Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरको सूचना चुुहाएर बीवाईडीका गाडी आयात

करको सूचना चुुहाएर बीवाईडीका गाडी आयात


चिनियाँ गाडी बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बजेटमा विद्युतीय गाडीसम्बन्धी नीति बनाउने क्रममा चलखेल गरेको रहस्य खुलेको छ । राजस्व छली सम्बन्धमा सो कम्पनीमाथि अनुसन्धान भइरहेको बेला बजेट निर्माणमा चलखेल गरेको नयाँ रहस्य बाहिरिएको हो । गठबन्धन सरकारका केही मन्त्री र नेताहरूसँगको मिलेमतोमा साइमेक्स इंकले आफूअनुकूल हुनेगरी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा विद्युतीय गाडीसम्बन्धी नीति समावेश गराउन सफल भएको तथ्य भेटिएको स्रोतले जानकारी दिएको छ । साइमेक्स इंककै अगुवाइमा विद्युतीय गाडीसम्बन्धी नीतिको ड्राफ्ट तयार गरी अर्थमन्त्री वर्षमान पुनलाई बुझाइएको स्रोतको दाबी छ ।

साइमेक्स इंकले पूर्वबजेट छलफलका लागि गरिएका विभिन्न कार्यक्रममा ‘फन्डिङ’ गरेको थियो । तिनै कार्यक्रममा भएको छलफलको प्रतिवेदन अर्थ मन्त्रालय पु¥याइएको थियो । अर्थमन्त्री पुनको ‘ग्रीन सिग्नल’ पाएपछि साइमेक्स इंकले आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत हुनुअगाडि नै हजारौँ गाडी आयात गरेको थियो । साइमेक्स इंकले २०८१ जेठ १५ गते रातिसम्म रसुवागढी र तातोपानी भन्सार नाकाबाट गाडीहरू जाँचपास गराउन सफल भएको स्रोतले जानकारी दिएको छ । विद्युतीय गाडीमा करका दर हेरफेर हुने सूचना पाएर बजेटअगावै आयात गरिएका गाडीको भन्सार जाँचपास गराउन रसुवागढी र तातोपानी नाकामा रातिसम्म काम गरिएको थियो । जसरी पनि बजेट अगाडि जाँचपास सक्काउन माथिबाटै दबाब दिइएको स्रोतको भनाइ छ । बजेटअगाडि बीवाईडीका गाडी जाँचपास गर्न ती दुई भन्सार नाकालाई भ्याईनभ्याई थियो । तर, जेठ १५ पछि भन्सार नाका सुनसानजस्तै छन् ।
जेठ पहिलो साता मात्रै रसुवागढी भन्सार नाकाबाट चार सय ८८ वटा विद्युतीय गाडीको भन्सार जाँचपास भएको थियो । जसमा बीवाईडीको अट्टो थ्रि मोडलको गाडी मात्रै तीन सय ३६ वटा भित्रिएका थिए । तातोपानी भन्सार नाकाबाट त्योभन्दा पनि बढी संख्यामा बीवाईडीका गाडी आयात भएको स्रोतको दाबी छ । जेठको पहिलो सातामा मात्रै एक हजार चिनियाँ गाडी रसुवागढी र तातोपानी नाकाबाट भित्रिएकामध्ये अधिकांश बीवाईडीको छ ।

जेठ महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै दुई हजार नौ सय ६९ वटा विद्युतीय गाडी नेपाल आयात भएको छ । आयात गरिएका गाडीमध्ये अधिकांशको जेठ १५ गते बजेट प्रस्तुत हुनुअगाडि नै जाँचपास गरिएको स्रोतले बतायो । अन्य महिना एक हजारभन्दा कम गाडी आयात हुँदै आएको अवस्थामा जेठ महिनामा एकै पटक तेब्बर बढी आयात गरिनुले पनि नीतिगत चलखेललाई पुष्टि गर्ने स्रोतको भनाइ छ । चालू आर्थिक वर्षमा ११ हजार नौ सय आठवटा विद्युतीय गाडी भित्रिएकामध्ये चीनबाट आठ हजार तीन सय ७७ रहेका छन् । त्यसमा करिब तीन हजारवटा बीवाईडीका मात्रै रहेको जनाइएको छ ।

सरकारले गाडीको क्षमता किलोवाटका आधारमा कर निर्धारण गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷८२ को बजेटपछि आएको आर्थिक विधेयक २०८१ मा ५० किलोवाटसम्मको विद्युतीय गाडीमा १५ प्रतिशत भन्सार र पाँच प्रतिशत अन्तःशुल्क लिने व्यवस्था गरिएको छ । त्यसअघिसम्म अन्तःशुल्क थिएन, १० प्रतिशत भन्सारदर मात्रै थियो ।
५१ देखि एक सय किलोवाटमा थप ५÷५ प्रतिशत भन्सार र अन्तःशुल्क बढाइसकेको छ । यो क्षमताका गाडीमा त्यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क थियो । एक सय एकदेखि दुई सय किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क रहेको छ । त्यसअघि भन्सार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत थियो । दुई सय एकदेखि तीन सय किलोवाटमा २० प्रतिशत भन्सार बढाएको छ । १० प्रतिशत अन्तःशुल्क घटेको छ । तीन सय किलोवाटभन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । तर, १० प्रतिशत अन्तःशुल्क घटेको छ ।

किलोवाट ढाँटेर विद्युतीय गाडी आयात गरी राजस्व छली गरेको सम्बन्धमा राजस्व अनुसन्धान विभागले साइमेक्स इंकका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर, उक्त अनुसन्धानलाई निष्प्रभावी बनाउनका निम्ति सो कम्पनीले विभिन्न कोणबाट दबाब दिइरहेको स्रोतले बतायो । सत्ताका मुख्य सञ्चालकहरूसँगको मिलेमोतोमा साइमेक्स इंकले कारोबार गर्दै आएको अवस्थामा राजस्व अनुसन्धान विभागको छानबिन साइमेक्स इंकलाई काराबाही गर्नेभन्दा पनि चोख्याउन प्रयोग हुने हो कि भन्ने आशंका बढेको स्रोतको भनाइ छ । राजस्व अनुसन्धान विभागले खुट्टा नकमाउने हो भने विद्युतीय गाडीको आयातमा सरकार र उपभोक्तामाथि भएको ठगीको भण्डाफोर हुने स्रोतको दाबी छ । साइमेक्स इंकमाथि लागेको आरोपका विषयमा कुरा गर्न साइमेक्स इंक प्रालिका प्रबन्ध निर्देशक यमुना श्रेष्ठसँग जानकारी लिने प्रयास गर्दा सम्पर्क हुन सकेन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x