Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटनमन्त्रीद्वारा वायुसेवा निगमको गरिमा रक्षा गर्न आग्रह

पर्यटनमन्त्रीद्वारा वायुसेवा निगमको गरिमा रक्षा गर्न आग्रह


काठमाडौँ । निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन् । उनले विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पुर्याउन नहुनेमा जोड दिए ।

पर्यटनमन्त्री तामाङले भने, “वायुसेवा निगम लामो इतिहास पार गर्दै आज ६७औँ वर्षमा प्रवेश गर्दैछ । यसले इतिहासको लामो कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । अझै यसको अभिवृद्धि गर्न ठोस् योजना बनाउन आवश्यक छ ।”

निगमको वार्षिकोत्सवको अवसरमा सोमबार बिहान निगमको नयाँ सडकस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी नयाँ सडक, बसन्तपुर, आकाशभैरव, घण्टाघर, भद्रकाली, सुन्धारा हुँदै पुनः केन्द्रीय कार्यालयमा पुगेर समापन गरिएको थियो ।

निगमले हाल काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ मलेसिया, थाइल्याण्ड, जापानको नारिता, नयाँदिल्ली, बेङ्लोर, मुम्बई, हङकङ, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ ।

२०१५ साल असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो । निगमले दुई थान वाइड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । आन्तरिकतर्फ दुर्गम भेगका २२ भन्दा बढी गन्तव्यमा निगमले सेवा दिइरहेको छ ।

डगलस डिसी–३ ‘डकोटा’ विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले विसं २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो । २०७७ असार २९ सम्ममा निगमको कूल सात विमान सेवामा प्रयोग गरिएको छ ।

निगमले २०१७ सालमा पिलाटस पोर्टर र २०१९ मा १२ यात्रु क्षमता भएको चिनियाँ फेङ सोउ–२ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपश्चात् देशका दुर्गम क्षेत्रलाई विमान सेवा सञ्जालमा जोडिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x