काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा नदी तथा खोलामा जलसतह बढेको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएर जनजीवन प्रभावित भएको छ । पहाडी क्षेत्रका केही ठाउँमा पहिरोले क्षति पुगेको छ ।
शनिबार साँझसम्म बाढी, पहिरो र डुवानमा परी आठ जनाको मृत्यु भएको छ । छ जना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन् । विपत्मा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौंमा एक र काभ्रेमा दुई जनाको मृत्यु भएको छ । दाङमा दुई जना, तनहुँमा तीन जाना, दोलखामा एक जना गरी छ जना बेपत्ता भएका छन् भने तनहुँ, गुल्मी र ओखलढुंगामा गरेर सात जना घाइते भएको प्रहरीले जनाएको छ ।
कैयौँ ठाउँमा घर, सडक, पुललगायत धनजनमा क्षति पुगेको छ । काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ । शनिबार सडकमा पानी जमेर आवागमन प्रभावित भएको थियो ।
काठमाडौंमा वाग्मती नदीको कुपन्डोल क्षेत्रभन्दा तलको भाग बल्खुसम्म बस्ती डुवानमा परेको छ । उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शंखमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्र जोखिमयुक्त बनेको छ ।
भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ५६ जनाको उद्दार गरिएको छ । त्यस क्षेत्रमा मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको हो । भक्तपुरका विभिन्न स्थानमा रहेका अस्पताल, विद्यालयलगायत बस्तीमा पानी पसेपछि जनजीवन प्रभावित भएको छ । मकवानपुरको हेटौंडामा पनि २५ भन्दा धेरै घर डुवानमा परेका छन् ।
देशभर ४५ भन्दा बढी क्षेत्रमा सडक आवागमन अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । यसैगरी कोशी, नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ । नारायणीको जलसतह बढेर आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा पसेको छ । गैँडाकोटमा चार सयभन्दा बढी प्रभावित भएका छन् । बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव परेको छ । बाँकेमा राप्ती नदीले खतराको तह पार गरेको छ । शनिबार अपराह्न साढे चार बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको थियो ।
लगातारको वर्षाका कारण सेती नदीमा पानीको सतह बढेपछि पोखराको गोष्टि बस्ती जोखिममा परेको छ । वर्षाका कारण पृथ्वी राजमार्ग, पोखरा–बाग्लुङ राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु समस्यामा परेका छन् । बागलुङ–बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको छ ।
बाढीका कारण विद्युत् उत्पादन गृहहरू पनि प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृहरू बन्द भएका छन् । जल तथा मौसम विज्ञान विभागले कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एक÷दुई स्थानमा आइतबार भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि भारी वर्षाको सम्भावना रहेको जनाएकोे छ ।
विभागले भारी वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया