Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुग्ध विकास संस्थानमा भ्रष्टाचारको आरोपी झाको नाम सिफारिस

दुग्ध विकास संस्थानमा भ्रष्टाचारको आरोपी झाको नाम सिफारिस


काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धक छनौटको क्रममा अर्थ मन्त्रालयको छानबिनले १५ करोड रुपैयाँ घोटला गरेको निष्कर्ष निकालिएका निवर्तमान महाप्रबन्धक सञ्जीव झालाई फेरि नियुक्त गर्न सिफारिस गरिएका अन्तिम तीन जनामा समेटिएसँगै संस्थानमा सुशासनको उछित्तो काट्ने प्रयास भएको छ ।

महाप्रबन्धक छनोट समितिले डा सीतलकाजी श्रेष्ठ, रामचन्द्र ढकालसँगै निवर्तमान महाप्रबन्धक सञ्जीव झालाई सिफारिस गरेर मन्त्रिपरिषद्मा नाम पठाएको छ । संस्थानमा ९५ करोड घाटा गराएको, दुग्ध किसानको दूधको झण्डै छ अर्ब रुपैयाँ भुक्तानी रोकेर रुवाबासी गराएको, १५ करोड रुपैयाँ अनुदानको रकम रकमान्तर गरी भ्रष्टाचार गरेको आरोप लागेका निवर्तमान महाप्रबन्धक झालाई महाप्रबन्धक नियुक्तिका लागि सिफारिस गरिएका तीन जनामा समेटिएपछि कृषिमन्त्री ज्वाला साहमाथि उनलाई नियुक्तिको सिफारिस नगर्न चौतर्फी दबाब परेको छ ।

यसअघि दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिले एक सूचना जारी गर्दै जेठ ३१ गते कार्ययोजना प्रस्तुतीकरण र जेठ ३२ गते अन्तर्वार्ताका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा उपस्थित हुन भन्दै आवेदकलाई बोलाएको थियो ।

दुग्ध विकास संस्थानमा महाप्रबन्धक पदमा नियुक्तिको लागि दरखास्त स्वीकृत भएका अमरबहादुर थिङ, राजेन्द्रप्रसाद अधिकारी, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल, रामप्रसाद पौडेल, राम सोभित यादव, डा. रुपेन्द्र चौलागाई, डा. शीतलकाजी श्रेष्ठ, सञ्जीव झा र श्रीराम न्यौपानेलाई सिफारिस समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो ।

तर यही समयमा दुग्ध विकास संस्थानको सुदृढीकरणका लागि प्राप्त कर्जाको दुरुपयोग सम्बन्धमा अर्थसचिवलाई बोधार्थ दिई पेश भएको उजुरीका सम्बन्धमा अर्थ मन्त्रालयले त्यस सम्बन्धमा के भएको हो ? छानबिन गरी प्रतिवेदन उपलब्ध गराउनुहुन भन्दै दुग्ध विकास संस्थान सञ्चालक समितिलाई पत्र पठाएपछि १५ करोड रुपैयाँ कर्जाको दुरुपयोगको विषयमा छानबिन भएको थियो ।

दुग्ध विकास संस्थान सञ्चालक सदस्य फणिन्द्र तिवारीको संयोजकत्वमा गठित समितिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालयका प्रतिनिधि, नीलकण्ठ गौतम सदस्य निमित्त प्रमुख, प्राविधिक व्यवस्थापन विभाग र दुग्ध विकास संस्थानका अर्थविज्ञ, योजना, जनशक्ति तथा बजार व्यवस्थापन विभागका अन्जन अधिकारी सदस्य रहेको छानबिन समितिले गठन भएको थियो ।

समितिले गरेको छानबिनमा दुग्ध विकास संस्थानमा राजस्व खाता र खर्च खाता गरी दुई प्रकारका खाता सञ्चालनमा रहेको देखियो र नेपाल सरकारबाट प्राप्त सहुलियत ऋणलाई सामान्य आम्दानी जम्मा हुने राजस्व खातामा जम्मा गरी खर्च गरेको र प्राप्त ऋणलाई छुट्टै अभिलेख राखी सम्बन्धित शीर्षकमा मात्र खर्च गर्ने गरिएको पाइएको उल्लेख छ ।

सहुलियत ऋण प्राप्त भएदेखि हालसम्मको अवधिमा संस्थानबाट तोकिएका १८ प्रकारमा मेसिनहरूमध्ये एमोनिया कम्प्रेसर एक सय टीआर नामको एक मात्र मेसिन संस्थानको एक करोड बयासी लाख चौबीस हजार चार सय चौबीस रुपैयाँ लागतमा खरिद भएको र बाँकी रकम तेह्र करोड सत्र लाख पचहत्तर हजार पाँच सय छैहत्तर रुपैयाँ तोकिएको प्रयोजनमा खर्च नभएको भन्दै छानबिन समितिले कर्जाको दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख गरेको थियो ।

सहुलियत ऋणको रूपमा दुग्ध विकास संस्थानले अर्थ मन्त्रालयबाट पाएको १५ करोड दुरुपयोग भएको र दुरुपयोगमा संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झाको हात रहेको उजुरीपछि बनेको छानबिन समतिले कर्जाको दुरुपयोग भएको प्रतिवेदन बुझाएसँगै सञ्जीव झा विवादमा तानिएका थिए । कर्जाको दुरुपयोगको विषयमा विवादमा तानिएका व्यक्तिलाई नै फेरि महाप्रबन्धक नियुक्तिको लागि सिफारिस गरेसँगै सिफारिस समिति र मन्त्री ज्वाला साहमाथि समेत नैतिक प्रश्न खडा भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x