Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफरक मतचौथो शक्ति रास्वपामाथि भ्रष्टाचारका भारी नै भारी

चौथो शक्ति रास्वपामाथि भ्रष्टाचारका भारी नै भारी


देशमा कायम रहेको व्यापक भ्रष्टाचारको उन्मुलन र सुशासन कायम गर्ने भन्दै खडा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको छोटो समयमै भ्रष्टाचारका भारी नै भारीले थिचिन थालेको देखिँदै छ । यो नयाँ दल खासगरी भ्रष्टाचारका सन्दर्भमा पुरानाभन्दा पोख्त रहेछ भन्ने अवस्था आएको छ । खडा भएको छोटो समयमा नै संसद्को चौथो शक्तिका रूपमा उदाएको यो दल सुरुमै मन्त्री बनाउन दुई करोडको घुसकाण्डमा मुछियो । त्यो विषय किनारा नलाग्दै यसका सभापतिको दोहोरो नागरिकता र राहदानीको अर्को काण्ड प्रकट भयो । त्यसको पनि निक्र्याेल नहँुदै झण्डै अर्बकै हाराहारीमा गरिएको सहकारी ठगीको अर्को आरोप लाग्यो, जसमाथि यतिबेला संसदीय छानबिन चलिरहेको छ ।

पछिल्लो पटक मानव तस्करीको अर्को काण्ड थपिएको छ । यो दलका तर्फबाट उपसभामुख बनेकी इन्दिरा रानाले अनधिकृत तरिकाबाट मानिसहरूलाई अमेरिका पठाउन गरेको पहलका कागजपत्रहरू सार्वजनिक भएपछि यो काण्ड सतहमा आएको हो । केही पहिले अपरिचत पाँच जना व्यक्तिलाई आफ्नो सहयोगी बनाएर अमेरिका लाने क्रममा उपसभामुखले अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि मानव तस्करीको अर्को भारी थपिएको हो ।

केही दिनअघिमा त्रै यो दलका महामन्त्रीले नै दलका नाममा आउने आर्थिक सहयोग चन्दा र लेबी आदिको रकम उपसभापति डीपी अर्यालले आफ्नो व्यक्तिगत ऋण तिर्न प्रयोग गर्नेगरेको भनी सार्वजनिकरूपमा जानकारी गराएका थिए । मन्त्री बनाउन नेताहरूले घुस मागेको देखि सभापतिबाट सहकारी ठगी र उपसभापतिबाट आर्थिक अपचलन भएको भनी लागेको सार्वजनिक आरोपदेखि ठूलो रकम लिएर उपसभामुखस्तरको पदाधिकारीबाट मानव तस्करी गर्न लागिएका भ्रष्टाचारका यति गम्भीर विषय सार्वजनिक भइरहँदा पनि यो दलले आफ्ना तर्फबाट कुनै छानबिन गरेको छैन । उल्लिखित आरोप यस्ता हुन् जसले फैजदारी कसुर सावित गर्छन् । यी काण्डहरूमध्येमा एक जना सांसदले आफूलाई मन्त्री बनाउन दलको ‘कोर टिम’ले दुईदेखि अढाइ करोड रुपैयाँ मागेको भनी अरु कसैसँग आफूलाई उक्त रकम दिन र त्यसबापत मन्त्री भएपछि जे पनि गरिदिने भनी गरिएको टेपवार्ता सार्वजनिक भयो । त्यसबापत ती सदस्य दलबाट हटाइए । तर, मन्त्री बनाइदिएबापत यति ठूलो रकम माग्ने त्यो कोर टिमबारे सामान्य छनबिन समेत भएको छैन ।

यी सबै चलिरहेकै बेला अहिलेसम्मकै पछिल्लो घटनका रूपमा यो दलकी समानुपातिक सांसद तथा उपसभामुखले ठूलो रकम लिएर मानव तस्करी गर्न खोजेको कुरा सार्वजनिक भएको छ । यो ठाउँसम्म आइपुग्दा एकपछि अर्को गर्दै यस्ता काण्डहरूको थुप्रो नै लाग्न थालेको देखिन्छ । तर, यता यो दल आफैँले कतै पनि छानबिन गरेको छैन । बरु आफ्नो दल धेरै लोकप्रिय भएको कारण यसलाई सिध्याउन अफवाह फैलाइएको भनेर पन्छाइने गरिएको छ । काण्डहरू भने जस्ता रूपले प्रकट भइरहेका छन् ती सामान्य होइनन् । राज्यको कानुनअनुसार हुने हो भने ती गम्भीर प्रकृतिका र त्यहीरूपले दण्डित हुनुपर्ने देखिन्छन् ।

आम निर्वाचनलगत्तै पछिको गठबन्धनमा रास्वपा सरकारमा जाने भयो । त्यहीबेला यसका एक सांसदले मन्त्री हुनुपहिले नै मन्त्री भएपछि आफूले यस्तो सहयोग गरिदिने भनेर कुनै व्यक्तिसँग अढाइ करोड हाराहारीमा घुस मागेको टेपवार्ता नै सार्वजनिक भयो । त्यसमा दलका उच्चस्तरका नेताको पनि संलग्नता रहेको भनी जनाइएको थियो (हेरौँ टेपवार्ताको अंश) । तर सम्बन्धित एक जना व्यक्तिलाई पार्टीबाट निलम्बन गर्नुबाहेक अरु कसैमाथि सामान्य छानबिनसमेत भएन । यी सांसदमाथि पनि घुस मागेको तर लेनदेन नभएको भनेर छानबिनका लागि राज्यका निकायमा सुम्पिइएन । अर्थात् अरू पनि पर्ने देखिएपछि सामसुम पारियो ।

यही क्रममा अहिले उपसभामुखबाट अनधिकृतरूपमा पत्रः लेखेर अमेरिका लैजाने भन्दै ठूलो अङ्कमा रकम उठाएर भिषाका लागि आफ्नै लेटरप्याडमा अमेरिकी दूतावासमा पत्राचार गरिएको पत्र नै सार्वजनिक भएको छ । यो विषयलाई पनि रास्वपाले ‘सामान्य’ भनेर पन्छायो । जानकारहरूमा अनुसार यो विषयमा दलमा सो प्रयोजनका लागि ठूलो धनराशी लिइएका तर काम नहुँदा पनि फिर्ता नगरिएको भनेर उजुरी नै परेको थियो । पछि पैसा फिर्ता भएको भनेर सामसुम पारियो । अमेरिकामा मान्छे पठाउन खोजेको भनेर आरोप लागेको रास्वापाको समानुपातिक सांसद रानाले धारण गरेको उपसभामुख त्यस्तो पद हो जो देशको सबैभन्दा ठूलो संवैधानिक परिषद्को पनि सदस्य हुन्छन् । यस्तो हैसियतबाट गर्न लागिएको मानव तस्करीजस्तो जघन्य अपराधमा सिङ्गो दल मौन बस्नु आफैँमा सामान्य होइन । यी उपसभामुखबाट अमेरिकी दूतावासलाई भिषाका विषयमा लेखिएको पत्र उनको लेटरप्याड र हस्ताक्षर थियो ।

राष्ट्र संघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’को ६७औँ सत्रमा भाग लिन जाने क्रममा उनले यो विषयसँग कुनै साइनो नभएका चार पुरुष र १ महिलालाई सँगै लैजान अमेरिकी दूतावासमा पत्राचार गरेको कुरा यतिबेला संसद्मा समेत प्रवेश भइसकको छ । यो कार्यक्रममा आफूसँगै अन्य पाँच जना लानका लागि भिषामा सहजीकरण गरिदिन भनेर लेखिएको पत्रमा उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्तीमगर र धनप्रसाद गुरुङको नाम थियो । यी व्यक्ति संसद् सचिवालय र सम्बन्धित कार्यक्रमसँग कुनै सरोकार राख्ने व्यक्ति होइनन् । पछिल्लो पटक सार्वजनिक भएका विवरणअनुसार यो कुरा दललाई थाहा थियो । रास्वपाका संगठन सचिवका अनुसार ‘नुवाकोटको एक गाउँपालिकाका पार्टी सभापतिमार्फत उपसभामुखको विषयमा जानकारी आएको थियो । त्यतिबेला महामन्त्री मुकुल ढकाल र उपसभापति डीपी अर्यालले बुझ्नुभयो । यता, उपसभामुखले त्यस्तो पत्र लेखेको छैन भन्नुभएको कुरा आयो । तर, गृहमन्त्री (रवि लामिछाने) मार्फत अध्यागमनमा पनि सोधियो । त्यहाँ लेखिएका मान्छे कोही पनि बाहिर गएका छैनन् भन्ने थाहा भएपछि इलामको चुनावमा हान्न खोजेको रहेछ भन्ने हिसाबले बुझ्यौँ । तर, अमेरिका जान नपाएको र पैसा पनि डुबेको भन्दै पार्टीमा गुनासो आएको थियो । मेरो आफन्तको पैसा हो, पैसा लिएको छ, फिर्ता गरेन, झुलायो भन्ने हिसाबले कुरा आयो । पछि कुरा मिल्यो भन्ने आयो, पैसा फिर्ता भयो होला भनेर हामीले चासो राखेनौँ ।’

संगठन सचिवको यो भनाइले यो प्रकरणमा पैसाको लेनदेन भएको देखाउँछ । तर रास्वपाका सचेतकका अनुसार ‘दूतावासमा अन्तर्वार्ताको समय पाउन मुस्किल हुन्छ । अन्तरवार्ताको समय पाउँदासम्म कार्यक्रम नै सकिन्छ, त्यही भएर मानवीयताका हिसाबले उहाँले समय मिलाइदिन पत्र लेख्नुभएको रहेछ । जसका लागि पत्र लेखिएको थियो, ती मान्छे गएका पनि छैनन्, सानो विषयलाई लिएर राजनीतिक प्रतिशोध साध्ने काम भयो जस्तो देखिन्छ । यस्तो कुरालाई पनि ठूलो राजनीतिक इस्यु बनाएर राजनीतिक स्वार्थ साध्ने काम गरिन्छ भने रास्वपालाई स्वीकार्य हुँदैन ।’

यसको अर्थ हो यो घटनामा रास्वपाले खोट देखेन । तर सार्वजनिक भएका कागजपत्रहरू भने खोटको प्रमाणका रूपमा छरपस्ट भइसकेका छन् ।
उल्लिखित पाँच जनाका बारे सिफारिस पत्रमा लेखिएको छ ‘म आउँदो ६ मार्चदेखि १७ मार्चसम्म अमेरिकाको न्यूयोर्कमा आयोजना हुने एनजीओ सीएसडब्लू ६७ फोरममा जान लागिरहेकी छु उक्त कार्यक्रमको अतिव्यस्त तालिकाका कारण म आफ्नो टिमका सदस्य, सांसद र सहयोगीहरू सबै जनाको अन्तरवार्ता एकैदिन मिलाइन दिन पनि अनुरोध गर्न चाहन्छु ।’

साढे दुई करोडको घुस वार्ता अंश
दुर्गा प्रसाईँ : खासमा कुरा के हो डाक्टर सा’प, मलाई भन्नु त ?
ढाकाप्रसाद श्रेष्ठ : स्वास्थ्य हामीले पाउने भयौँ । कोर टिम छ । पार्टीलाई अलिकति सहयोग गर भनेका छन् । मेरो पक्का भयो । मैले आज फिक्स पनि गर्नु छ । म आर्थिकमा साह्रै छैन । मन्त्री पनि बन्नुपर्यो । स्वास्थ्य क्षेत्र सुधार पनि गर्नुपर्यो । यसमा तपाईँहरूको सहयोग चाहिन्छ ।
प्रसाईँ :अच्छा, मैले त्यो कुरा बुझेँ । सल्लाह गरेर अगाडि बढौँला । मैले एउटा कुरा भन्न खोजेको । ह्वाट्सएपमा छौँ, मतलब भएन । मुकुलहरूले त स्वास्थ्य र शिक्षा नलिने भन्थे त ?
श्रेष्ठ : स्वास्थ्य, शिक्षा मुकुलजीलाई त्यत्ति थाहा छैन । आन्तरिक कुरा हो । उहाँ कोर टिममा हुनुहुन्न । महामन्त्री नै हो । तपाईँलाई आन्तरिक कुरा गर्नुपर्दा हो । दुई–तीन जना छुट्टै हुनुहुन्छ । पार्टीलाई छुट्टै सहयोग गर्ने, रविजीलाई पहिलादेखि नै सहयोग गर्ने । त्यो टिमबाट मलाई पुर्योएको । आज मैले फिक्स गर्नुपर्छ । उधारो हुन्न भन्छन् फेरि ।
प्रसाईँ : क्यास अढाइ करोडको कुरो आयो, दुई करोड ?
श्रेष्ठ : दुई साढे दुई भनेका छन् । आज एक दिएँ भने पनि मान्छन् होला ।
प्रसाईँ : आज बन्द छ । सुन्नोस् है कुरा । बैंकबाट नौ लाख ९९ हजारभन्दा बढीको चेक साटिँदैन । सुन्नोस् कुरा । एक टाइम राखेमा म दिन्छु । तपाईँले भनिहाल्नुभयो, म सहयोग गर्छु । मलाई पनि सहयोग गर्नुपर्छ ।
प्रसाईँ : एकछिन एकछिन । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ । म हजुरबुबासँगै काठमाडौं आउँछु । तपाईँं र म भेटौँला । म गर्छु के । तपाईँले भनेको दुई म आएर गरौँला । अलिकति टाइम लाग्छ । पैसा मिलाएर निकाल्नुपर्छ । बैंकले पूरै सिस्टम खोज्छ । भ्वाक–भ्वाक बाकसमा पैसा लिएर गाह्रो छ । आजको आज नेपालमा कसैले पैसा दिन सक्दैन ।
श्रेष्ठ : त्यही त समस्या छ त ।
प्रसाईँ : हिजो पुस मसान्त, बैंकको ब्याज बुझाएँ ।
श्रेष्ठ : तपाईँलाई पनि गाह्रो छ । विचरा ।
प्रसाईँ : गाह्रो छ नि । हिजो पुस मसान्तमा ब्याज बुझाएँ । स्वास्थ्य बीमाको १५ करोड अढाइ वर्षदेखि दिएको छैन ।
श्रेष्ठ : बीमा पनि १२ अर्बको लगानी हुँदोरहेछ । बीमा पनि सबैमा लागू गर्नुपर्छ ।
प्रसाईँ : बीमा कसरी लागू गर्ने म भनिदिन्छु तपाईँलाई । तपाईँ के कुरा ग्यारेन्टी गर्नुहोस् भने मैले दुई करोड दिने भए तपाईँलाई । यो पैसा तपाईँले पनि भोलि–पर्सि रविलाई त दिने होला ?
श्रेष्ठः अँ मैले रवि सरलाई भन्दा पनि रवि सर देखापर्नुभएको छैन । बाहिरका दुई–तीन जना साथीहरू हुनुहुन्छ । पार्टीमा जान्छ भनेका छन् ।
प्रसाईँ : यी सबै कमाउने त हुन् भाइ ।
श्रेष्ठ : पार्टीमा जान्छ कि जाँदैन, मलाई थाहा छैन । मैले सोचेको छैन । पार्टी कमजोर छ । सुरुवाती छ भनेका छन् । साह्रै गाह्रो भएको छ भनेका छन् ।
प्रसाईँ : ल सर ठीकै छ । म एक–दुई दिनमा आउँछु । दाजुभाइ भेटौँला नि । म दिन्छु भनेर ग्यारेन्टी गर्नुहोस् । मलाई अलिकति टाइम चाहियो भन्नुहोस् ।
श्रेष्ठ : म त्यही कुरा गर्छु । हजुर भोलि आउनुहुन्छ ?
प्रसाईँ : हजुरबुबा आउने भएर बसेको हुँ । भोलि आउँछु । है डाक्टर साप ।
श्रेष्ठः हस् हस् ।
प्रसाईँ : हस् । तपाईँलाई मैले दुई करोड दिन्छु । तपाईँलाई सजिलो बाटो देखाइदिन्छु ।


क्याटेगोरी : समाचार, फरक मत
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x