Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपुँजीकोष दबाबमा रहेका बैंक तथा वित्तीय संस्थालाई राहत

पुँजीकोष दबाबमा रहेका बैंक तथा वित्तीय संस्थालाई राहत

ऋणपत्र निष्काशन गर्न खुकुलो नीति, अग्राधिकार सेयर जारी गर्न दिने


नेपाल राष्ट्र बैंकले सञ्चित नोक्सानीमा गएका बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र जारी गर्न दिने भएको छ । यस्तै पुँजीकोष अभाव भएका बैंकहरुलाई अग्राधिकार सेयर जारी गर्न दिने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पुँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका बैंक तथा वित्तीय संस्थाले डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्नसक्ने व्यवस्था गरेको छ । अर्थात् पाँच प्रतिशतभन्दा कम सञ्चित नोक्सानी भएका बैंक तथा वित्तीय संस्थाले डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्न राष्ट्र बैंकमा निवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निवेदन दिएपछि आवश्यक सर्त तोकी डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिनसक्ने व्यवस्था गरेको छ । यसअघि भने सञ्चित नोक्सानी बाँकी नरहेका बैंक तथा वित्तीय संस्थाले मात्रै आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्न निवेदन दिनसक्ने व्यवस्था थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्नसक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । केन्द्रीय बैंकले ‘टायर वान क्यापिटल’ कम भएर लगानी गर्न नसकेका बैंकहरुका लागि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न दिने व्यवस्था गरेको जनाएको छ ।अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न पाइने छैन । अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुनेगरी जारी गर्नुपर्ने, इजाजतपत्रप्राप्त संस्था स्वयम्ले निष्काशन गर्नुपर्ने, पूर्णरूपमा चुक्ता भएको हुनुपर्ने, कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्र्नेलगायतका सर्तहरु तोकिएका छन् । यसैगरी लाभांश वितरण गर्ने वा नगर्नेसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुनुपर्ने र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले विवरणपत्रमा स्पष्टरुपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्टरुपमा खुलाउनुपर्ने र लाभांश वितरण नाफा नोक्सान बाँडफाँट हिसाबमार्फत एक आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्ने व्यवस्था छ । यसका लागि सञ्चित मुनाफा खाता एवं कुनै पनि कोष खर्च गर्न नपाइने व्यवस्था गरिएको छ ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेका इजाजतपत्रप्राप्त संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्नुपूर्व केन्द्रीय बैंकको स्वीकृति लिनुपर्ने परिपत्रमा उल्लेख छ । यसका लागि साधारण सेयर प्राथमिक पुँजी कुल जोखिम भारित सम्पत्तिको पाँच दशमलव १२ प्रतिशतभन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिनेछ । अविमोच्य असञ्चिति अग्राधिकार सेयरलाई संस्थापक समूहको साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि÷सूत्र विवरणपत्रमा उल्लेख गर्नुपर्ने परिपत्रमा उल्लेख छ । इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दा यसप्रकारको सेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दुपश्चात् हुनसक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई जोखिमसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

के हो अविमोच्य असञ्चिति अग्राधिकार सेयर ?
कुनै पनि कम्पनीले निष्काशन गरेको सेयरमध्ये प्रतिफल तथा पुँजी फिर्तामा अग्र अधिकार हुने सेयरलाई अग्राधिकार सेयर अर्थात् प्रिफिरेन्स सेयर भनिन्छ । अग्राधिकार सेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण सेयरबापतको लाभांश बाँड्ने गरिन्छ । साधारण सेयरबापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार सेयरको लाभांश सधैँ निश्चित दरमा सुनिश्चित गरिएको हो । अग्राधिकार सेयर धेरै प्रकारको हुन्छ । क्युमुलेटिभ, ननक्युमुलेटिभ अग्राधिकार सेयरका प्रकार हुन् । कुनै वर्ष कम्पनीले अग्राधिकार सेयरधनीलाई तोकिएको लाभांश दिन सकेन भने त्यो लाभांश आगामी वर्षमा नाफा भएमा अघिल्लो वर्षको समेत जोडेर दिने व्यवस्था छ भने त्यस्तो सेयरलाई क्युमुलेटिभ अग्राधिकार सेयर भनिन्छ । जुन वर्ष नाफा भएको हो, त्यही वर्ष मात्र लाभांश बाँडिने सेयरलाई ननक्युमुलेटिभ अग्राधिकार सेयर भनिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x