Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखुम्चियो आर्थिक वृद्धिदर

खुम्चियो आर्थिक वृद्धिदर


आर्थिक वर्ष २०८०÷८१ को तेस्रोे त्रैमासमा दुई दशमलव दुई प्रतिशत आर्थिक वृद्धिदर हासिल हुनेभएको छ । जुन दोस्रोे त्रैमासको तुलनामा एक दशमलव छ प्रतिशत विन्दुले कम हो । दोस्रोे त्रैमासमा तीन दशमलव आठ प्रतिशत आर्थिक वृद्धि भएको अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ । १८ वटा औद्योगिक क्षेत्रहरूमध्ये छवटा क्षेत्रमा सङ्कुचन आउँदा कुल गार्हस्थ्य उत्पादनमा प्रभाव परेकाले अर्थतन्त्रमा वृद्धिदर कम भएको देखिन्छ । यद्यपि तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर धनात्मक हुनुमा गहुँ, आलु, नगदे बाली तथा फलफूल उत्पादनमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धि, होटल क्षेत्रको कुल मूल्य अभिवृद्धि प्रमुख कारण हुन् । निर्माण, उद्योग, व्यापार, खानी तथा उत्खननबाहेकका अन्य क्षेत्रहरू धनात्मक वृद्धि भएकाले अर्थतन्त्रमा सकारात्मक आशा भने देखिएको छ ।मौसमी प्रभावलाई समेत समायोजित गर्ने होे भने कुल गार्हस्थ्य उत्पादनको आधारभूत मूल्यमा केही वृद्धि हने तथ्याङ्क कार्यालयले उल्लेख गरेको छ । यस्तो वृद्धि आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा शून्य दशमलव आठ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दोस्रो त्रैमासिक अवधिको तुलनामा तेस्रो त्रैमासिक अवधिमा कुल १८ वटा क्षेत्रमध्ये छवटा औद्योगिक क्षेत्रहरूमा आएको सङ्कुचनको प्रभाव समग्र कुल गार्हस्थ्य उत्पादनमा देखिएको छ । यही कारण अर्थतन्त्रमा सामान्य वृद्धि देखिएको हो । आर्थिक वर्ष २०७९÷८०को दोस्रो, तेस्रो र गत आर्थिक वर्षको पहिलो र दोस्रोको तुलनामा तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिएको देखिन्छ । आर्थिक वृद्धिदर पहिलो त्रैमासमा तीन प्रतिशत र दोस्रो त्रैमासमा तीन दशमलव आठ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको थियो । कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा धेरै औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धिदर धनात्मक रहँदा मुलुकको अर्थतन्त्र सकारात्मक देखिएको हो । आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १४ वटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक छ । जसमध्ये विद्युत् तथा ग्यास उद्योगसँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै ३७ दशमलव एक प्रतिशत रहेको छ भने आवास तथा भोजन सेवाको १९ दशमलव एक प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ । यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै यातायात तथा भण्डारण क्षेत्रले १५ प्रतिशत वृद्धिदर कायम गरेको छ ।

त्यसैगरी अन्य सेवाका क्रियाकलापहरू (कला, मनोरञ्जनलगायतका क्रियाकलापहरू)को वृद्धिदर आठ दशमलव तीन प्रतिशत भएको देखिन्छ । यसका साथै निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा सेवाको वृद्धिदर छ दशमलव एक प्रतिशत भएको देखिन्छ ।अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गहुँ, आलु, नगदे बाली तथा फलफूल उत्पादनमा भएको वृद्धिले यसको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको हो । त्यसपछि क्रमशः शिक्षा पाँच दशमलव तीन प्रतिशत, मानव स्वास्थ्य र सामाजिक कार्य पाँच दशमलव तीन प्रतिशत, नागरिक प्रशासन र सामाजिक सुरक्षा चार दशमलव सात प्रतिशत, व्यावसायिक, प्रशासनिक र सहयोग सेवा क्रियाकलाप चार दशमलव दुई प्रतिशत, वैज्ञानिक र प्राविधिक क्रियाकलाप चार दशमलव दुई प्रतिशत, घरजग्गा तीन प्रतिशत, सूचना तथा सञ्चार एक दशमलव पाँच प्रतिशत र पानी सप्लाई शून्य दशमलव चार प्रतिशतको प्रारम्भिक अनुमान गरिएको छ ।

अर्कोतर्फ यो त्रैमासिकमा निर्माण, खानी तथा उत्खनन, व्यापार तथा औद्योगिक वस्तु उत्पादन, उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक रहनगएको छ । सबैभन्दा बढी ऋणात्मक निर्माण ११ दशमलव दुई प्रतिशतले ऋणात्मक हुनपुगेको छ भने त्यसपछि क्रमशः खानी तथा उत्खनन माइनस चार दशमलव आठ प्रतिशत, होलसेल तथा खुद्रा व्यापार र सवारीसाधन पुनर्निर्माण माइनस दुई दशमलव सात प्रतिशत र उत्पादन माइनस दुई प्रतिशतले ऋणत्मक हुनपुगेको हो । यी क्षेत्रहरूमा आर्थिकजन्य क्रियाकलाप बढ्न नसकेको पाइन्छ । औद्योगिक क्षेत्रको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर कहिले बढ्ने, कहिले घट्ने गर्दा मुलुकको अर्थतन्त्र वृद्धिले एउटै दिशा तय गर्न नसकेको कार्यालयका अधिकारीहरू बताउँछन् ।

विभिन्न क्षेत्रको आर्थिक वृद्धिदरलाई मौसमी प्रभाव समायोजितअनुरूप समेत प्रभावित भएको पाइन्छ । मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासिक अवधि ( कात्तिक, मंसिर र पुस)को तुलनामा तेस्रो त्रैमासिक अवधि (माघ, फाल्गुन र चैत्र)को प्रारम्भिक अनुमानअनुसार कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये १२ वटा उत्पादन बढेको देखिन्छ भने छवटा उद्योगको उत्पादनमा घटेको देखिन्छ भने समग्र अर्थतन्त्रको वृद्धिदर शून्य दशमलव आठ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।वित्तीय तथा बीमा सेवाको सबैभन्दा बढी आठ दशमलव तीन प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । यो क्षेत्रलाई पछ्याउँदै कला, मनोरञ्जनलगायतका क्रियाकलापहरूको वृद्धिदर दुई दशमलव पाँच प्रतिशत रहने अनुमान गरिएको छ ।

न्य सेवा दुई दशमलव पाँच प्रतिशत, होलसेल तथा खुद्रा व्यापार र सवारीसाधन पुनर्निर्माण दुई दशमलव दुई प्रतिशत, मानव स्वास्थ्य र सामाजिक कार्य दुई दशमलव तीन प्रतिशत, आवास तथा भोजन दुई प्रतिशत, व्यावसायिक, वैज्ञानिक र प्राविधिक क्रियाकलाप एक दशमलव सात प्रतिशत, प्रशासनिक र सहयोग सेवा क्रियाकलाप एक दशमलव पाँच प्रतिशत, नागरिक प्रशासन र सामाजिक सुरक्षा एक दशमलव छ प्रतिशत, उत्पादन एक दशमलव चार प्रतिशत, घरजग्गा शून्य दशमलव सात प्रतिशत, पानी सप्लाई शून्य दशमलव चार प्रतिशत, शिक्षा शून्य दशमलव तीन प्रतिशत रहेन अनुमान गरिएको छ । यो अवधिमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ऋणात्मक शून्य दशमलव चार प्रतिशत हुने अनुमान रहेको छ भने ऋणात्मक वृद्धि हुने कुल छवटा औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा धेरै खानी तथा उत्खननको ऋणात्मक वृद्धिदर छ दशमलव छ प्रतिशत रहेको छ । कृषि, वन तथा मत्स्य र खानी तथा उत्खननपछि ऋणात्मक वृद्धिदर हुने क्षेत्रमा सूचना तथा सञ्चार एक प्रतिशत, निर्माण माइनस शून्य दशमलव आठ प्रतिशत, विद्युत् ग्यास शून्य दशमलव पाँच प्रतिशत र यातायात र भण्डारण शून्य दशमलव दुई प्रतिशत रहेन अनुमान गरिएको छ ।


क्याटेगोरी : बिबिध, बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x