Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएउटा आक्रमणकारी भगाउनेहरुको नाममा

एउटा आक्रमणकारी भगाउनेहरुको नाममा


गत वैशाख १८ गते बिहान सवा नौ बजेतिर ढल्कोबाट क्षेत्रपार्टीतर्फ जाँदै गर्दा टोलेगुण्डा विजय मालीले ममाथि अभद्र व्यवहार गरेर अक्रमणको प्रयास गरेको थियो । उक्त घटनाको तत्काल घटनास्थलबाटै आईजीपी सचिवालयलगायतलाई जानकारी गराएको थिएँ । घटनास्थलमै हुँदा प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सत्यनारायण बहादुर थापाले जानकारी लिएका थिए । कारबाहीको प्रक्रिया अघि बढ्यो होला भन्ने लागेको थियो, त्यसैमा ढुक्क थिएँ । भोेलिपल्ट बिहान वडाअध्यक्ष नवीन मानन्धरलगायतसँग छलफल गरौँ भने, त्यसमा सहभागी भएँ । उनीहरुले त्यस्तो अपराधीलाई छाड्न हुँदैन, कारबाही गराउन पहल गर्नुपर्दछ भन्ने सुुझाव दिए । उनीहरुले कारबाहीको प्रक्रिया के भयो, डीएसपीसँग बुझ्नुप¥यो भनेपछि डीएसपीको अफिसियल मोबाइल नम्बरमा फोन गरेँ तर उठाएनन् । ‘ब्रेकफास्ट मिटिङ’मा कारबाही अघि बढाउन सुझाव आएपछि भरोसा गरेको एक जना पुराना साथी पुष्पमान मानन्धरलाई फोन गरेँ । प्रहरीले कारबाही गर्दै होला, बिहान यस्तो छलफल भयो, के गर्ने होला भनेर सोधेँ । उनले प्रहरीमा निवेदन दिएको छ कि छैन भनेर सोधे, मैले निवेदन दिएको थिइनँ । उनले निवेदन नै नदिईकन केही कारबाही हुन्छ ? निवेदन दिनुपर्छ निवेदन देऊ भनेर उल्टै हप्काए । उनको सुझावपछि भोलिपल्ट बिहान निवेदन दर्ता गर्न जानका लागि उनलाई सम्पर्क गरेँ । सोह्रखुट्टे प्रहरीमा पनि उनैले पु¥याए र फर्किए ।

आफूमाथि अभद्र व्यवहार भएको जाहेरी डीएसपी थापाको हातमा दिएँ । उनले श्यामकुमार बस्नेत नामका इन्सपेक्टरलाई बोलाएर उक्त निवेदन दिएर छलफल गराउन भने । त्यति नै बेला काठमाडौं महानगरपालिकाका प्रवक्ता समेत रहेका कामनपा १७ का वडाअध्यक्ष मानन्धरको फोन आयो, मैले प्रहरीमा भएको बताएपछि उनी हतारिँदै त्यहाँ आइपुगे । उनले त्यहाँ आएपछि कुरो परिवर्तन गरे, निवेदन फिर्ता लिनुस् मात्रै भनिरहे । जनप्रतिनिधि भएकाले नखरा पारेको होला, अस्ति अघि बढ नछाड भन्ने मानिसले त्यस्तो भनेको पत्याउने कुरै भएन । म प्रहरीमा भएको थाहा पाएपछि क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलगायत लब्ध प्रतिष्ठित व्यक्तिहरु त्यहाँ पुगे । प्रहरीले अभद्र व्यवहार गर्ने टोलेगुण्डा विजय मालीलाई त्यहाँ बोलायो, उसले लुकूँ कि प्रहरीमा जाऊँ भनेर वडाअध्यक्ष मानन्धरलाई सोध्यो, अध्यक्षको रायअनुसार प्रहरीमा पुग्यो । त्यहाँ चार घण्टा छलफलपछि प्रहरीलाई म निवेदन फिर्ता लिन्नँ, कारबाही अघि बढाउनुस् भनेर म निस्किएँ । म निस्कनुअघि नै वडाअध्यक्ष मानन्धर र डीएसपी थापा बाहिर निस्किएका थिए । बाहिर निस्कनुअघि वडाअध्यक्ष मानन्धर समेत सहभागी छलफलमा डीएसपी थापाले अभद्रकारी मालीसँग अघिल्लो दिन (वैशाख १९ गते) भेट भएको सुचेन मालीले ल्याएको प्रह्लाद रिजालसँग लेनदेनको झगडा भएको डा. मनोजमानसँग पैसा खाएर समर्थन गरेको जस्ता कुरा सुनाएका थिए । ती कुनै पनि आरोप सत्य नरहेको लब्ध प्रतिष्ठित सहभागीहरुले खण्डन गरेपछि डीएसपी थापाले उनीहरुलाई जबरजस्ती करणी (जक)मा अहिल्यै खोरमा हाल्ने धम्की दिएका थिए ।

पत्रकार महासंघले कारबाहीको माग गरेको कुरा उठाउँदा चौथो अङ्ग न पाचौँ अङ्ग, के मतलब भनी चर्किएका थिए । त्यसको मतलब अघिल्लै दिन डीएसपी थापाले अभद्र व्यवहार गर्ने मालीसँग सहमति गरिसकेको रहेछ भन्ने बुझ्न कठिन भएन । त्यसैदिन बेलुका आर्थिक दैनिकको नम्बरबाट पुष्प मानन्धरको फोन आयो । उनले निवेदन फिर्ता लिनुप¥यो भने । मैले हुँदैन, बिहान एउटा कुरा बेलुका अर्को कुरा किन गरेको ? तपाईँले नै निवेदन देऊ भनेका होइन ? अहिले किन निवेदन फिर्ता लिने, म लिन्नँ भन्दा उनले बिहानभन्दा अहिले परिस्थिति धेरै बदलियो, फिर्ता लेऊ भने । मैले हुन्न भनेपछि उनले एउटा कुल्लीलाई जस्तो बचन गरेर फोन काटे । त्यसको केही समय बित्न नपाउँदै त्यही वडाका पूर्ववडाध्यक्ष एवं मेरो घरबेटी विजयबहादुर मालीको फोन आयो, ठ्याक्कै उही पुष्पकै शैलीमा । मैले उनको कुरो पनि नाइँ भनेँ । तर पनि उनको भोलिपल्टैदेखि मेरा अरु साथीभाइलाई लगाएर वार्ताका प्रस्ताव पठाइरहे, मैले स्वीकार गरिनँ । तेस्रो पटकको प्रस्तावपछि र उनीसँग वार्तामा बसेँ । मैले ममाथि अभद्र व्यवहार भएको हो, यो मेरो कुरा हो, मलाई छाडिदिनुस्, आफ्नो घरपरिवार सम्हाल्नुस्, टोलका बदमास गुण्डाको जिम्मा नलिनुस् भनेर सम्झाएँ तर उनले मानेनन् । म मिलाउँछु भने । यसको मुली पनि तपाईँलाई नै ठाने भनेर पनि भनेँ । उनले अभिभावकत्व लिए । मैले दिएको जाहेरी अहिले पनि डीएसपी थापाकै जिम्मामा छ, तर उनले कारबाही अघि बढाएनन् ।

मेरै विषयमा डीएसपी थापाले वडाअध्यक्ष मानन्धरसँग पटक–पटक गुप्त वार्ता गरेका छन् । अन्ततः यो गिरोह अभद्रकारी टोलेगुण्डा विजय मालीलाई भगाउन सफल भएको छ । टोलेगुण्डा माली सकुशल अमेरिकामा अवतरण गरेको छ । संयोग नै मान्नुपर्दछ कि आक्रमणकारी माली अमेरिका अवतरण भएपछि घरबेटी विजयबहादुर मालीले मंगलबार बिहान फोन गर्नुभयो र नेताजी प्रकाशमानको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो, तर आफ्नोबारे केही बताउन चाहनुभएन । टोलेगुण्डा विजय मालीसँगको आफूले जिम्मा लिएको मिलापत्रकै बारेका केही बताउनु भएन । मलाई खिसिट्यौरी गर्न मात्र त पक्कै फोन आएको होइन होला नै । तर, अभद्रकारी मालीलाई कारबाही नगरेर भगाएर ठूलो पुरुषार्थ गरेको ठान्ने र जुठोपुरो चाट्नेहरुको मुखमा खटिरा नआओस्, यही कामना छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x