Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछानबिनका लागि पोखरा विमानस्थलमा संसदीय समिति

छानबिनका लागि पोखरा विमानस्थलमा संसदीय समिति


निर्माणको क्रममा आर्थिक अनियमितताको आरोप लागेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिनका लागि संसदीय समिति निर्माण गरिएको छ । आर्थिक अपचलनको आरोपसँगै विवादित बन्नपुगेको पोखरा र भैरहवा (गौतमबुद्ध) अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन तथा अध्ययनका लागि प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले दुईवटा छुट्टाछुट्टै उपसमिति निर्माण गरेको छ । पोखरा विमानस्थलको अध्ययन तथा छानबिन गर्न नेकपा एमालेका सांसद एवं लेखा समिति सदस्य योगेश भट्टराईको संयोजकत्वमा आठ सदस्यीय उपसमिति निर्माण गरिएको छ भने भैरहवा विमानस्थलको अध्ययन तथा छानबिनका लागि राप्रपा सांसद एवं लेखा समिति सदस्य राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति निर्माण गरिएको छ । उपसमितिले विमानस्थल निर्माणको क्रममा लागत र समय बढ्नु, वित्तीय विवरणलगायतका विषयमा अध्ययन गर्ने समितिका सचिव एकराम गिरीले बताए । सञ्चारमाध्यमहरूमा विमानस्थल निर्माणको क्रममा आर्थिक अनियमिततालगायतका विषय उठान भएको तथा उजुरी समेत परेकोले उपसमितिले आवश्यक अध्ययन गर्न लागेको उनले जानकारी दिए ।

भट्टराई संयोजक रहेको टोली आइतबार पोखरा विमानस्थलतर्फ लागेको समिति सचिव गिरीले बताए । उपसमिति पोखरा गएसँगै पोखरा विमानस्थलको अध्ययन तथा छानबिन सुरु हुने बताइएको छ । ऋण र दातृ निकायको अनुदानमा बनेको दुवै विमानस्थलमा आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका विभिन्न सरकारी निकायमा उजुरी परेपछि सरकार छानबिनको लागि अघि बढेको देखिन्छ । ऋण र अनुदान सहयोगमा बनेको पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा नआउँदा मुलुकलाई थप आर्थिक भार परेको छ भने ऋण दायित्वले मुलुक थप दबाबमा परेको छ । पोखरा विमानस्थलमा आर्थिक अनियमतिता भएको भन्दै अख्तियारले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसँग बयान समेत लिएको थियो । राष्ट्रिय गौरवका आयोजनाको रूपमा रहेको पोखरा र गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडानमार्फत व्यावसायिक सेवा दिने भने पनि त्यसो गर्न सकेको छैन । सन् २०२३ जनवरी १ देखि जुलाई १६ सम्म पोखरा विमानस्थलमा दुईवटा अन्तर्राष्ट्रिय चार्टर उडान भएको बाहेक व्यावसायिक उडान हुनसकेको छैन । भैरहवा विमानस्थलमा ४९ वटा अन्तर्राष्ट्रिय उडान भए पनि व्यावसायिकरूपमा उडान सञ्चालन हुन नसक्दा प्राधिकरणलाई वित्तीय नोक्सानी भएको छ । अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्नेगरी निर्माण गरिएको विमानस्थलमा पूर्ण रुपमा आन्तरिक उडानमा निर्भर हुनुपरेको छ ।

२०७४÷७५ मा निर्माण सुरु गरिएको पोखरा विमानस्थलको सुरुवाती निर्माणसम्पन्न लक्ष्य २२ अर्ब रुपैयाँ रहेकोमा लागत वृद्धि भएको थियो । लागत वृद्धि भई २५ अर्ब ३४ करोड रुपैयाँ पुगेको पोखरा विमानस्थल २०७९÷८० मा निर्माणसम्पन्न भई सञ्चालनमा आएको थियो । विमानस्थल निर्माणको लागि २२ अर्ब रुपैयाँमध्ये पाँच अर्ब ८३ करोड रुपैयाँको ब्याज तिर्नु पर्दैन । बाँकी ऋणमा नेपालले चिनियाँ एक्जिम बैंकलाई ब्याजबापत मात्रै वार्षिक ८४ करोड रुपैयाँ तिर्नुपर्छ । हालसम्म ९४ करोड रुपैयाँबराबरको किस्ता चिनियाँ पक्षलाई बुझाएको सरकारले विक्रम संवत् २०८६ सम्म साँवा र ब्याज दुवैको भुक्तानी गर्नुपर्ने हुन्छ । महालेखापरीक्षकको कार्यालयले आफ्नो ६१औँ प्रतिवेदनमा विमानस्थलमा रहेको समस्या हटाई अन्तर्राष्ट्रिय उडान गर्न सुझाव दिएको छ । ‘आयोजना सम्पन्न भएपछि विमानस्थल क्षेत्रभन्दा बाहिर उत्तरतर्फ करिब चार किलोमिटर टाढा मणिपाल, सेती नदी, काहुँखोलादेखि करिब पाँच सय हेक्टर जग्गा वर्षातको समयमा पानी बग्ने, भित्री सडक तथा पृथ्वी राजमार्गको नालाबाट र सिँचाइको नहर भई बगेर आउने पानी एकत्रित भई विमानस्थल क्षेत्रमा पस्न गई विमानस्थल सञ्चालनमा समस्या आएको छ । उक्त विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी तथा छिमेकी देशहरूसँग समन्वय गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्दछ’, प्रतिवेदनमा भनेको छ ।

चिनियाँ ऋणमा बनेको पोखरा विमानस्थल निर्माण भने चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले निर्माण गरेको हो । कुल एक अर्ब ३७ करोड ८७ लाख ४० हजार युआन ऋण सम्झौता भएकोमा ३५ करोड ५९ लाख युआन भने ब्याजविनाको ऋण हो । महालेखाले ६१औँ प्रतिवेदनमा छिने डाँडा काट्ने काममा प्रश्न उठाएको छ । पोखरा विमानस्थल निर्माण गर्दा रनवेको पूर्वीतर्फ एक दशमलव पाँच किलोमिटरमा रहेको छिने डाँडाले अवतरणमा अवरोध गर्ने जनाई ४० मिटर काट्ने गरी आयोजनाले छुट्टै ठेक्का व्यवस्थापनबाट एक निर्माण व्यवसायीलाई २८ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरिएकोमा महालेखाले असुन्तष्टि जनाएको छ । सन् २०१५ जनवरी १५ मा सुरु गरी भैरहवा विमानस्थल सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा संशोधन गरिएको थियो । निर्माणसम्पन्न गर्ने समय संशोधन भएपछि २०२१ डिसेम्बर ३१ मा निर्माणसम्पन्न भई सन् २०२२ मे १६ देखि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको थियो । सुरु सम्झौता ३० अर्ब ९१ करोड रहेकोमा लागत बढ्न गई मूल्य अभिवृद्धि करसहित ३५ अर्ब ६६ करोडमा निर्माणकार्य सम्पन्न भएको छ । उक्त विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने लागत वृद्धिमा समेत आर्थिक अनियमितताको शंका गरिएको छ । सरकारी निकायमा उजुरी समेत पर्नु र लागत वृद्धि देखिनुले यसमा छानबिन आवश्यक रहेको समेत रहेको उजुरीकर्ताहरूको माग छ । अर्कोतर्फ विमानस्थलको आम्दानीको लागि मन्त्रालयले वायुसेवा कम्पनी तथा छिमेकी देशहरूसँग समन्वय गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने महालेखाले सझाव दिए पनि त्यसलाई कार्यान्वयन गर्नसेकेको छैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १ जनवरी २०२३ देखि १६ जुलाई २०२३ सम्म दुई अन्तर्राष्ट्रिय चार्टर उडान भएको र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ४९ अन्तर्राष्ट्रिय उडान भए पनि व्यावसायिकरूपमा उडान सञ्चालन हुन नसक्दा प्राधिकरणलाई वित्तीय नोक्सानी भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन व्यावसायिकरूपमा गरी नोक्सानी नियन्त्रण गर्ने एवं विमालस्थलहरू सञ्चालन सम्बन्धमा अध्ययन गरी सो विमानस्थलहरूका जग्गा, भवन तथा अन्य सम्पत्तिहरूको उचित व्यवस्थापन गर्नुपर्ने सुझाव महालेखाको रहेको छ ।

पोखरा विमानस्थलको अध्ययन तथा छानबिनको लागि भट्टराईको नेतृत्वमा सांसद एवं समिति सदस्यहरू श्यामकुमार घिमिरे, मनिष झा, मन्जु खाँण, विक्रम पाण्डे, डा. अमरेशकुमार सिंह, अच्युतप्रसाद मैनाली र सराज अहमद फारुकी छन् । भैरहवा विमानस्थलको अध्ययन तथा छानबिनको लागि राप्रपा अध्यक्ष एवं सांसद लिङ्देनको नेतृत्वमा सांसद एवं समिति सदस्यहरू अर्जुनरसिंह केसी, गोकुल बास्कोटा, प्रेम आले, रामकृष्ण यादव, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमलसेना, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन् । संयोजक भट्टराईले आफ्नो टोलीको गठन गरी कामकारबाही अघि बढाउँदा लिङदेन नेतृत्वको सदस्य छनोटले पूर्णता प्राप्त गर्न नसकेको समितिका उपसचिव साबित्रा शर्माले बताइन् । भैरहवा विमानस्थलको अध्ययन तथा छानबिनको लागि निर्माणको भएको उपसमितिमा बस्ने सदस्यहरूको अन्तिम छनोट भईनसकेको उनले बताइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x