Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुलुकभित्र रोजगारी प्रवर्द्धन र असल श्रमसम्बन्ध विकास गर्ने

मुलुकभित्र रोजगारी प्रवर्द्धन र असल श्रमसम्बन्ध विकास गर्ने


काठमाडौँ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र उपलब्धिमूलक बनाउने गरी नीति तथा कार्यक्रम अघि बढाइएको बताएका छन् ।

मन्त्री अर्यालले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनबाट मुलुकभित्र रोजगारी प्रवर्द्धन र असल श्रमसम्बन्ध विकास गर्ने उल्लेख गरे । वैदेशिक रोजगारीलाई मर्यादित बनाउने प्रयास भइरहेको बताए ।

मन्त्री अर्यालले उत्पादनशील रोजगारीका अवसर सिर्जना, श्रमिकको हकहित एवं पेशागत सुरक्षा, मर्यादित कार्य वातावरण, योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनलगायत विषयमा मन्त्रालयले ध्यान केन्द्रित गरेको सदनलाई जानकारी दिए । दीर्घकालीन रुपमा आन्तरिक रोजगारी, स्वरोजगारी, उद्यमशीलता र उत्पादन प्रोत्साहन गर्ने तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र उपलब्धिमूलक बनाउने गरी नीति तथा कार्यक्रम अघि बढाइएको दाबी गरे ।

“सीपयुक्त जनशक्तिको विकास गरी रोजगारी र स्वरोजगारी प्रवर्द्धन गर्दै उत्पादन, उत्पादकत्व अभिवृद्धि गर्ने काममा मन्त्रालयले योजना बनाएको छ”, मन्त्री अर्यालले भने । उनले एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन र व्यवस्थापन) कार्यविधि, २०८० स्वीकृत गरी स्थानीय तहबाट श्रम र रोजगारसम्बन्धी सेवा एकीकृत रुपमा प्रवाह भइरहेको जानकारी दिए ।

उनले विभिन्न दातृ निकायको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणसम्बन्धी परियोजना कार्यान्वयन भइरहेको जानकारी दिए ।वैदेशिक रोजगारबाट फर्किएका नागरिकको सीप, पुँजी, प्रविधि, ज्ञान र अनुभवको उपयोग गर्दै उद्यमशीलता प्रवर्द्धनको प्रयास भइरहेको मन्त्री अर्यालको भनाइ छ ।

“स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवर्द्धन कार्यक्रमलगायत विविध कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सञ्चालित छन्”, मन्त्री अर्यालले भने । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालु आवको असार १९ गतेसम्म ५२ हजार पाँच सय आठ जनाले औसत ८१ दिनको रोजगारी प्राप्त गरेका जानकारी दिए ।

मन्त्री अर्यालले रोजगार बैंकका लागि राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली निर्माण गर्ने तयारी भइरहेको बताए । उनले भने, “श्रम बजारमा उपलब्ध रोजगारीका अवसर र रोजगारी खोजिरहेका श्रमिकबीच समन्वय गर्न रोजगार बैंकको रुपमा कार्य गर्न राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।”

उनले श्रम स्वीकृतिका लागि दुई सिफ्टमा कार्यालय सञ्चालन गरी एक घण्टाभित्रै स्वीकृति प्रदान गर्ने व्यवस्थाले सेवाग्राही लाभान्वित भएका बताए । मन्त्रालयको आगामी योजनाबारे जानकारी दिँदै मन्त्री अर्यालले श्रम स्वीकृति लिनका लागि आवश्यक पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई क्रमशः निःशुल्क गर्ने गृहकार्य भइरहेको जानकारी दिए । वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श प्रदान गर्न आगामी आवदेखि सात सय ५३ वटै स्थानीय तहमा सेवा विस्तार गरिने उनले बताए ।

मन्त्री अर्यालले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु हुने मृतकका परिवारलाई दिइने क्षतिपूर्तिबापतको रकम सात लाखबाट बढाइ १० लाख हुने गरी प्रस्ताव गरिएको राससलाई जानकारी दिए । उनले अङ्गभङ्ग वा मृत्यु भएका कामदार र निजका परिवारलाई उपलब्ध गराउने आर्थिक सहायता तथा छात्रवृत्तिसम्बन्धी सेवालाई समेत अनलाईनमार्फत प्रदान गर्ने व्यवस्था मिलाइएको उल्लेख गरे ।

“वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आव २०७८/७९ देखि चालु आवको जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा गएका चार हजार ८० जनाको मृत्यु तथा एक हजार २ सय ६२ जना अङ्गभङ्ग भएका छन् । निजका परिवारलाई दुई अर्ब १४ करोड ३७ लाख २७ हजार आर्थिक सहायता उपलब्ध गराइएको हो”, मन्त्री अर्यालले भने । उनले वैदेशिक रोजगारीको सन्दर्भमा हुने विभिन्न गुनासा सुन्न श्रमाधान कल सेन्टरलाई थप व्यवस्थित बनाइने बताए ।

मन्त्री अर्यालले इजाजत प्राप्त संस्थाबाट मन्त्रालय र मातहतका निकायले कमिसन उठाएको सूचना प्रमाणसहित दिएमा दोषीलाई २४ घण्टाभित्र कारबाही गरिने स्पष्ट पारे । मन्त्री अर्यालका अनुसार कतार, मलेसिया, युएई, साउदी अरब, दक्षिण कोरिया, बहराइन, कुवेत, ओमनमा श्रम ‘काउन्सेलर’ र श्रम सहचारी परिचालन गरिएको हो । श्रमिकको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि बढाइएको भन्दै जर्मनी र रोमानियासँग नयाँ श्रम सम्झौता भएको उनले उल्लेख गरे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको मागबमोजिमका तालिम सञ्चालन गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको स्थापना गरिने मन्त्री अर्यालले बताए । प्रदेश सरकारको साझेदारी र गन्तव्य मुलुकको सहयोगमा प्रदेशस्तरमा आवासीय सुविधासहितको आधुनिक प्रशिक्षण केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x