Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेगा ड्रिम सहकारीको करोडौँ पैसा लिएर नतिर्ने अमृता श्रेष्ठविरुद्ध मुद्दा दायर

मेगा ड्रिम सहकारीको करोडौँ पैसा लिएर नतिर्ने अमृता श्रेष्ठविरुद्ध मुद्दा दायर


काठमाडौंँ,काठमाडौंको बालाजु माछापोखरीमा प्रधान कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको करोडौँ रुपैया लिएर नतिर्ने अमृता श्रेष्ठविरुद्ध मुद्दा परेको छ ।

काठमाडौंको गोल्फुटारमा रहेको खाद्य सामग्रीको कारोबार गर्ने एसडीजी ग्लोबल इम्पोट्र्स प्रालिको प्रमुख कार्यकारी अधिकृत तथा सुन तस्करीका आरोपित जीवन चलाउनेसँग विशेष सम्बन्ध रहेका मारवाडी जितेन्द्र सैनीको श्रीमती बताउने अमृता श्रेष्ठले समस्यामा परेको मेगा ड्रिम सहकारीबाट व्यवसाय गर्ने नाममा २० करोड र व्यक्तिगत नाममा छ करोड ३० लाख लिएर लिएकै होइन भन्दै नतिर्ने नियत राखेपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आर्थिक दैनिकलाई प्राप्त जानकारीमा सहकारीको महाशंकर रेग्मी प्रयोगकर्ता भएको कर्जा खातामार्फत अमृता श्रेष्ठलाई पैसा दिएको देखिएको छ । मारवाडी तथा सुन तस्करीको आरोपित जीवन चलाउनेको व्यावसायिक साझेदार जितेन्द्र सैनीकी श्रीमती बताउने अमृता श्रेष्ठले २०७९ असार २८ गते सहकारीमा खोलेको व्यक्तिगत खाता नम्बर ००४७००००४२ मार्फत छ करोड ३० लाख रुपैयाँ र सोही दिन ०००४१०००१७३ नम्बरको व्यापारिक खातामार्फत २० करोड रुपैयाँ सहकारीबाट लगेको सहकारीले अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ ।

विभिन्न दुईवटा शीर्षकमा श्रेष्ठले लिएको ऋणहरू समयमा नै नतिरेको हुँदा छ करोड ३० लाखको करिब नौ करोड ३३ लाख र २० करोडको करिब २६ करोड पुगेको अदालतमा बुझाएको विवरणमा उल्लेख छ ।

त्यसो त अमृता श्रेष्ठलाई सहकारीको कर्जा उपलब्ध गराउनेमध्येका मुख्य फरार अभियुक्त सहकारीका अध्यक्ष महाशंकर रेग्मीले सुन तस्करीका फरार आरोपित जीवन चलाउने र अमृता श्रेष्ठका श्रीमान् बताउने जितेन्द्र सैनीसँगको मिलेमतोमा सो कर्जा अमृता श्रेष्ठको नाममा लिएर एसडीजी ग्लोबल इम्पोट्र्स प्रालिको नाममा लगानी गरेको स्रोतले दाबी गरेको छ ।

खाद्य सामग्रीहरूको व्यापार गर्ने एसडीजी ग्लोबल इम्पोट्र्समा सहकारीका अध्यक्ष महाशंकर रेग्मी, अमृता श्रेष्ठ र उनका श्रीमान् जितेन्द्र सैनीको संयुक्त लगानी रहेको छ । अमृता श्रेष्ठले आर्थिक समस्यामा रहेको मेगा ड्रिम सहकारीबाट २५ करोड लिएर फिर्ता गर्ने समयमा पैसा नभएको चेक दिएको कारण बचतकर्ताहरूलाई पैसा फिर्ता गर्न नसकेको सहकारीका सचिव इन्द्रप्रसाद गेलालले गत जेठ २८ गते काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा समेत उल्लेख छ ।

सहकारीमा आर्थिक हिनामिनाको विषयमा भारतीय नागरिक तथा अमृता श्रेष्ठका श्रीमान् जितेन्द्र सैनी दम्पतीको समेत नाम आर्थिक दैनिकले प्रकाशन गरेपछि अमृता श्रेष्ठ दम्पती आर्थिक दैनिकको सम्पर्कमा आएका थिए ।

श्रेष्ठ दम्पतीले आफूसँग ऋण नलिएको प्रमाण छ भन्दै आर्थिक दैनिकका प्रतिनिधिलाई एक पटक हेरेर बुझेर मात्र समाचार प्रकाशन गर्न अनुरोध गरेबमोजिम असार १६ गते अमृता श्रेष्ठ आफ्नो भारतीय नागरिक मारवाडी श्रीमान् जितेन्द्र सैनी, अखिलको विद्यार्थी नेता बताउने अमित महर र पूर्वउच्चतहको प्रहरी हाल अधिवक्ता बताउने गणेश रेग्मीसहितको छलफलमा आफूले कुनै गल्ती नगरेको, आफ्नो चेक चोरी भएर आफैँले लेखेर उल्टै आफूलाई फसाउन चेक अनादार मुद्दा हालेकोले आफूले समेत चोरीको केसमा मुद्दा हाल्न लागेको बताइन् ।

श्रेष्ठले आर्थिक दैनिकलाई मेगा ड्रिम बहुउद्देश्यीय सहकारीबाट पैसा नलिएको सहकारीको चिठी उपलब्ध गराए पनि सो चिठी स्रोतले आर्थिक दैनिकलाई मेगा ड्रिम सहकारीबाट अमृता श्रेष्ठले कर्जा लिएको विवरण उपलब्ध गराएको मितिभन्दा अगाडि रहेको पाइएको छ । आर्थिक अनियमितता गरेर फरार रहेका सहकारीका अध्यक्ष महाशंकर रेग्मीलाई समेत आफ्नो पक्षमा बोलिदिन भन्दै अमृता श्रेष्ठको पति जितेन्द्र सैनीले आर्थिक दैनिकका प्रतिनिधिसँग फोन सम्पर्क गराएका थिए ।

पूर्वउच्चतहका प्रहरी अधिकृत गणेश रेग्मी कानुनी सल्लाहकार रहेको अमृता श्रेष्ठका पति फरार अभियुक्त महाशंकर रेग्मीसँग सिधा सम्पर्कमा हुनु र नेपाल प्रहरीले नभेट्नु आफैँमा अर्थपूर्ण देखिन्छ । करिब ११ हजार निक्षेप सदस्य रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारीमा करिब दुई अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेर सञ्चालकहरू फरार भएको भन्दै ठूलो संख्यामा पीडितहरूले उजुरी गरेसँगै सहकारीको लगानी खोज्ने क्रममा अमृता श्रेष्ठको नाममा समेत करोडौँ गएको देखिएको थियो ।

पीडितहरूको उजुरीपछि प्रहरी वृत्त बौद्धले संस्थाका अध्यक्ष महाशंकर रेग्मी, उपाध्यक्ष बासुदेव भट्ट, सचिव इन्द्रप्रसाद गेलाल, कोषाध्यक्ष रविन कुमार कार्की, सदस्य शरद कुमार अधिकारी शेखर बस्नेत, राज कुमार श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक उमाकान्त न्यौपाने सदस्यहरू प्रकाश धिमिरे र शुधद्रा चौलागाईँलाई पक्राउ पुर्जी जारी गरेको थियो ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x