रमले निरन्तरता पाउँदा भने निरशा हुने ठाउँ छैन । सरकारी प्रतिवेदनका अनुसार नेपालमा आउने विदेशी लगानीमा सबैभन्दा बढी भारत, चीन, सेन्ट किट्स एन्ड नेभिज र आएरल्याण्डलगायतका मुलुक छन् । साथै सिङ्गापुर, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका, बंगलादेश गरी ५२ वटा मुलुकबाट पनि नेपालमा लगानी भित्रिने गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x