Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबेचन झा र प्रतिक थापा पक्राउ परेपछि सिटौला र बादललाई चर्को तनाव

बेचन झा र प्रतिक थापा पक्राउ परेपछि सिटौला र बादललाई चर्को तनाव


नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजीको सूचीमा रहेर लामो समयदेखि फरार रहँदै आएका भारतीय नागरिक बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा शुक्रबार पक्राउ परेपछि झासँग निकट रहेका पूर्वगृहमन्त्री कृष्ण सिटौला र थापाका पिता पूर्वगृहमन्त्री रामबहादुर थापामाथि चर्को तनाब सिर्जना भएको छ । प्रहरीले झालाई कञ्चनपुरबाट पक्राउ गरेको छ भने प्रतिकलाई बौद्धबाट पक्राउ गरेको बताएको छ ।

उनीहरु विगत एक वर्षभन्दा बढी समयदेखि फरार थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा सिटौलाले झासँग लेनदेनको ‘नेक्सस’ रहेको भनी अघिल्लो वर्ष असारको पहिलो साता तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु राणा देउवा र सिटौलालाई पक्राउ गर्न तत्कालीन भ्याली एआईजी श्यामलाल ज्ञवालीलाई ठाडो निर्देशन दिएका थिए । तत्कालीन गृहमन्त्री श्रेष्ठले असार २०८० असार ८ गते ज्ञवालीलाई बोलाएर सिटौला र आरजुलाई पक्राउ गर्न निर्देशन दिएकोमा असार ९ गते भ्याली एआईजी ज्ञवालीले आफ्नो मातहतका प्रहरी प्रमुखहरुलाई बोलाएर गृहमन्त्री श्रेष्ठको आदेश कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

२०८० असार ११ गते सोमबार भने सिटौला र आरजु पक्राउ पर्दै छन् भन्नेबारेको जानकारीसहितको समाचार उनीहरु पक्राउ पर्नुअघि नै आर्थिक दैनिकले सम्प्रेषण गरेको थियो । उक्त समाचारपछि सो घटनाको जानकारी सबै क्षेत्रमा पुगेपछि राजनीतिक दबाबमा उक्त निर्देशन कार्यान्वयन हुन दिइएको थिएन र उनीहरु पक्राउ पर्नबाट जोगिएका थिए । त्यतिबेलादेखि बेचन झालाई पक्राउ गर्ने कुरा पनि स्थगन भएको थियो । झाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न गिरोहका सदस्यमध्येका एक मानिएका टोखा नगरपालिका वडा नं ६ धापासीका रामशरण केसीसँग दुई करोड रुपैयाँको चेक लिएको र उक्त रकममध्येको केही रकम सिटौलालाई दिएको दाबी प्रहरीले गरेको छ ।

त्यसैगरी तत्कालीन गृहमन्त्री बादलका स्वकीय सचिव समेत रहेका प्रतिक थापाले गृहमन्त्री बादलका सुरक्षा सल्हाकार इन्द्रजित राई र उनका छोरा निरज राईसँग मिलेर काठमाडौंको नक्सालस्थित निलगिरी होटललाई अखडा बनाएर नक्कली भुटानी शरणार्थीहरुको कागजपत्र मिलाउने र रकम उठाउने गरेको प्रहरीले दाबी गर्दै आएको छ । बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई यसअघि नै पक्राउ परिसकेका छन् तर उनका छोरा निरज राई अझै फरार छन् । एक वर्षपछि बेचन झा र प्रतिक थापा पक्राउ परेसँगै पूर्वगृहमन्त्रीद्वय सिटौला र बादलमाथि पक्राउ परिने हो कि भन्ने चर्को तनाब सिर्जना भएको छ । हाल राष्ट्रियसभामा विपक्षी दलका नेता समेत रहेका सिटौलालाई प्रहरीले पक्राउ गर्छ गर्दैन त्यो भने हेर्न बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांगेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको भोलिपल्ट पूर्वगृहन्त्री बादलका छोरा प्र्रतिक र विवादास्पद भारतीय मूलका बिचौलिया बेचन झा पक्राउ परे पनि देउवापत्नी आरजु राणा तानिने सम्भावना भने निकै कम छ ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x