Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२७ अर्ब नाघ्यो बैंकहरूको गैरबैंकिङ सम्पत्ति

२७ अर्ब नाघ्यो बैंकहरूको गैरबैंकिङ सम्पत्ति


बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा उच्चरूपमा बढेपछि यसको असर गैरबैंकिङ सम्पत्तिमा परेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जाको अनुपात बढ्दै जाँदा गैरबैंकिङ सम्पत्ति पनि बढ्दै गएको छ । यस आर्थिक वर्षको १० महिनासम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जा तीन दशमलव ९८ प्रतिशत छ । बैंकहरूसँग अहिले २७ अर्ब ६० करोड १० लाख रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ अर्ब ८२ करोड ३० लाख रूपैयाँले बढी हो । गतवर्ष औसत तीन दशमलव ३४ प्रतिशत कर्जा निष्क्रिय हुँदा गैरबैंकिङ सम्पत्ति दायित्व १५ अर्ब ७७ करोड ८० लाख रूपैयाँ थियो ।

वाणिज्य बैंकहरूसँग मात्र गैरबैंकिङ सम्पत्ति दायित्व २३ अर्ब ७४ करोड ६० लाख रूपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० अर्ब ५५ करोड ३० लाख रूपैयाँले बढी हो । एक वर्षअघि वाणिज्य बैंकहरूसँग १३ अर्ब १९ करोड २० लाख रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो । उक्त अवधिमा तीन दशमलव २३ प्रतिशत निष्क्रिय कर्जा थियो । अहिले वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढेर तीन दशमलव ८९ प्रतिशत पुगेको छ । विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । हाल विकास बैंकहरूमा तीन दशमलव ६३ प्रतिशत निष्क्रिय कर्जा छ । यस्तै गैरबैंकिङ सम्पत्ति दायित्व दुई अर्ब ५१ करोड १० लाख रूपैयाँ छ । जुन एक वर्षअघिको तुलनामा ७१ करोड ८० लाख रूपैयाँ बढी हो । एक वर्षअघि २०८० वैशाख मसान्तमा विकास बैंकहरूको निष्क्रिय कर्जा तीन दशमलव ४० प्रतिशत र गैरबैंकिङ सम्पत्ति एक अर्ब ७९ करोड ३० लाख रूपैयाँ थियो ।

फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । गत वैशाख मसान्तसम्म फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा १० दशमलव ४० प्रतिशत र गैरबैंकिङ सम्पत्ति एक अर्ब ३४ करोड ५० लाख रूपैयाँ पुगेको छ । एक वर्षअघिको तुलनामा फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति ५५ करोड २० लाख रूपैयाँले बढेको छ । गतवर्ष वैशाख मसान्तमा फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा अआठ दशमलव १९ प्रतिशत र गैरबैंकिङ सम्पत्ति ७९ करोड ३० लाख रूपैयाँ थियो ।अर्थतन्त्रमा सुस्त बनेपछि बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जा उठ्न नसक्दा गैरबैंकिङ सम्पत्ति बढेको हो । अर्थतन्त्रमा देखिएको शिथिलतासँगै ऋणीले कर्जाको सावाँब्याज तिर्नसक्ने क्षमतामा कमी आएको छ ।

नियमितरूपमा कर्जाको सावाँब्याज नआएपछि बैंकहरूले नियमसङ्गत धितोको रूपमा रहेको सम्पत्तिलाई लिलामीको प्रक्रियामा लैजाने गर्छन् । तर, पटक–पटक लिलामीको सूचना जारी गर्दा पनि धितो लिलाम हुन नसकेको अवस्थामा त्यस्तो सम्पत्तिलाई कर्जाबापतको रकम प्रोभिजन गरेर गैरबैंकिङ सम्पत्तिको रूपमा आफैँले सकार गर्नुपर्छ । यस्तो सम्पत्ति स्वप्रयोजनको लागि बाहेक अन्य अवस्थामा बैंकहरूले निश्चित समयभित्र पुनः बोलकबोलमार्फत बिक्री गरेर नगदमा रूपान्तरण गर्नुपर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x