Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकले एकैदिन तान्यो ४० अर्ब

राष्ट्र बैंकले एकैदिन तान्यो ४० अर्ब


बैंकिङ प्रणालीमा अहिलेसम्म सङ्कलन भएको निक्षेप ६४ खर्ब ४९ अर्ब रुपैयाँ छ । यस्तै बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म प्रवाह गरेको कर्जा ५१ खर्ब ४१ अर्ब रुपैयाँ छ । बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमाभित्र रहेर कर्जा प्रवाह गर्न पाउँछन् । अहिलेको निक्षेपअनुसार ५८ खर्ब चार अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न मिल्ने पैसा हो । यस आधारमा बैंक तथा वित्तीय संस्थासँग अझै छ खर्ब ६३ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ ।दुई वर्षअघि वित्तीय प्रणालीमा तरलता अभाव थियो । उच्च आयातको कारण विदेशी मुद्रा सञ्चिति पनि कम हुँदै गएको थियो । अर्कोतर्फ मुद्रास्फीति पनि उच्च हुँदै गयो । त्यस समस्यालाई समाधान गर्न केन्द्रीय बैंकले आयात निरुत्साहित गर्ने नीति लियो र कर्जा प्रवाहमा कडाइ ग¥यो । माग पक्ष कमजोर बनाएर अर्थतन्त्र ट्र्याकमा ल्याउन ब्याजदर बढाउने नीति लिइयो । त्यसको असरले बजार सङ्कुचित हुनगयो । ब्याजदर बढाउँदा माग पक्ष कमजोर भयो र आयात निरुत्साहित भयो । बजारमा वस्तुको माग नै कम भएपछि उद्योगी व्यवसायीले उत्पादन घटाए, आयात खुम्चियो । बाह्य क्षेत्र ठीक ठाउँमा आयो । महँगो ब्याजदर भएकाले बैंकमा निक्षेप राखेर ब्याज खाने बढे । अहिले बैंकहरूले ब्याजदर घटाएका छन् । तर, उपभोगमा वृद्धि हुन सकिरहेको छैन यसले गर्दा बजारमा माग पक्ष अझै पनि कमजोर छ । माग पक्ष कमजोर भएपछि उद्योगीहरूले बैंकबाट ऋण लिएर उत्पादन बढाउन सकिरहेका छैनन् । यही कारण बैंकमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार सीडी रेसियो ७८ दशमलव ११ प्रतिशत छ ।

प्रणालीमा भएको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूसँग मात्रै ५७ खर्ब १६ अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरूसँग सात खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप छ । वाणिज्य बैंकहरूले ४५ खर्ब ४८ अर्ब रुपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले पाँच खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले विभिन्न समयमा निक्षेप सङ्कलन गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि अल्पकालीन अवधिको स्थायी निक्षेप सुविधा (एसडीएफ) प्रयोग गरिरहेका छन् । केन्द्रीय बैंकले साउन ९ गते बुधबार एकैदिन ४० अर्ब रुपैयाँ प्रणालीबाट तानेको छ । निक्षेप सङ्कलन बोलकबोलमार्फत सो रकम प्रशोचन गरेको हो । यसअघि पनि साउन २ गते केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब रुपैयाँ तानेको थियो । चालू आर्थिक वर्ष लागेपछि मात्रै केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट चार खर्ब रुपैयाँभन्दा बढी रकम तानेर तरलता व्यवस्थापन गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि केन्द्रीय बैंकले एसडीएफमार्फत तीन प्रतिशत ब्याजदरमा पैसा लिएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूबीच तीन प्रतिशतभन्दा कम ब्याजदरमा कारोबार भइरहेको छ । अधिक तरलता रहेको अवस्थामा कुनै बैंकले एक सापटी खोज्दा धेरै बैंक दिन तयार रहने भएकाले ब्याजदर तीन प्रतिशतभन्दा तल झरको बैंकरहरू बताउँछन् । अहिले अन्तर बैंक कारोेबारको ब्याजदर दुई दशमलव ९७ प्रतिशत देखिएको छ ।

निक्षेप सङ्कलन बोलकबोल भनेको के हो ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x