Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअवकाश पाइसकेको हुनुपर्ने सिग्देल प्रधान सेनापतिको उम्मेदवार ?

अवकाश पाइसकेको हुनुपर्ने सिग्देल प्रधान सेनापतिको उम्मेदवार ?


उपरथी पदमा कार्यरत रहँदा एक वर्षअघि नै ५७ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाइसकेका हुनुपर्ने अशोकराज सिग्देल अहिले नेपाली सेनाको प्रधान सेनापतिको सशक्त उम्मेदवार बनेका छन् । जन्ममिति विवादमा रहेका सिग्देलको पछिल्लो र क्रियाशील नागरिकताअनुसारको जन्ममिति विसं २०२३ साउन २९ गते छ र यही २०८१ साल जेठ ३ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट उनको नेपाली नागरिकताको प्रतिलिपि अभिलेख प्रमाणित गरिएको पत्रमा पनि नागरिकता जारी मिति विसं २०४० साउन २९ र जन्ममिति १७ वर्ष प्रमाणित गरिएको छ । उनी गतवर्ष अर्थात् २०८० साल साउन २९ गते उपरथी पदमा कार्यरत थिए । उपरथीपदको अनिवार्य अवकाश उमेर हद ५७ वर्ष हुन्छ । त्यतिबेला उनको उमेर ५७ वर्ष थियो र २०८० साउन ३० देखि ५८ वर्ष लागेका थिए । सैनिक सेवा नियमावली २०६९ अनुसार उनले त्यतिबेला नै अवकाश पाउनुपर्ने थियो । नेपाली सेनाको तीनमहले ढड्डामा पनि नागरिकताअनुसार उनको जन्ममिति विसं २०२३ साउन २९ गते रहेको छ । तर, सिट रोल र सर्टिफिकेटअनुसार चाहिँ जन्ममिति विसं २०२३ माघ १९ गते छ । त्यही नागरिकता र सर्टिफिकेटमा भएको जन्ममिति विवादका कारण सेनाले अफिसियल रेकर्डअनुसार नै नगई २०८० मंसिर २७ गते उनको रथी पदमा बढुवा भएको छ । उपरथीबाट चार महिनाअघि नै अनिवार्य अवकाश पाइसक्नुपर्ने व्यक्तिलाई चार महिनापछि मंसिरमा बढुवा गरेको पाइएको छ ।

उनको पछिल्लो नागरिकताको रेकर्डअनुसार रथी सिग्देल आउँदो साउन २९ गते ५८ वर्ष पूरा भएर ५९ वर्ष प्रवेश गर्नेछन् । रथीको अनिवार्य अवकाशको उमेर हद ५८ वर्ष हो । यही विवरणअनुसार पनि रथी सिग्देलले आउँदो साउन २९ गतेपछि अनिवार्य अवकाश पाउनुपर्ने हो । तर, त्यसरी अवकाश पाइसकेको हुनुपर्ने रथी सिग्देललाई अहिले कसरी प्रधान सेनापतिको उम्मेदवार भनेर प्रचारबाजी गरिएको हो बुझ्नै नसकिने कठिन विषय बन्दै गएको छ । उनले अध्ययन गरेका स्कुल र कलेजका ‘ओरिजिनल डकुमेन्ट’मा सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको छ र पछि त्यसलाई सच्याएर २०२३ माघ १९ बनाइएको छ । नेपाली सेनाको अभिलेखालयमा रहेको तीनमहले सिट रोल नं. सर्टिफिकेटअनुसारको जन्ममिति २०२३ माघ १९ भए पनि नागरिकताअनुसारको जन्ममिति २०२३ साउन २९ गते रहेको छ । नागरिकता लिँदा उमेर १७ वर्ष भनिएकाले उक्त जन्ममिति कायम हुनपुगेको हो । उनले २०४० साउन २९ गते रूपन्देही जिल्ला प्रशासन कार्यालयबाट उमेर १७ वर्ष जनाएर नागरिकता लिएका थिए । प्रजिअ दानबहादुर शाहीले जारी गरेको उक्त नागरिकता हराएकाले उनले २०५८ जेठ ८ गते जाजरकोटबाट प्रतिलिपि लिएका छन् ।

१७ वर्ष उमेर जनाई २०४० साउन २९ गते जारी भएको उनको सोही नागरिकता उनले गत जेठ ३ गते जाजरकोटबाट प्रतिलिपि अभिलेख प्रमाणित गरेपछि अर्को जेसुकै भए पनि क्रियाशील हुने कुरै भएन । उनको वास्तविक जन्ममिति २०२१ चैत १९ गते हो भनी उजुरी नपरेका होइनन् त्यो छानबिनको अर्को पाटो बन्न सक्छ । तर, उनको जन्ममितिचाहिँ २०२३ साउन २९ गते नै कायम भएको देखिन्छ । दानबहादुर शाहीले रूपन्देहीबाट उमेर १७ वर्ष जनाएर दिएको नागरिकताको जारी मिति २०४० असोज ९ गते छ । तर, जाजरकोटबाट लिएको प्रतिलिपिको प्रमाणीकरणमा पनि जारी मिति २०४० साउन २९ गते उल्लेख गरेकाले त्यही मिति कायम हुने भएको छ । नागरिकता र सर्टिफिकेटमा विभिन्न जन्ममिति रहेको विवाद भएका सिग्लेलको अहिले कायम भएको जन्ममिति २०२३ साउन २९ गतेअनुसार उनी उपरथी पदमा छँदा २०८० साउन २९ मै रिटायर्ड भइसक्नुपर्ने हो तर किन भएनन् र उनलाई २०८० मंसिर २७ गते कसरी रथी पदमा बढुवा गरियो भन्ने प्रश्न उठेको छ भने रथीको ५८ वर्ष उमेरहदअनुसार उनी आउँदो साउन २९ गतेदेखि अनिवार्य अवकाशमा जानुपर्ने देखिन्छ । त्यसरी अनिवार्य अवकाशको मुखमा रहेको व्यक्तिलाई भावी प्रधान सेनापतिको उम्मेदवार भनेर किन प्रचारबाजी भइरहेको छ बुझ्न सकिएको छैन ।

यसरी नागरिकता र सर्टिफिकेटमा जन्ममिति फरक–फरक देखिएको अवस्थामा के गर्ने भन्ने विषयमा पनि सैनिक सेवा नियमावलीले प्रस्ट व्याख्या गरेको छ । त्यसमा सैनिक व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्रमा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिबाट अवकाश दिइनेछ भनिएको छ । उक्त नियमावलीले वर्ष वा संवत् मात्र उल्लेख भएको प्रमाणपत्रका आधारमा जन्ममिति कायम गर्दा नेपाली नागरिकताको हकमा त्यस्तो प्रमाणपत्र प्राप्त गरेको मितिको आधारमा शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा जारी भएको मितिको आधारमा र वैयक्तिक विवरणको हकमा सुरुमा भर्ना भएको मितिको आधारमा हुने प्रस्ट व्यवस्था गरेको छ । नियमावलीले कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो जन्ममितिहरूको बीचमा एक वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नुपर्ने व्यवस्था गरेको छ । तर, रथी सिग्देलको बारेमा यो नियमवालीअनुसार गणना भएको पाइएको छैन र नियमावलीअनुसार गणना हुने हो भने पनि उनले उमेरहदका कारण अवकाश पाइसक्नुपर्ने देखिएको छ ।

गत मंसिर २७ गते रथी पदमा बढुवा भएपछि २०८० पुस ४ गते बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधान सेनापति प्रभुराम शर्माले रथी सिग्देलले आफ्नो उमेर नागरिकता, शैक्षिक प्रमाणपत्रका बारेमा भविष्यमा कुनै विवाद आएमा आफैँ जिम्मेवारी लिने भनी स्वघोषणा गरेको पत्र प्रधान सेनापति शर्माले प्रदर्शन गरेका थिए । प्रधान सेनापति शर्माको उक्त प्रदर्शन र प्रतिबद्धताअनुसार छानबिन नगरी अगामी भदौ २४ गतेदेखि नयाँ प्रधान सेनापति तोकिने हो भने सेनामा पनि गलत प्रक्रियाको थालनी हुने देखिएको छ । भदौ २४ गते नयाँ प्रधान सेनापति आउनुपर्ने भए पनि एक महिनाअघि साउन २४ गतेदेखि नै प्रधान सेनापति बिदा बस्ने चलन छ र उक्त चलनअनुसार प्रधान सेनापति शर्मा बिदा बस्दा साउन २९ गतेदेखि रथीबाट अनिवार्य अवकाश पाउनुपर्ने सिग्देललाई कामु तोकिने हो भने त्यसपछिको अवस्था के होला भन्न सकिँदैन ।

त्यस्तो अन्योलको अवस्था नआउन अहिले नै छानबिन गरेर टुङ्गोमा पुग्नुपर्ने आवश्यकता रहेको छ । छम्पी ललितपुरका नागेश्वर चौधरीको नामबाट गत जेठ ९ गते नै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, रक्षामन्त्री हरिप्रसाद उप्रेती, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासमक्ष त्यस सम्बन्धमा उजुरी परेको पाइएको छ । लोकतन्त्रमा नागरिक सर्वोच्चताको मान्यता र दृष्टिकोणबाट हेर्दा उक्त उजुरीलाई त्यतिकै लत्याएर अघि बढ्नु पनि मनासिब देखिँदैन ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x