Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक सुरक्षा कोषमा ५८ अर्ब सङ्कलन, दाबी नौ अर्ब

सामाजिक सुरक्षा कोषमा ५८ अर्ब सङ्कलन, दाबी नौ अर्ब


सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको संख्या बढ्दै गएपछि योगदान रकम पनि बढेको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै योगदान रकम ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ पुगेको सामाजिक सुरक्षा कोषले बताएको छ । जेठ महिनामा मात्रै दुई अर्ब ५२ करोड ८१ लाख रुपैयाँ सङ्कलन भएको छ । वैशाखसम्म योेगदान रकमबापत ५५ अर्ब तीन करोड रुपैयाँ सङ्कलन भएको थियो । चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमाससम्म योगदानबापत ४२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ सङ्कलन भएको थियो । आर्थिक वर्षको ११ महिनामा १५ अर्ब रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ ।

वैदेशिक रोजगारीमा रहेका, स्वदेशभित्र काम गरिरहेकाहरूले कोषमा योगदान रकम सङ्कलन गर्ने क्रम बढेसँगै योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि भएको कोषले जनाएको छ । यसैबीच गत आर्थिक वर्षसम्म योगदान रकमस्वरूप कोषमा ३५ अर्ब ९५ करोड रुपैयाँ सङ्कलन भएको थियो । मासिक एकदेखि दुई अर्ब रुपैयाँ योगदान रकम थप हुँदा रकममा वृद्धि भएको प्रवक्ता विवेक पन्थीले जानकारी दिएका छन् । प्रवक्ता पन्थीले कोषमा योगदान रकममा वृद्धि भएसँगै योगदानकर्ता पनि वृद्धि हुने तथा दाबी रकम समेत बढ्ने बताए । शुक्रबारसम्म १४ लाख ५६ हजार छ सय ५३ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएका छन् । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो । करिब चार वर्षको समयमा कोषमा योगदान रकमको रूपमा साढे ५७ अर्बभन्दा बढी रकम सङ्कलन भएको प्रवक्ता पन्थीले जानकारी दिए । स्थानीय तहको उल्लेख्यरूपमा सहभागितासँगै कोषमा योगदान रकम र योगदानकर्ताको संख्या वृद्धि हुँदै गएको छ ।
कोषले सातवटै प्रदेशका स्थानीय तहसँग सम्झौता गरी अघि बढ्ने क्रममा योगदान रकम र योगदानकर्ताको संख्यामा वृद्धि हुँदै गएको हो । पछिल्लो समय कोषले गण्डकी प्रदेशका पाँचवटा जिल्लाहरू तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ र पर्वतका ३१ वटा स्थानीय तहहरूसँग सम्झौता गरेको थियो । सोभन्दा अघि फेदीखोला गाउँपालिकासँग कोषले सम्झौता गरेको छ । यसरी आबद्ध गराउने स्थानीय तहको संख्या समेत बढाउँदै लैजाने योजनामा कोषको छ । सम्झौताको क्रममा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसँग सामाजिक सुरक्षा योजना सञ्चालन सम्झौता सम्पन्न गरेको कोषका अधिकारीहरू बताउँछन् ।

समीक्षा अवधिमा कोषमा सूचीकृत रोजगारदाताको संख्या १९ हजार एक सय ३१ रहेको छ । योगदानकर्ताको तुलनामा रोजगारदाताहरूको कोषमा आकर्षण देखिन नसके पनि संख्या भने सूक्ष्मरूपमा निरन्तर बढिरहेको छ । सुरुवात समयमा भन्दा हाल कोषले प्रदान गर्ने सुविधाहरूलाई बुझेर सूचीकृत हुने रोजगारदाताको संख्या भने क्रमशः वृद्धि हँुदै गएको देखिन्छ । कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुँदा सोहीअनुरूप काम गर्दै समेत आएको छ । सोही क्रममा कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत एक अर्ब १५ करोड पाँच लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत १२ करोड ८४ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १५ करोड पाँच लाख रुपैयाँ र अवकाश रकम आठ अर्ब नौ करोड एक लाख रुपैयाँ दाबी गरेका छन् ।

समीक्षा अवधिमा नौ अर्ब ५२ करोड चार लाख रुपैयाँ योगदानकर्ताहरूले दाबी गरेका छन् । साउन देखि वैशाखसम्म नौ अर्ब आठ करोड २४ लाख रुपैयाँ योगदानकर्ताहरूले दाबी गरेका थिए । जेठमा मात्र दाबी रकम ४३ करोड ८० लाख रुपैयाँले वृद्धि भएको छ । योगदान रकम सङ्कलनमा वृद्धि भएजसरी नै दाबी भुक्तानी रकम समेत वृद्धि हुँदै गएको छ । कोषमा योगदान गरेबापत कोषले दिने सुविधाको लागि योगदानकर्ताले रकम दाबी गर्नु स्वाभाविक रहेको कोषमा अधिकारीहरू बताउँछन् । उनीहरूले योजनाअन्तर्गत रही रकम दाबी गरेको खण्डमा कोषले वितरण गर्दै आएको बताए । पछिल्लो समय स्वास्थ्य तथा औषधी उपचारको लागि दाबी गर्न आउनेको संख्या बढेको कोषले जनाएको छ । कोषले भुक्तानीको लागि मापदण्ड पूरा भए÷नभएको अध्यययनपछि रकम निकासा गर्नेगर्छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x