Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशमा बैंकिङ कर्जा घट्यो

सुदूरपश्चिम प्रदेशमा बैंकिङ कर्जा घट्यो


सुुुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप केही बढेको छ भने कर्जा प्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी सुदूरपश्चिम प्रदेशको अर्धवार्षिक प्रतिवेदन २०८०÷८१ माबैंकिङ क्षेत्रको निक्षेप बढेको र कर्जा घटेको देखिएको छ ।प्रतिवेदनअनुसार२०८० पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा एक दशमलव ९१ प्रतिशतले बढेर एक खर्ब ३६ अर्ब ८३ करोड १६ लाख रूपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो निक्षेप शून्य दशमलव ४२ प्रतिशतले ह्रास आएको थियो ।

२०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको कुल कर्जा२०८० असार मसान्तको तुलनामा सात दशमलव २८ प्रतिशतले घटेर एक खर्ब ४० अर्ब ६६ करोड २५ लाख रूपैयाँमा झरेको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा छ दशमलव २७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७ दशमलव ७१ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम दुई दशमलव ३० प्रतिशत देखिएको छ । त्यसैगरी अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात्७० दशमलव ३२ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम शून्य दशमलव ६६ प्रतिशत देखिएको छ ।

२०८० पुस मसान्तसम्म निक्षेपतर्फ कुल खाता संख्या २०७९ पुस मसान्तको तुलनामा १३ दशमलव ७७ प्रतिशतले बढेर ३६ लाख ३६ हजार पाँच सय ११ पुगेको छ । ऋणतर्फ कुल कर्जा खाता संख्या एक वर्षअघिको तुलनामा गत पुस मसान्तमा १८ दशमलव ६३ प्रतिशतले घटेर ८१ हजार छ सय ७९ मा कायम भएको छ । २०८० पुस मसान्तसम्म विपन्न वर्गकर्जा २०८० असार मसान्तको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले घटेर ११ अर्ब आठ करोड रूपैयाँमा झरेको छ । गतवर्ष सोही अवधिमा यस्तो कर्जा चार दशमलव ३७ प्रतिशतले घटेको थियो । यसैगरी, २०८० पुस मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तको तुलनामा सात दशमलव ५४ प्रतिशतले बढेर १० अर्ब ४० करोड पुगेको छ । गतवर्ष सोही अवधिमा यस्तो कर्जा १३ दशमलव २८ प्रतिशतले बढेको थियो ।

२०८० पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको कृषि कर्जा २०८० असार मसान्तको तुलनामा आठ दशमलव शून्य सात प्रतिशतले बढेर १५ अर्ब ४० करोड २४ लाख पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा २० दशमलव ८३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालन÷पशु बधशालामा २० दशमलव ३१ प्रतिशत र सबैभन्दा कम शून्य दशमलव ००१ प्रतिशत सनपाट शीर्षकमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । क्षेत्रगत औद्योगिक कर्जा २०८० पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा छ दशमलव १८ प्रतिशतले घटेर २५ अर्ब २२ करोड ९४ लाख रूपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा १३ दशमलव ४७ प्रतिशतले बढेको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७ दशमलव ९४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्ममा कुल औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी १० दशमलव ८७ प्रतिशतले बढेपनिगैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा सबैभन्दा बढी १० दशमलव शून्य नौ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी उद्योगमा ४० दशमलव २२ प्रतिशत, गैरखाद्यवस्तुसम्बन्धी उद्योगमा २८ दशमलव ५३ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा २२ दशमलव १४ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा छ दशमलव ९९ प्रतिशत, विद्युत्, ग्यास तथा पानी उद्योगमा एक दशमलव १० प्रतिशत र खानीसम्बन्धी उद्योगमा एक दशमलव २३ प्रतिशत अंश रहेको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x