Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाइमेक्स इंक लगायत सम्पूर्ण आयातकर्ता कम्पनीमाथि छानबिन

साइमेक्स इंक लगायत सम्पूर्ण आयातकर्ता कम्पनीमाथि छानबिन

अर्बौँ राजस्व छली भएको प्रारम्भिक अनुमान


राजस्व अनुसन्धान विभागले ईभी गाडी आयात गर्ने साइमेक्स इंकलगायत अन्य सम्पूर्ण आयातकर्ता कम्पनीमाथि एकैसाथ अनुसन्धान थालेको छ । साइमेक्स इंकलगायतका कम्पनीहरूले अर्बाैँ रुपैयाँ राजस्व छलेको हुनसक्ने प्रारम्भिक अनुमान गर्दै राजस्व अनुसन्धान विभागले ईभी आयात गर्ने साइमेक्स इंकलाई केन्द्रमा राखेर अन्य आयातकर्ता कम्पनीमाथि समेत सशक्त अनुसन्धान थालिएको जनाएको छ ।चिनियाँ ईभी गाडी बीवाईडीको आयातकर्ता कम्पनी साइमेक्स इंकको ठगी धन्दा मौलाउन पुगेको भन्दै राजस्व अनुसन्धान विभागले साइमेक्स कम्पनीका सबै कागजपत्रहरू नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।बीवाईडीको नेपालस्थित बिक्रेता साइमेक्स इंकले बढी किलोवाटको ईभी गाडीलाई कम किलोवाट देखाएर राजस्व छली गरेको विषयलाई गम्भीरतापूर्वक छानबिन गरिएको विभागका अनुसन्धान अधिकृतहरूको भनाइ छ ।

हाल नेपालको जम्मा गाडी बिक्रीमा ईभी गाडीको बिक्री ७० प्रतिशत छ । ईभी गाडीले बजार लिँदै गए पनि ईभी गाडीको आयात गर्नेहरूले राजस्व छली गर्ने उद्देश्यले विभिन्न खाले परिपञ्चहरू अपनाउँदै आइरहेको बताइएको छ । जसका कारण राज्यकोषमा आउनुपर्ने अर्बाँै रुपैयाँ राजस्व गुमिरहेको छ । राजस्व अनुसन्धान विभागले समेत प्रारम्भिक छानबिनमा ईभी गाडी आयात गर्ने साइमेक्स इंकलगायतका कम्पनीले अर्बाँै रुपैयाँ राजस्व छली गरेको निष्कर्ष निकाल्दै छानबिनलाई मिहिन ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले ईभी गाडी आयात गर्ने साइमेक्स इंकलगायत सम्पूर्ण आयातकर्ता कम्पनीमाथि एकैसाथ अनुसन्धान थालिएको जानकारी दिए । ‘राजस्व छली गर्नेहरूमाथि विभाग कठोररूपमा अघि बढ्छ, जोसुकै भए पनि राजस्व छली गर्नेहरूलाई कानुनी दायरामा ल्याउन दृढ छौँ । यस प्रकरणमा पनि प्रभावकारीरूपमा छानबिन सम्पन्न गर्छाैँ’, महानिर्देशक बुढाले भने ।

राजस्व अनुसन्धान विभागले भन्सार विभागलाई पत्र लेख्दै साइमेक्स इंकले विगत पाँच वर्षमा नेपालमा आयात गरेका ईभी गाडीको आयात विवरण उपलब्ध गराउन भनेको छ । साथै राजस्व अनुसन्धान विभागले त्यसरी नेपाल ल्याइएका सबै ईभी गाडीको क्षमता के–कति छ ? त्यसको विवरण, ती कम्पनीले गरेका गाडीको मूल्य घोषणाको विवरण, उनीहरूले भन्सार तिरेको विवरणलगायतका कागजपत्र समेत माग गरेको छ । यसैगरी राजस्व अनुसन्धान विभागले गत पाँच वर्षमा नेपालमा भित्रिएका सबै ईभी गाडीको विस्तृत विवरण समेत भन्सार विभागसँग माग गरेको छ । मुख्य छानबिनको घेरामा रहेको साइमेक्स इंकको मुख्य सञ्चालकको रूपमा यमुना श्रेष्ठ र समिर श्रेष्ठ छन् ।

साइमेक्स इंक बाहेक ईभी गाडी आयात गर्ने अन्य सबै कम्पनीको विस्तृत विवरण, मोटर क्षमता समेत माग गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । साइमेक्स इंकलगायतका आयातकर्ताले एक सय ५० किलोवाट क्षमताका गाडीलाई एक सय किलोवाट मात्रै देखाएर राजस्व छली गर्नेगरेको स्रोतको दाबी छ । नेपालमा ईभी गाडीको क्षमता मापन गर्ने मेसिन नहुँदा ती गाडीको वास्तविक क्षमता पहिचान गर्न कठिन हुने देखिन्छ । सो मेसिनको अभावमा गाडीको क्षमता मापन गर्न नसकिने भएकाले राजस्व छली गर्ने क्रम बढेको स्रोतको दावी छ । निर्माता कम्पनीको वेबसाइट तथा अन्तर्राष्ट्रिय बजारमा एउटा क्षमता हुने तर त्यही गाडी नेपाल भित्रिँदा फरक क्षमता देखिनुले आशंका जन्माएको यातायात व्यवस्था कार्यालयका प्राविधिकहरूकै भनाइ छ । बीवाईडीले किलोवाट घटाएर नेपालमा यस वर्ष करिब तीन हजार गाडी बिक्री गरेको हुनसक्ने अनुमान राजस्व अनुसन्धान विभागले गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x