Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसिटी पार्टी प्यालेसको कर छलीबारे राजस्वद्वारा अनुसन्धान सुरु

सिटी पार्टी प्यालेसको कर छलीबारे राजस्वद्वारा अनुसन्धान सुरु


विराटनगर । अन्तर्राष्ट्रियस्तरको पार्टी प्यालेस आफूले सञ्चालनमा ल्याएको दाबी गर्ने राठी ग्रुपले आन्तरिक राजस्वमा व्यापक कर छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ।

मोरङ–सुनसरी औद्योगिक करिडोरमा लामो समयसम्म बाबा बिस्कुट उद्योगका नाममा उद्योग सञ्चालन गर्दैआएको विराटनगरको राठी ग्रुपले केही वर्षदेखि सिटी पार्टी प्यालेस सञ्चालन गर्दै आएको छ । आफ्नै अक्षताका कारण सबै उद्योग बन्द गराएर सो ग्रुपले पार्टी प्यालेस सञ्चालन गर्न थालेको जानकारहरुले बताएका छन् । केही वर्षयतादेखि उक्त ग्रुपले सुनसरी मोरङ औद्योगिक करिडोरमा नै दुई उद्योगहरु बाबा पेपर उद्योग भाडामा दिएका छन् भने सनराइज पेपर मिल्स आफैँ सञ्चालन गर्दै आएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका खनारमा रहेको सनराइज पेपर मिल पनि राजस्व छलीको आशंका गर्दै राजस्वले छानबिन गरिरहेको राजस्व स्रोतहरुले जानकारी दिएका छन् । यसरी उद्योग व्यवसायको क्षेत्रबाटै पलायन हुनलागेको अवस्थामा पुगेको राठी ग्रुपले पछिल्लो एक वर्षदेखि सिटी पार्टी प्यालेस सञ्चालन गरेपछि पारिवारिक अवस्थामा केही राहत दिएको जानकाहरुले बताएका छन् । तर अहिले फेरि सिटी पार्टी प्यालेस सञ्चालनमा ल्याएपछि सरकारलाई बुझाउनुपर्ने मूअकरदेखि आयकर समेतमा छली गरेको उजुरी परेपछि राजस्वले छानविन थालेको छ ।

बाबा ग्रुपमा बाबुछोरा भगवानदास राठी, विनितकुमार राठी र पवन राठी संलग्न छन् । उनीहरुले बाबा विस्कुट सञ्चालन गर्न नसकेपछि पछिल्लो केही वर्षदेखि बाबा पेपर मिल्स भाडामा दिएर सनराइज पेपर मिल्स सञ्चालन गर्दै आएका थिए । सनराइज पेपर मिल्स पनि लामो समयदेखि निरन्तर घाटामा सञ्चालन हुुँदै आएपछि उनीहरु राजस्व छलीमा समेत मुछिएका थिए । पछिल्लो समय सिटी पार्टी प्यालेस सञ्चालनमा ल्याए पनि उनीहरु महानगरबाट नक्सा पास नगरी सञ्चालनमा ल्याएको विषयमा विवादमा परेका थिए ।

आन्तरिक राजस्व कार्यालयको अडिट फाँटका केही कर अधिकृतहरुले भने सूक्ष्म रुपमा पार्टी प्यालेस सञ्चालनको प्रक्रिया र राजस्व दाखिलाको विषयमा अध्ययन भइरहेको जानकारी दिएका छन् । बाबा पेपर र सनराइज पेपरको राजस्व दाखिला त्यति सन्तोषजनक नभएको हुँदा यति ठस्लो लगानीमा यो पार्टी प्यालेस सञ्चालन भएको र उक्त पार्टी प्यालेसको सञ्चालन विधि र प्रक्रियाका विषय अध्ययन र अनुसन्धानको क्रममा रहेको भन्ने अमिल्दो जवाफ आराकाका जिम्मेवार कर्मचारीले दिन थालेका छन् । अहिलेसम्मको अवस्था हेर्दा उक्त पार्टी प्यालेस निर्माण गर्न सञ्चालकले दुई अर्बभन्दा बढी नै खर्च गरेको अनुमान गरिएको छ ।

विराटनगरसहित छिमेकी मुलुक भारततर्फका उच्च वर्ग विवाह, वैवाहिक वार्षिकोत्सवलगायतका समारोह गर्न देशबाहिर जाने चलन बढेकाले त्यस्ता उच्च वर्गलाई लक्षित गरेर सिटी प्यालेस सञ्चालनमा ल्याउने काम राम्रो भए पनि सञ्चालनलाई पारदर्शी बनाउन जरुरी रहेको स्थानीय सरोकारवालाले बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को अन्तिम अर्थात् असार मसान्तमा आएर पार्टी प्यालेसले बुझाउने राजस्वको स्पष्टता हुुँदाहुुँदै आन्तरिक राजस्व कार्यालयको अडिट फाँटबाट अध्ययन अनुसन्धानका नाममा सिटी प्यालेसलाई उन्मुक्ति दिने योजना रहेको पनि कतिपयले दाबी गरेका छन् ।

स्रोतका अनुसार उक्त सिटी प्यालेसको सम्पूर्ण संरचनाको सेवा लिनेले सरकारी करसहित पाँच लाख रुपैयाँको रेट राखेको छ । उक्त पार्टी प्यालेसमा उपभोक्ताले भने सञ्चालकले दाबी गरेअनुसार नभई पार्टी प्यालेस प्रयोग गरेबापत १० लाख रकम बुझाउने गरेका छन् । यसले गर्दा पार्टी प्यालेसभित्रको आर्थिक पक्ष नै विवादित बन्न पुगेको छ । उक्त पार्टी प्यालेसमा ४१ वटा रुम रहेका छन् । सुइट रुम र सुपर डिलक्स रुम भनेर सञ्चालकले अलग्गै थप चार्ज लिनेगरेको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x