Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्री लालीगुराँस बहुउद्देश्यीय सहकारी ठगी प्रकरण : पक्राउ परेका चार जना सार्वजनिक

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी ठगी प्रकरण : पक्राउ परेका चार जना सार्वजनिक

२२ हजार बचतकर्ताको छ अर्ब जोखिममा


श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड घोटाला प्रकरणमा पक्राउ परेका चार जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले शुक्रबार राति उक्त सहकारी घोटाला प्रकरणमा संलग्न भएको अभियोगमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी विशालनगरबाट पक्राउ गरेको हो । अन्य तीन जनालाई पनि सोही दिन फरक–फरक स्थानबाट पक्राउ गरेको थियो ।पक्राउ परेका चारै जनालाई आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुमा काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैँसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीमा कोषाध्यक्ष पदमा रहेका काठमाडौं लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदम बाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकामध्ये प्रमुख कार्यकारी भण्डारी बचतकर्ताको सात अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरी रातारात अर्बपति बनेका थिए । उनी लामोसमयदेखि फरार रहँदै आएका थिए । राजनीतिक दबाबमा अदालतलेखि प्रहरी प्रशासन समेतलाई दिग्भ्रमित पार्ने कोसिस गर्दै आएका भण्डारी लुकिछिपी रहेकै अवस्थामा शुक्रबार पक्राउ परेका हुन् । व्यवस्थापन प्रमुख भण्डारी रहेको यो सहकारी संस्था अहिले समस्याग्रस्त अवस्थामा रहेको छ । संस्थामा २२ हजार जना बचतकर्ताहरुको छ अर्ब ३० करोड रुपैयाँभन्दा बढी निक्षेप रहेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आर्चायका अनुसार उनीहरुविरुद्ध संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भनी विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पु¥याई बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थिए । उक्त मितिदेखि संस्थाका यी चारै व्यक्ति फरार रहेकोमा यही असार १४ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट उनीहरुलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएका हौँ, प्रहरी उपरीक्षक आर्चायले भने ।

पक्राउ परेका मध्ये अध्यक्ष श्रेष्ठले ३१ वर्ष नेपाल बैंक लिमिटेड मुख्य कार्यालय नयाँ सडकमा चिफ म्यानेजरको रुपमा काम गरेको, २०६१ सालमा श्री लाली गुराँस सहकारीको सचिवको रुपमा दुई वर्ष काम गरेको, २०६४ सालमा श्री लाली गुराँस सहकारीको उपाध्यक्षको रुपमा आठ वर्ष काम गरेको र २०७४ सालदेखि हालसम्म उक्त संस्थामा अध्यक्षको रुपमा कार्यरत रहेको खुलेको छ । यसैगरी प्रमुख कार्यकारी भण्डारीले २०५६ सालदेखि हालसम्म निरन्तररुपमा श्री लालीगुराँस सहकारी संस्था पुल्चोकमा विभिन्न पदमा कार्यरत रहेको, २०५६ साल आश्विन १५ गते उक्त संस्थामा म्यानेजरको रुपमा प्रवेश गरेको, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक सदस्य हुँदै हाल प्रमुख कार्यकारी अधिकृत तथा सचिव पदमा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ । भण्डारी २०६६ र २०७६ सालमा गरी दुई पटक सहकारी राष्ट्रिय विकास बोर्डको सञ्चालक पदमा काम गरेको र राष्ट्रिय सहकारी महासंघमा वरिष्ठ सञ्चालक पदमा रहेर करिब छ वर्ष (२०७२ सालदेखि २०७७) काम गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आर्चायले जानकारी दिए ।वादी नेपाल सरकार प्रतिवादी धु्रव खरेल समेत भएको ठगीसम्बन्धी कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा श्री लालीगुराँस सहकारी संस्थाका सञ्चालक पदाधिकारीहरुउपर आवश्यक अनुसन्धान हुन जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले निर्देशनसहितको पत्र पठाएपछि सुरेन्द्र भण्डारी, अमरदास श्रेष्ठ, अमृतकुमार अर्याल र कदम बाबा जोशीउपर समेत ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई पक्राउ अनुमति प्राप्त भएपछि ती व्यक्तिहरु पक्राउ परेको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x