Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआईजीपी कुँवर प्रहरी कमान्ड सम्हाल्न पूर्णत: असफल

आईजीपी कुँवर प्रहरी कमान्ड सम्हाल्न पूर्णत: असफल


काठमाडौं । आस र त्रासको बन्धक बनेर नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर प्रहरी कमान्ड सम्हाल्न अक्षम बन्दै गएका छन् । उनले प्रहरीमा ‘चेन अफ कमान्ड’ गर्न नसक्दा सिङ्गो प्रहरी प्रशासन अराजक बन्दै गरेको छ र जे गर्दा आफूलाई फाइदा हुन्छ मनलाग्दी त्यही गर्ने प्रवृत्ति बढ्दै गएको छ । नेपाल प्रहरीका तीसौँ आईजीपी कुँवर सबैभन्दा अक्षमको उपाधि पाउने आईजीपी हुनेभएका छन् ।

मंगलबार सार्वजनिक सरोकारका सूचना माग गरेको अभियोगमा प्रहरी वृत्त बौद्धले सूचनाको हकका अभियान्ता राजु सुनार, आदेश क्षेत्री र लस्मित खत्रीलाई पक्राउ गरेको छ । त्यस घटनामा सूचना आयोगले काठमाडौंका सीडीओसँग स्पष्टीकरण सोधेको छ ।

मंगलबारै कबाडखाना काठमाडौं चक्रपथबाहिर सार्न काठमाडौंका मेयर बालेन्द्र शाहले दिएको निर्देशनको विरोधमा महानगरपालिकावरिपरि शान्तिपूर्ण विरोध तथा धर्ना गरेका कबाड व्यवसायीहरूलाई प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सत्यनारायण थापाको नेतृत्वको प्रहरी टोलीले पश्चिममा दरबारमार्गमा रहेको महेन्द्रको शालिकअगाडिको गौँडो, दक्षिण–पश्चिममा घण्टाघरको गौँडो, पूर्वमा कमलादी टुकुचाको गौँडो र उत्तर–पूर्वमा कमलपोखरीतर्फको टुकुचामाथिको गौँडो थुनेर चारैतिरबाट घेरा हालेर भाग्ने बाटो समेत नदिएर मानव अधिकारको अन्तर्राष्ट्रिय मान्यताविपरीत निर्मम रुपमा लाठीचार्ज ग¥यो । त्यहाँ लाठीचार्ज गर्नुपर्ने अवस्था नै थिएन, भीड तितरबितर पार्न सामान्य बल प्रयोग गरेको भए पनि पुग्ने अवस्था थियो तर चारैतिर नाकाबन्द गरेर त्यसरी अन्धाधुन्दरुपमा लाठीचार्ज गर्नुपर्ने अवस्था नै थिएन ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख रहेका एसपी गौतम केसीले मिटरब्याजीको पक्ष लिएर मीटरब्याजपीडितलाई धरपकड गर्दा पीडितलाई साथ दिएको आरोप लगाएर दुई साताअघि व्यवसायी सुवास बसेललाई पक्राउ गरेर हिरासतमा राखेर प्रहरी हतियारवाला गुण्डा हो, अहिले त समातेको मात्रै हो, थाहा पाइएन भनेर धम्क्याएको कुरा प्रकाशमा आएको छ ।

गत वैशाख १८ गते टोलेगुण्डा विजय मालीले क्षेत्रपाटीमा बाटो छेकेर धम्की दिएर अभद्र व्यवहार गरेको घटनाविरुद्ध वैशाख २० गते प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सत्यनारायण थापाको हातैमा दिएको जाहेरी अहिलेसम्म कार्यान्वयन भएको छैन । उक्त घटनामा अभद्रकारी मालीलाई कारबाही गर्न निवेदकसँगै प्रहरी वृत्त पुगेका वरिष्ठ चिकित्सक तथा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई डीएसपी थापाले आफ्नै कार्यकक्षमा बसेर उनीहरूलाई जबरजस्ती करणीको आरोप लगाएर तत्काल थुनामा पठाउन सक्ने धम्की दिए । उनीहरूले पत्रकारलाई अभद्र व्यवहार गरिएको उक्त घटनाको नेपाल पत्रकार महासंघले कारबाहीको माग गरेर वक्तव्य निकालेर चौथो अङ्गप्रति त्यस्तो गर्न नहुने कुरा राख्दा जकमा हालिदिने धम्की दिँदै चौथो अङ्ग न पाँचाँै अङ्ग, के मतलब भनेर उनीहरूलाई झाँटेका थिए । त्यो घटनाको अद्योपान्त आईजीपी सचिवालयमा अपडेट गरिएको छ तर उनको सचिवालयको निर्देशन डीएसपी थापाले धोती लगाइदिएका छन् । धादिङका एसपी केसीले पनि उनको आदेश त्यसैगरी धोती लगाइदिएका थिए ।

यी केही दृष्टान्त मात्र हुन् । आईजीपी कुँवरले दिएका आदेश र निर्देशन तत्ला तहका फुच्चे सिपाहीँहरूले त यसरी मान्दैनन् भने एआईजी र डीआइजीहरूले मान्ने कुरै भएन ।

नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा आईजीपी कुँवर छायामा थिए । उनले एआईजी श्यामलाल ज्ञवालीमार्फत समानान्तर प्रहरी कमान्ड चलाएका थिए । त्यतिबेलाको ठूलो सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडबलमा उनी आईजीपी नियुक्त भएका थिए तर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको अर्कै उम्मेदवार थियो । त्यतिबेलादेखि अहिलेसम्म आईजीपी कुँवरले प्रधानमन्त्री प्रचण्डको विश्वास जित्न सकेका छैनन् । प्रचण्डले कांग्रेससँग मिलेर सत्ता चलाउन्जेल उनी कांग्रेसका आईजी थिए तर उनी कांग्रेसको आईजीपी हुँदा पनि कांग्रेसलाई डसेर सिध्याउने माओवादी कदमका मौनमलामी बनिरहे । झण्डै देउवापत्नी डा. आरजू देउवा र पूर्वगृहमन्त्री कृष्ण सिटौलालाई पनि थुनिसकेका थिए । उनी त्यतिबेला त्यस्तो निरीह आईजीपी थिए । अहिले प्रचण्डले सत्ता समीकरण फेरेर एमालेसँग गठबन्धन गरेपछि आईजीपी कुँवर विवादस्पद गृहमन्त्री रवि लामिछानेको अपराध ढाकछोप गर्न सम्पूर्ण शक्ति खर्चिरहेका छन् र आफूलाई नियुक्त गर्ने कांग्रेसको जरै उखेल्ने प्रयासमा छन् । उनी लामिछानेतिर टाँसिए पनि माओवादीले चाहिँ उनलाई हटाउने प्रयास छाडेको छैन ।

विभिन्न देशका राजदूत फिर्ता भएपछि उनलाई खाडीतिरको राजदूत बनाएर पठाउने प्रस्ताव गएको चर्चा चलेको छ । गतवर्ष सुरक्षापरिषद्मा सरुवा गर्ने तयारी भएको थियो । आर्थिक दैनिकको एउटा समाचारले त्यो रोकिएको थियो । अहिले उनी रवितिर टाँस्सिएको भन्दा पनि अदृश्य शक्तिको ग्रान्ड डिजाइनमा चलेको र अदृश्य शक्तिलाई सूचना दिएको भनी गम्भीर आरोप लागेको छ । सत्तासँग हुने गोप्य सूचनाहरू अहिले अदृश्य शक्तिले आफ्ना टट्टुहरूमार्फत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पार्नेगरेका छन् । प्रहरीकै उच्चतहको एउटा बैठकका सहभागीहरूले सूचना चुहिएको बारे आईजीपी कुँवरलाई उल्टै प्रश्न गरिएको एक सहभागीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

अहिले आईजीपी कुँवरकै कारण प्रहरीमा चरम अराजकता छ, उनको अक्षमताका कारण प्रहरी कमान्ड लथालिङ्ग छ । उनकै सचिवालयअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अधिकृतहरू लेनदेनमा दोषी देखिएका प्रतिवेदन र अडियोहरू सार्वजनिक भएका छन् । न उनले प्रहरीलाई गलत गर्न रोक्न सकेका छन् न त प्रहरीलाई संरक्षण गर्न सकेका छन् । त्यसो हुनुमा उनमा आस र त्रास हावी भएको छ । उनी नियुक्त भएदेखि नै कहिले फालिने हो भन्ने त्रासमा छन् । किनभने माओवादी नेतृत्वसँग उनको द्वन्द्वकालदेखिकै दुश्मनी छ । तर उनी आईजीपी भइसकेपछि यसो गर्छु, उसो गर्छु, देश र संगठनका लागि नगरे पनि आफू र आफ्ना परिवार एवं आफन्तका लागि यसो र उसो गर्छु भन्ने आस उनमा स्वाभाविकरुपमा छ । तहगत प्रक्रिया, अनुभव र परिपक्वता प्राप्त नगरी डीआईजीबाट सोझै आईजीपी बनेका कुँवरमा प्रहरीको तहगत ज्ञान र अनुभव नभएकै हो । त्योसँगै ती तहमा बसेर काम गर्दा पाउने सेवासुविधा स्वतः खोसिएको पनि हो । त्यसले गर्दा उनको कार्यकाल कटौती भएको पनि हो । योसँगै उनको आम्दानी पनि कटौती भएको छ । जति कमाउनुपर्नेछ यही अवधिमा कमाउनुपर्ने बाध्यता उनलाई छ । तर, कमाउने बाटोमा सधैँ एआईजी श्यामलाल ज्ञवाली तगारो बनेका छन् ।

माथिल्लो तहमा ज्ञवालीले मुहान अवरोध गर्दा आईजीपी कुँवरले बूढो बाघले कीराफट्याङ्ग्रा टिपेजस्तो गर्नुपरेको बाध्यात्मक अवस्था आइपरेको हुनुपर्दछ । अन्यथा आईजीपीको निर्देशन यसरी अवज्ञा हुनुपर्ने अवस्था आउने थिएन र नेपाल प्रहरीको इतिहासमा यति कमजोर र निकम्मा प्रहरी नेतृत्व बेहोर्नुपर्ने अवस्था आइपर्ने थिएन । सत्ता समीकरण, सन्तुलन, शक्तिकेन्द्रको सन्तुलन, व्यावसायिक मूल्य र मान्यताको मर्यादा मिलाउन नसक्दा अहिले आईजीपी कुँवरका लागि भुइँको टिप्न खोज्ला पोल्टाको पोखिने डर बढ्दै गएको छ ।

आस र त्रासको बन्दी बनेर अपराधलाई अनुसन्धानमै ढाकछोपको लेप लगाउन खोज्दा प्रहरी प्रशासनको मूल्य, मान्यता र मर्यादा इतिहासमै नाजुक अवस्थामा पुगेको छ । योसँगै उनको नेतृत्व इतिहासमा अयोग्य, अक्षम र नालायक साबित हुने मोडमा पुगेको छ । एकातिर पहुँचवाला प्रहरीको यस्तो ब्रह्मलुट छ भने अर्कोतिर आईजीपी कुँवरको कार्यकालमा संसद् भवनभित्रै प्रहरी गोली लागेर मरेको अवस्थामा भेटिएको अवस्था मात्र होइन बर्दी नै नफुकाली फरार भएको प्रहरी टोलीलाई खोज्न अर्को प्रहरी टोली खटाउनुपरेको अवस्था छ । करणी र बलात्कारमा प्रहरी अधिकृत पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ । पहुँच नहुने प्रहरीका लागि लोग्नेस्वास्नी भेट हुन पनि मुस्किल छ । प्रहरीभित्र मौलाएको यो विकृति र पहुँच नहुनेका लागि पेसागत असुरक्षा यही आईजीपी कुँवरको अक्षमताको उपहारबाहेक केही होइन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x