Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी लगानीकर्ताले दुई वर्षमा लगे २७ अर्ब लाभांश

विदेशी लगानीकर्ताले दुई वर्षमा लगे २७ अर्ब लाभांश


नेपालबाट लगानीको प्रतिफलस्वरूप विदेशी लगानीकर्ताले मुनाफाबापत प्राप्त लाभांश करिब २७ अर्ब रुपैयाँ लगेका छन् । विदेशी लगानीकर्ताले पछिल्लो २३ महिनामा २६ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ लाभांश लगेका हुन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि यस आर्थिक वर्षको जेठ मसान्तसम्म सो लाभांश विदेश लगेका हुन् । गत आर्थिक वर्ष २०७९÷८० मा मात्र १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ र चालू आर्थिक वर्ष २०८०÷८१ मा १० अर्ब १८ करोड ९२ लाख रुपैयाँ लाभांश बाहिरिएको छ ।विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले लगानीको प्रतिफलस्वरूप विदेशी लगानीकर्ताले लाभांश लैजाने गरेको बताए । ‘विदेशी लगानीकर्ताले साना, मझौला र ठूला उद्योगहरूमा लगानी गरेबापत लाभांश लगेका हुन्,’ निर्देशक धामीले भने, ‘विदेशी लगानीकर्ताका स–साना रेस्टुरेन्ट, व्यवसायदेखि लिएर सोल्टी होटललगायतका ठूला होटल र सिमेन्ट उद्योगमा लगानी छ । त्यहाँबाट प्राप्त मुनाफा लगानीकर्ताले लगेका हुन् । ठूला, मझौला र साना किसिमको लगानी आउने र सोहीअनुरूप नै लाभांश वितरण हुनेगरेको विभागले जनाएको छ ।

विदेशी लगानीकर्ताले लगेको लाभांश मासिकरूपमा एकनास देखिएको छैन । गत आर्थिक वर्षको मंसिर, फागुन, चैत महिना र चालू आर्थिक वर्षको कात्तिक, माघ र जेठ महिनामा सबैभन्दा धेरै लाभांश विदेशी लगानीकर्ताले लगेका छन् ।
विभागले गत आर्थिक वर्षको साउनमा नौ करोड ४३ लाख रुपैयाँ, भदौमा आठ करोड ६८ लाख रुपैयाँ, असोजमा एक अर्ब तीन करोड ५५ लाख रुपैयाँ, कात्तिकमा एक अर्ब ७५ लाख रुपैयाँ, मंसिरमा आठ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ, पुसमा आठ करोड ३७ लाख रुपैयाँ, माघमा दुई अर्ब १७ करोड २८ लाख रुपैयाँ, फागुनमा २८ करोड ८१ लाख रुपैयाँ, चैतमा तीन अर्ब १४ करोड ५३ लाख रुपैयाँ, वैशाखमा एक करोड ८६ लाख रुपैयाँ, जेठमा तीन करोड २४ लाख रुपैयाँ, असारमा एक करोड ९२ लाख रुपैयाँ लभांश लैजान दिइएको थियो ।

यस आर्थिक वर्षको साउनमा २० करोड ३० लाख रुपैयाँ, भदौमा चार करोड ७६ लाख रुपैयाँ, असोजमा एक करोड १४ लाख रुपैयाँ कात्तिकमा एक अर्ब नौ करोड ८१ लाख रुपैयाँ, मंसिरमा ३० करोड ५७ लाख रुपैयाँ, पुसमा आठ करोड ७३ लाख रुपैयाँ, माघमा छ अर्ब ९७ करोड रुपैयाँ, फागुनमा ५१ करोड १८ लाख रुपैयाँ, चैतमा तीन करोड तीन लाख रुपैयाँ, वैशाखमा २४ करोड १७ लाख रुपैयाँ र जेठमा ६८ करोड २३ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ ।लाभांश विदेशी लगानीकर्ताले नेपालबाट लगेका हुन् । उनीहरूले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखाङ्कन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्याङ्कन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आयरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिंगापुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू छन् । यता लगानी प्रतिबद्धता जनाउनेमा भने चीन, भारत, हङकङ, अमेरिका, बेलायतलगायतका दर्जनबढी मुलुक छन् ।

विदेशी लगानीकर्ताले लगानी गरिसकेपछि लाभांश लैजाने मात्र नभई यहाँको नियमअनुरूप विभिन्न दस्तुरहरू बुझाएको पाइन्छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म दुई अर्ब ५४ करोड ३४ लाख ५९ हजार रुपैयाँ राजस्व बुझाएका छन् । जुन वैशाख मसान्तसम्ममा भने एक अर्ब ९९ करोड ४९ लाख ९५ हजार रुपैयाँ थियो ।गत आर्थिक वर्षको जेठ मसान्तसम्म दुई अर्ब ३२ करोड आठ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । जेठमा मात्रै भने ५४ करोड ८४ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले वैशाखमा २९ करोड ३० लाख ५८ हजार रुपैयाँ र चैतमा १६ करोड ६१ लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो । यसैबीच विभागले प्रत्येक महिना करिब दुई करोड रुपैयाँदेखि करिब ६० करोड रुपैयाँबरारबर राजस्व सङ्कलन गर्दै आएको छ । विभागले लाभांश वितरण राजस्व सङ्कलनका साथै उद्योगको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) लगायतका कामहरू गरेको छ ।

निर्देशक धामीले समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको बताए । उनले चालू आर्थिक वर्ष जेठ मसान्तसम्ममा ५२ वटा उद्योगको लागि नौ अर्ब ५१ करोड ४५ लाख ६८ हजार रुपैयाँबराबरको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेका छन् ।जेठमा मात्र नौवटा उद्योगका लागि ४६ करोड १० लाख रुपैयाँबराबरको एसपीए र एसएसए सम्झौता गरिएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा ५६ वटा र जेठमा मात्र सातवटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ । यसैबीच नेपालमा लगानी गरी सकेपछि लगानी अर्थात् नाफा लैजान सहज भएकै कारण विदेशी लगानीकर्ताहरूले लाभांश लैजाने गरेको विभागले जनाएको छ ।विदेशी लगानीकर्ताहरूले लगानी ल्याउने तथा लाभांश लैजानेको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सहजीकरण गरेको छ । उक्त ऐनअनुरूप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिसकेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी कर चुक्ता गरी आफ्नो लगानी तथा मुनाफा लैजान सक्नेछन् । उनीहरूले लगानी गरेको सोही विदेशी मुद्रा वा अन्य परिवत्र्य विदेशी मुद्रमा कर चुक्ता गरी राष्ट्र बैंकको स्वीकृति लिई लाभांश लैजान सक्ने निर्देशक धामीले बताए । लाभांश लैजान राष्ट्र बैंकमा लेखाङ्कन गर्नुपर्ने व्यवस्था छ ।

विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x