Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमजी ब्रान्डका विद्युतीय गाडीमा प्राविधिक समस्यै समस्या

एमजी ब्रान्डका विद्युतीय गाडीमा प्राविधिक समस्यै समस्या

सरकार र वितरक कम्पनी पारामाउन्ट मोटर्सको मिलेमतोको आशंका


काठमाडौं। विश्वका विभिन्न मुलुकमा गाडीभित्रको आन्तरिक गडबडीले आगलागी बढेपछि बिक्रीवितरण नै बन्द गरिएको एमजी कम्पनीका विद्युतीय गाडीमा नेपालमा थप समस्या देखिए पनि निर्बाधरूपमा बिक्रीवतरण भइरहेको छ । प्राविधिकरूपमा देखिएका समस्या समाधान नगरी बिक्रीवितरण गर्न दिँदा यसले आम नागरिकको जिउधनको क्षतिको जोखिम बढाएको छ ।

प्राविधिक समस्या देखा परेपछि परीक्षण गरेर जोखिम नभएका गाडी मात्र बिक्रीवितरण गर्नुपर्नेमा न त सरकारले वास्ता गरेको छ, न त नेपालमा एमजी ब्रान्डका गाडी बिक्री गर्ने कम्पनी पारामाउन्ट मोटर्स प्रालिले नै त्यसको लागि पहल गरेको छ । जतिसुकै प्राविधिक समस्या देखा परे पनि बेवास्ता गर्दै बिक्री गर्ने नीति पारामाउन्ट मोटर्सले लिएको छ । उक्त पारामाउन्ट मोटर्स नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको हो ।

नेपालमा पनि एमजी कम्पनीका विद्युतीय गाडीमा आगलागी भएर क्षति भइहरेको छ । तर, यसलाई त्यत्तिकै लुकाएर सामसुम पार्ने काम मुरारकाले गर्दैै आएका छन् । राजनीतिक पहुँचका कारण उनी प्राविधिक परीक्षणविनाका जोखिमयुक्त गाडी बिक्री गरिरहेका छन् ।

गत पुसमा बूढानीकण्ठस्थित देउवाचोकमा चार्जमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको एमजी कम्पनीको गाडीमा आफैं आगलागी भएको थियो । यस्तो समस्या एमजीका गाडीमा अन्य देशमा पनि देखा परेका थिए । तर, नेपालमा कानुन अभाव भन्दै त्यसको छानबिन हुनसकेको छैन । एउटा गाडीमा आगलागी भएपछि छानबिन नहुँदै एमजीकै अर्को कारमा समेत अर्को समस्या देखिएको छ गियरमा । ब्याक गियर लगाउँदा एक्कासि परिवर्तन भएर अगाडि गाडी बढ्ने समस्यासमेत देखिएको छ । यसले अर्को समस्या देखाएको छ ।

यही असार १८ गते मंगलवार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभलतर्फको भन्सार गेटनजिक बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको एमजी ब्रान्डको जेडएस भेरियन्टको कार ब्याक गर्ने क्रममा एकाएक रोक्नै नसक्ने गरी अगाडि बढेको थियो । ब्याक गर्दा अगाडि बढेर अर्को गाडीमा ठोक्किएको थियो । ठूलो आवाजका साथ ठोक्किँदासमेत गाडीमा भएको एयरब्याग खुलेको थिएन । एयरब्याग नखुल्दा कारमा सवार पूर्वरक्षामन्त्री भिमसेनदास प्रधानकी श्रीमती विद्या बनमाली प्रधान गम्भीर घाइते भएकी थिइन् । यसलाई प्राविधिकहरूले गम्भीर किसिमको समस्या भनेका छन् ।

सरकारले तोकेको भन्दा बढी मूल्यमा गाडी बिक्री गरेको भनेर आलोचना भइरहे पनि पारामान्उट मोटर्सले बेवास्ता गर्दै आएको छ । एजमी ब्रान्डको कारमा अन्य कारमा भन्दा चाँडो ब्रेकले काम नगर्ने पनि बताइएको छ । यद्यपि विद्युतीय गाडी नेपालमा आउन थालेको धेरै नभएको कारण एमजीका विद्युतीय गाडीमा पुरानो हुँदै जाँदा ब्रेकले कति काम गर्र्छ भन्नेबारेमा यकिन छैन । यद्यपि एमजीका पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा भने पुराना हुँदै गएपछि अन्य गाडीको तुलनामा ब्रेकले कम काम गर्नेगरेको छ ।

विश्वका अन्य मुलुकहरूमा आगलागी हुँदा वा दुर्घटना हुँदा नै सरकारले छानबिन गरेर गाडीको बिक्रीवितरण नै बन्द गराउँछ । तर, नेपालमा भने कानुन अभाव भन्दै प्राविधिक समस्याको विषयमा गुनासो आउँदा समेत छानबिन गर्न नसकिएको यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर सञ्जय कुमार थिङले बताए ।

देशमा कानुन अभावको मौका छोपेर पारामाउन्ट मोटर्सले फेरि माज्दा कार समेत ल्याएर बिक्री गर्न थालेको छ । यो माज्दा ब्रान्डको कार समेत विश्वका धेरै देशहरूमा फेल भएको कार हो । विश्वका बजारमा फेल भएका गाडी सरकारले नै ल्याउन बन्द गर्नुपर्ने थियो ।

देशभरका २१ सोरुममार्फत एमजी ब्रान्डका कारहरू बिक्री गरिरहेको पारामाउण्ट मोटर्सका कारहरूको प्राविधिक अध्ययनमा यस गाडीमा अन्य गाडीको तुलनामा अनावश्यक आवाज आउने, इन्जिन कराउने साथै, बारम्बार मिसफायरको आवाज आउने, समयमा नै एयरब्याग नखुल्ने र ब्रेक भनेकै समयमा नलाग्नेजस्ता समस्याहरू रहेको प्राविधिक रिपोर्ट उल्लेख छ ।

एमजी गाडीको यो दुर्घटना पहिलो भने होइन । यसअघि यही कम्पनीको गाडी अष्ट्रेलियाको सिड्नीस्थित एयरपोर्टमा पार्किङमा राखेको अवस्थामा अचानक विस्फोट भएपछि अष्ट्रेलियाको सरकारले उक्त कम्पनीको गाडीलाई तत्कालका लागि बिक्रीवितरण गर्न रोक लगाएको थियो । अष्ट्रेलियन सरकारले एमजीको गाडीमा ब्याट्रीको गम्भीर समस्या रहेको भन्दै प्रश्न उठाएको थियो ।

यस्तै एमजीका गाडीहरू छिमेकी देश भारतमा समेत चलिरहेकै बखत, पार्किङमा राखिएको समय र चार्जिङमा राखिएको समयमा बिस्फोट भएसँगै यस गाडीको बिक्री बन्द गर्नुपर्ने आवाज उठाएको थियो । पारामाउन्ट मोटर्स प्रालिका सीईओ सचिन अर्यालसँग आर्थिक दैनिकले जिज्ञासा राख्दा उनले आफूहरूले राम्रा गाडीहरू ल्याएर बिक्री गरिरहेकोले त्यस्तो समस्याको विषयमा कम्पनीले केही गर्न आवश्यक नरहेको बताए ।

उनले समस्या नरहेको बताए पनि सरकारी अधिकारीहरू र पारामाउन्ट मोटर्सको उच्च नेतृत्वबीचको मिलेमतोमा प्राविधिकरूपमा कमजोर र जोखिमयुक्त गाडीहरू नेपालमा निर्बाध बिक्री भइरहेको आशंका गरिएको छ ।

कार दुर्घटना लगत्तै देखिएको दृश्य (भिडियो)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x