Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबर्खासँगै सर्पदंशका बिरामीहरु बढ्न थाले

बर्खासँगै सर्पदंशका बिरामीहरु बढ्न थाले


झापा । कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा पाँच दिन अघि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भयो ।

सबै सर्प विषालु हुँदैनन् तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पुर्याउनुपर्ने चिकित्सक बताउँछन् । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् ।

आइतबार बिहान घाँस काट्ने क्रममा गुर्बे सर्पले पूर्वी इलामको सूर्योदय नगरपालिका–१ पशुपतिनगरका ३९ वर्षीय दिनेश तामाङलाई दाहिने हातमा डस्यो । गाउँका मानिसले झारफुक गर्ने धामीको सम्पर्कमा उनलाई पुर्याए । सिरु र खरानी दलेर धामीले झारफुक गर्दा ठीक नभएपछि उनलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लगियो ।

नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायले सञ्चालन गरेको उक्त केन्द्रमा उपचार गराएपछि बल्ल उनको स्वास्थ्यमा सुधार आएको छ । तराईमा गोमन र करेत सर्प बढी विषालु हुन्छन् भने पहाडी क्षेत्रमा गुर्बे र हरेउ विषालु सर्प मानिन्छन् । बर्खा याममा मानिसलाई डस्ने मुख्य विषालु सर्प यिनै हुन् ।

मेचीनगर–१५ बिचार्नीका ५१ वर्षीय जुपुइ हेमरमको देब्रे औँलामा आइतबार बिहान ओछ्यानमै सर्पले डस्यो । उनी सोही सर्पदंश उपचार केन्द्रमा उपचाररत छन् । सन्थाल समुदायमा सर्पको विष झार्न झारफुक गर्ने परम्परागत प्रचलन छ । आधा घण्टाभन्दा बढी समय तन्त्रमन्त्र प्रयोग गरेर विष झार्दा पनि सुधार नभएपछि उनलाई मोटरसाइकलमा चढाएर चारआलीको सर्पदंश उपचार केन्द्र पुर्याइयो ।

सर्पले डसेपछि कोहीले जिउँदो सर्प समातेर चिकित्सकलाई प्रमाण देखाउन अस्पताल पुर्याउने गर्छन् भने धेरैजसो पीडित डरले सिकिस्त हुने गरेका छन् । इलामको माइजोगमाई–१ का १५ वर्षीय विनोद राईले घाँस काट्दा देब्रे हातको औँलामा डस्ने विषालु हरेउ सर्प जिउँदै समातेर चारआलीको सर्पदंश उपचार केन्द्रमा पुर्याए । अहिले राईको उपचार भइरहेको छ ।

प्रख्यात सर्प उद्धारकको रुपमा चिनिने मेचीनगर–६ का ३२ वर्षीय मुन्ना कार्की तीन दिन अघि छिमेकीको घरमा उद्धार गर्ने क्रममा विषालु गोमनले डस्दा उनी आफै घाइते भएका थिए । उद्धार गरेर ल्याएको कालो गोमनलाई बट्टामा राखिरहेका बेला उनलाई सर्पले डसेको थियो । उनले विगत ११ वर्षमा एक हजारभन्दा बढी सर्प मानिसका घरबाट उद्धार गरेर जङ्गलमा पुर्याइसकेका छन् । उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।

जमिनको सतहमा आहाराका लागि सर्प बर्खायाममा निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदमन गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउँछन् । सर्पदंश उपचार केन्द्र चारआलीमा मुख्य प्राविधिक रहेका उनी पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी र हिमाली भेगमासमेत सर्पको बिगबिगी बढ्न थालेको बताउँछन् ।

झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भारतको दार्जिलिङ एवं विहारका जिल्लाबाट सर्पले डसेका बिरामी उपचारका लागि चारआलीको उपचार केन्द्रमा आउने गरेको उनले बताए ।

२०६० सालचैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका बिरामीले उपचार पाएको केन्द्रको सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईले बताए ।

उपचारका लागि बस्दा बेड शुल्क एक सय, पाँच भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम)को एक हजार, पाँच हजार र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि तीन हजार शुल्क लिने गरिएको केन्द्रले जनाएको छ । केन्द्रले बिरामीको दर्ता शुल्क एक सय र साधारण उपचार सेवा शुल्क छ सय मात्र लिने गरेको बताएको छ ।

२०८० सालमा सर्पले डसेका नौ सय ७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले जानकारी दिए । उनले विपन्न र असहाय बिरामीका लागि निःशुल्कसमेत उपचार गर्दै आएको पनि बताए । समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेको अध्यक्ष भट्टराईले बताए । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१ जना, जेठमा एक सय २३ जना र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् ।

चारआलीस्थित नेपाली सेनाको व्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो । कोशी प्रदेशमा १३ वटा सर्पदंश उपचार केन्द्र छन् । झापामा मात्रै चारवटा छन् । देशभर ८८ उपचार केन्द्र रहेकोमा २२ वटा नेपाली सेनाको प्रत्यक्ष प्राविधिक सहयोगमा सञ्चालित छन् ।

नेपाल रेडक्रस सोसाइटीले दमक र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कनकाई र कचनकबल गाउँपालिकाले बनियानीमा आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक संस्थाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x