Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंसदीय विशेष समितिले माग्यो नौवटा सहकारी संस्थाको आर्थिक विवरण

संसदीय विशेष समितिले माग्यो नौवटा सहकारी संस्थाको आर्थिक विवरण


सहकारी संस्थाको रकम दुरूपयोग गरेको विषयमा संसदीय विशेष समितिले आवश्यक कागजात माग गरेको छ । समितिले कार्यविधिको अनुसूची २ मा रहेका नौवटा सहकारीका कागजात माग गर्ने निर्णय गरेको हो । समितिको बुधबार बसेको बैठकले अनुसूची २ मा रहेका नौवटा सहकारी संस्थाहरूको सम्बन्धित निकायबाट कागजात माग गर्ने निर्णय गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए । समितिले आइडियल यमूना बहुउद्देश्यी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीसँग कागजात माग गर्ने निर्णय गरेको हो । नौवटा सहकारीमध्ये पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम आएको आरोप छ । गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने थिए । गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेको थियो । लामिछाने अहिले गृहमन्त्री छन् । गृहमन्त्री लामिछाने संलग्न रहेको गोर्खा मिडियामा सहकारीको रकम आएको भन्दै नेपाली कांग्रेसका सांसदहरूले संसद्मा आवाज उठाएपछि संसदीय छानबिन समिति निर्माण गरिएको थियो । कांग्रेसका सांसदहरूले सूर्यदर्शनलगायत छवटा सहकारीको रकम गोर्खा मिडियामा आएको आरोप लगाएका थिए । गोर्खा मिडियामा सूर्यदर्शन सुप्रिम, स्वर्णलक्ष्मी, साहाराबाट रकम आएको आरोप लागेको छ । ती सहकारीबाट करोडौं रकम गोर्खा मिडियालाई प्राप्त भएको आरोप छ ।

बैठकपछि सभापति थापाले सहकारीबाट गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थितिसहित छवटा बुँदासहित नौवटा सहकारीको कागजात माग गर्ने निर्णय गरेको जानकारी गराए । ‘समितिले सकारात्मक ढङ्गबाट दूधको दूध पानीको पानी खोजी गर्ने, छुट्याउने, त्यो राजहाँसको भूमिका निर्वाह गरी तथ्यप्रमाण संकलनको काम गर्दछ’, उनले भने, ‘यो समिति कसैलाई ढाकछोप र नियतवश, नियोजितरूपमा फसाउनका लागि बनाइएको होइन । जे–जस्ता प्रमाणहरू भेटिन्छ राख्दै जान्छौँ ।’सहकारीको करोडौँ रकम अपचलनको छानबिन गर्नका लागि सहकारीको पछिल्लो साधारणसभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण समिति र त्यसको प्रतिवेदनसहित अन्य आवश्यक वित्तीय विवरण तथा आवश्यक कागजात माग गर्ने निर्णय छानबिन समितिले गरेको हो । विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा आएको रकमको विषयमा समितिले माग गरेको सभापति थापाले जानकारी दिए । ‘विभिन्न सहकारीमार्फत गोरखा मिडियामा प्रवाह भएको रकमको स्थितिसहित छ बुँदासहित कागजात माग गर्ने निर्णय भएको छ’, उनले भने, ‘गोरखा मिडियामा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका बारेमा हामी सबैको चासोको विषय हो त्यसमा छानबिन आवश्यक छ, कार्यादेशमा पनि त्यही कुरा उल्लेख छ ।’

समितिले यसअघि गठन गरिएका सहकारी छानबिन समिति र अयाोगका प्रतिवदेनहरू प्राप्त गरेको जनाएको छ । समितिले सहकारी क्षेत्रका जानकार पूर्वमन्त्री सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपप्रकाश बास्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालसँग पनि छलफल गरेको थियो । संसद्मा कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम मुछिएका भन्दै छानबिनको माग गरेका थिए । सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनीरुपमा लिएको भन्दै यस प्रकरणमा छानबिन हुनुपर्ने बताउँदै छानबिन समितिको समेत माग गरेका थिए । त्यसअघि कांग्रेस सचेतक सुशीला थिङले संसद्मा सूर्यदर्शनलगायत छवटा सहकारीबाट करिब एक अर्ब रुपैयाँ गोर्खा मिडियामा गएको बताएकी थिइन् । ‘सूर्यदर्शनलगायत छवटा सहकारीबाट करिब एक अर्ब रुपैयाँ गोर्खा मिडिया कम्पनीमा गएको छ । सहकारीको पैसा कम्पनीमा लैजान पाइन्छ कि पाइँदैन । गोर्खा मिडिया कम्पनीको सञ्चालक खोज्न पर्छ कि पर्दैन ? गैरकानुनीरूपमा सहकारीको अर्बौँ रकम लिने गोर्खा मिडिया कम्पनीका तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन ? भन्दै संसद्मा प्रश्न उठाएकी थिइन् । सहकारीको अपचलनसम्बन्धी निकै ठूलो राजनीतिक विवाद भएपछि जेठ १५ गते एमाले सांसद समेत रहेका थापाको संयोजकत्वमा संसदीय समिति गठन भएको थियो । समितिमा कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुुवबहादुर प्रधान सदस्य छन् । समितिको चारबुँदे कार्यादेश र तीनमहिने समयावधि पनि तोकिएको छ ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x