Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसौर्य एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु

सौर्य एयरलाइन्सको विमान दुर्घटना, १८ जनाको मृत्यु


काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटना भएको छ । सो दुर्घटना परी विमानमा सवार १८ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट पोखराका लागि उडान भरेको केही समयमै दाहिनेतिर मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा उक्त विमान दुर्घटना भएको थियो । दुर्घटना भएलगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अग्नि नियन्त्रकलगायत नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त सहकार्यमा विमानमा लागेको आगो नियन्त्रणमा लिइएको थियो । विमान पूर्णरूपमा जलेर नष्ट भएको छ । दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त कटुवाल, विमानमा सवार अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र यमनी नागरिक आरिफ रेडाको मुत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका विमानका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको संयुक्त टोलीले आवश्यक उद्धारकार्य गरेको थियो । पोखरामा सुविधासम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि पोखरा जान लागेको थियो । जहाजमा कुनै खराबी आएर नभई निश्चित घण्टा उडेपछि नियमित तालिकाअनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा जान लागेको थियो । पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरू जहाजमा सवार रहेको जनाइएको छ ।

विमान दुर्घटनाका बारेमा बुझ्न बुधबार दिँउसो प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडालगायतको टोली विमानस्थल पुगेको थियो । टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका थिए । यस्तै प्रधानमन्त्री ओलीले उपचाररत विमानका क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

विमान दुर्घटनाको छानबिन गर्न जा“चबुझ आयोग गठन
सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको हो । आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आयोगलाई वायुयानको सत्यतथ्य जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । सञ्चारमन्त्री गुरुङका अनुसार आगामी दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले सोको सघन अनुगमन गर्ने निर्णय गरेको छ । यस शोकको घडीमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x