Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक सय ३३ मुलुकसँग नेपालको व्यापार घाटा

एक सय ३३ मुलुकसँग नेपालको व्यापार घाटा


काठमाडौं । लगानीयोग्य रकम अभाव र युवालाई परिचालन गर्न नसक्दा मुलुकमा उत्पादन न्यून छ । यही कारण नेपालको वैदेशिक व्यपाार काहालीलाग्दो अवस्थामा छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कलाई आधार मान्दा नेपालले एक सय ३३ वटा मुलुकसँग व्यापार घाटा बेहोर्दै आएको छ भने ४२ वटासँग नाफाको व्यापार गर्नेगरेको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब १४ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ व्यापार घाटा भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनमा एक दशमलव ७२ प्रतिशतले कम हो । एक वर्षअघि मुलुकको व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ थियो । तथ्याङ्कलाई आधार मान्दा व्यापार घाटा घटे पनि उत्साह हुनुपर्ने देखिँदैन, यसको कारण उच्च आयात र न्यून निर्यात हो ।

समीक्षा अवधिमा सबैभन्दा बढी व्यापार घाटा भारत, चीन, संयुक्त अरब इमिरेटस (यूएई), युक्रेन, मलेसिया, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रान्सलगायतसँग छ । भारतसँग आठ खर्ब १३ अर्ब ७८ करोड २९ लाख रुपैयाँ, चीनसँग दुई खर्ब ७० अर्ब ४० करोड १८ लाख रुपैयाँ, यूएईसँग २६ अर्ब पाँच करोड ४२ लाख रुपैयाँ, युक्रेनसँग १७ अर्ब २० करोड ७९ लाख रुपैयाँ व्यापार घाटा छ । त्यस्तै, मलेसियासँग १६ अर्ब ४९ करोड १० लाख रुपैयाँ, अष्ट्रेलियासँग ११ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ, अर्जेन्टिनासँग ११ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ, फ्रान्ससँग नौ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ, इन्डोनेसियासँग नौ अर्ब ६८ करोड ८२ लाख रुपैयाँ, साउदी अरबियासँग आठ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ र दक्षिण कोरियासँग सात अर्ब ९७ करोड ११ लाख रुपैयाँ व्यापार घाटा छ ।

उच्च आयात र न्यून निर्यातका कारण अधिकांश मुलुकहरूसँग नेपालले उच्च व्यापार घाटा बेहोर्दै आएको छ । भारतबाट नौ खर्ब आठ अर्ब २९ करोड रुपैयाँ, चीनबाट दुई खर्ब ७२ अर्ब २८ करोड रुपैयाँ, यूएईसँग २८ अर्ब ४८ करोड रुपैयाँ, युक्रेनबाट १७ अर्ब २० करोड रुपैयाँ, मलेसियाबाट १६ अर्ब ७१ करोड रुपैयाँ, अष्ट्रेलियाबाट १३ अर्ब ३९ करोड रुपैयाँ र अर्जेन्टिनाबाट ११ अर्ब ३४ करोड रुपैयाँबराबरको आयात गरेको छ ।

भारतमा ९४ अर्ब ५१ करोड रुपैयाँ, चीनमा दुई अर्ब ४० करोड रुपैयाँ, यूएईमा दुई अर्ब ४२ करोड रुपैयाँ, युक्रेनमा पाँच लाख ७५ हजार रुपैयाँ, मलेसियामा २२ करोड ८१ लाख रुपैयाँ, अष्ट्रेलियामा एक अर्ब ६५ करोड दुई लाख रुपैयाँ र अर्जेन्टिनामा १८ लाख रुपैयाँबराबरको निर्यात गरेको छ ।

आयात हुने मुख्य वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादन, मेसिनरी तथा पार्टस, कच्चा भटमास, औषधि, विद्युतीय सामग्री, यातायातका साधन र तिनका पार्टपुर्जा, कच्चा पाम तेल, अन्न, तयारी पोसाक, दूरसञ्चार सामग्री र सुन रहेका छन् ।

समीक्षा अवधिमा नेपालले डेनमार्कसँग नाफा व्यापार गरेको छ । डेनमार्कपछि अफगानिस्तान, नर्वे, स्वीडेन, मौरीटानिया, ल्याटिभा, आइसल्याण्ड, न्यू क्यालडोनिया, माल्दिभ्स र मौरिससलगायतका मुलुकसँग नेपालको नाफा व्यापार गरेको छ ।

डेनमार्कसँग ४४ करोड १६ लाख रुपैयाँ, अफगानिस्तानसँग ३९ करोड १८ लाख रुपैयाँ, नर्वेसँग १२ करोड १३ लाख रुपैयाँ, स्वीडेनसँग तीन करोड ४२ लाख रुपैयाँ, मौरीटानियासँग तीन करोड पाँच लाख रुपैयाँ, ल्याटिभासँग दुई करोड ८३ लाख रुपैयाँ, आइसल्याण्डसँग दुई करोड ५२ लाख रुपैयाँ, न्यू क्यालडोनियासँग दुई करोड ४७ लाख रुपैयाँ, माल्दिभ्ससँग दुई करोड ३३ लाख रुपैयाँ र मौरिसससँग एक करोड ५६ लाख रुपैयाँबराबरको व्यापारमा नेपालले नाफा कमाएको छ ।

डेनमार्कसँग ७७ करोड ६८ लाख रुपैयाँ, अफगानिस्तानसँग ४० करोड ३४ लाख रुपैयाँ, नर्वेसँग १५ करोड ७० लाख रुपैयाँ, स्वीडेनसँग तीन करोड ४९ लाख रुपैयाँ, मौरीटानियासँग तीन करोड १२ लाख रुपैयाँ, ल्याटिभासँग पाँच करोड तीन लाख रुपैयाँ, आइसल्याण्डसँग दुई करोड ५३ लाख रुपैयाँ, न्यू क्यालडोनियासँग दुई करोड ४७ लाख रुपैयाँ, माल्दिभ्ससँग दुई करोड ४१ लाख रुपैयाँ र मौरिसससँग दुई करोड २४ लाख रुपैयाँबराबरको निर्यात व्यापार छ ।

डेनमार्कसँग ३३ करोड ५१ लाख रुपैयाँ, अफगानिस्तानसँग एक करोड १६ लाख रुपैयाँ, नर्वेसँग तीन करोड ५७ लाख रुपैयाँ, स्वीडेनसँग सात लाख १२ हजार रुपैयाँ, मौरीटानियासँग छ लाख ८५ हजार रुपैयाँ, ल्याटिभासँग दुई करोड १९ लाख रुपैयाँ, आइसल्याण्डसँग एक लाख ८४ हजार रुपैयाँ, न्यू क्यालडोनियासँग ११ हजार रुपैयाँ, माल्दिभ्ससँग सात लाख ८२ हजार रुपैयाँ र मौरिसससँग ६८ लाख १५ हजार रुपैयाँबराबरको आयात व्यापार छ ।

नेपालबाट निकासी हुने प्रमुख वस्तुहरूमा फलाम तथा फलामका उत्पादनहरू, यार्न, उनी गलैँचा, तयारी पोसाक, जुस, अलैँची, प्लाइउड, जुट तथा जुटका सामानहरू, ऊनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना सल, कुकुर विरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x