Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनमाथि कर्फ्यु आदेश किन ?

लकडाउनमाथि कर्फ्यु आदेश किन ?


रामहरी चौलागाइँ
काठमाडौं, असार १०
सरकारले कोरोना भाइरस महामारी रोग फैलन नदिन र नियन्त्रणको लागि भन्दै मुलुकमा लकडाउन गरेको आगामी ११ गते तीन महिना पुग्दै छ । तर अहिले संघीय राजधानीमा देखिएको सवारी चापलाई मध्यनजर गर्दा मुलुकमा कुनै किसिमको लकडाउनको अवस्था छ भनेर पत्याउन सकिने अवस्था छैन । सरकारले लकडाउन हटाएको घोषणा पनि गरेको छैन ।

गत असार १ गतेदेखि बन्दाबन्दी अर्थात् लकडाउनलाई केही खुकुलो पार्ने निर्णय भने सरकारले गरेको छ । अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाइएको छ । सरकारले एक जिल्लाबाट अर्को जिल्ला वा राजधानी उपत्यका प्रवेश गर्नको लागि सवारी साधन र मानिसहरूको आवतजावतमा लगाइएको रोकावटलाई पनि खुल्ला गरिएको छैन । तथापि अहिले सरकारको आदेशको अपहेलना गर्दै दैनिक सयौँ सवारी साधन एक जिल्लाबाट अर्को जिल्लासम्म निर्वाध ओहोरदोहोर गरिरहेका छन् ।

अत्यावश्यक कामबाहेकलाई अन्य काममा लगाइएको रोक अहिले पनि जारी नै छ । हिँड्नुपरेको खण्डमा पनि सवारी साधनका लागि स्थानीय निकायबाट पास लिएर सम्बन्धित जिल्ला प्रमुखसँगको अनुमतिपछि मात्र हिँड्नुपर्ने भनिएको छ । तर अहिले यो सरकारी निर्णय र आदेशको ठाडो उल्लंघन भइरहेको छ ।

बिनाअनुमति र सवारी पास काठमाडौं उपत्यकामा दैनिक २ देखि ३ सय सवारी साधन भित्रिने गरेको पाइएको छ । राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट सवारी पासबिना नै दैनिक यसरी सयौँको संख्यामा सवारी साधन भित्रिँदा पनि प्रहरीले नियन्त्रण वा रोक्न सकेको छैन ।

विभिन्न काम र व्यवसाय गर्दै संघीय राजधानी उपत्यकामा रहँदै आएका लाखौँ मानिसहरू मुलुकमा लकडाउन भएसँगै राजधानी छोडेर आ–आफनो जिल्ला र घरतिर गएका थिए । सरकारले असार १ गतेदेखि लकडाउनलाई केही खुकुलो बनाउने घोषणा गरेसँगै व्यवसाय सुचारु गर्न भन्दै काठमाडौं फर्किनेहरूको लर्को नै लागेको पाइएको छ । मेचीदेखि महाकालीसम्मबाट अहिले उपत्याकामा काम विशेषले आउनेहरूको लहरका कारण संक्रमणको जोखिम बढ्नसक्ने आँकलन हुन थालेकोे छ ।

यता कामविशेषले आउँदा र आउँनै परेको खण्डमा सकेसम्म पीसीआर रिर्पोट बोकेर आउन भनिएको भए पनि अधिकांश नागरिकहरूले त्यो नियमको पालना गरेका छैनन् । त्यति टाढाबाट थानकोटसम्म आउँदासमेत उनीहरूलाई कोही कसैले बीच बाटोमा चेकजाँच गरेर सोधपुछ पनि गर्दैैनन् । उनीहरू राजधानी प्रवेश गर्ने मुख्य नाका थानकोटमा आइसकेपछि मात्र चेकजाँच र एक्कासी सोधपुछ गर्नेगरिएको बताइएको छ । यहाँ अइसकेपछि मात्र नागरिहरूलाई प्रहरीले सोधपुछ गरेर अत्याउने र दुःख दिने काम गरेको भन्दै अहिले सरकारको आलोचना भइरहेको छ । सयौं किलामिटर पार गरेर आइसकेका उनीहरूलाई बिनापास र परीक्षण रिर्पोट नल्याएको भन्दै जहाँबाट आएको हो त्यतै फिर्ता पठाउने गरिएको छ ।

पासबिना हिँडेका उनीहरूलाई सुरु वा बीच बाटोमा नै प्रहरीले चेकजाँच गरेर सुझाइएको भए उनीहरू यसरी गन्तव्यसम्ममा आइपुगिसकेपछि फर्किनुपर्ने थिएन र फर्काउनुपर्ने स्थिति आउँदैनथ्यो । थानकोटसम्म आइसकेका सोझासिधा कतिपय नागरिकहरू प्रहरीको आदेश मानेर लुरुलुरु फर्किएका पनि छन् । तर धेरैजसो सोर्सफोर्स र भनसुनका आधारमा राजधानी छिरिरहेका छन् । एउटै मुलुकभित्र पनि थरीथरीका कानुन र आदेशको पालना गर्नुपर्दा राजधानीभित्र नै लागेका धेरै नागरिकले यसरी नै दिनहुँ दुःख पाइरहेका छन ।

सरकारले लकडाउन जारी रहेकै अवस्थामा अर्को आदेश जारी गरेर नागरिहरूलाई थप दुःख दिएको छ । बेलुकी १० बजेदेखि अर्को निर्णय नभएसम्मका लागि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भन्दै कर्फ्यूसरहको आदेश जारी गरेको छ । अघिल्लो हप्ता गृहमन्त्रालयले यसरी आदेश गरेपछि सर्वसाधरण नागरिकले धेरै नै सास्ती खेप्नुपरेको छ । सरकारको यो आदेशले नियमित डायलिसिस गर्दै आएका मिर्गौला रोगीहरू अझ बढी मारमा परेका छन् । आफ्नो सवारी साधन नहुने र सार्वजनिक यातयातमा नचलेको अवस्थामा सरकारले आफूअनुकूलको आदेश जारी गरेर बिरामी र सर्वसाधरण नागरिकलाई थप पीडा दिने काम गरेको भन्दै सरकारको आलोचना पनि बढ्नुका साथै जारीे आदेशप्रति पीडितहरूले गुनासो गरेका छन् ।

नियमितरूपमा वीर अस्पतालमा मिर्गौलाको डायलिसिस गर्दै आएका एक बिरामी कर्फ्यु आदेशका कारण आइतबार १० बजे राति डायलिसिस सकेर घर जान पाएनन् । एक त राति, त्यसमाथि लकडाउन र लकडाउनमाथि पनि कर्फ्यु आदेशसरह गरी सरकारले राति हिँडडुल गर्न रोक लगाएपछि नियमित र दीर्घरोगीहरू अरु बढी समस्यामा परेका छन् । अघिपछि त लकडाउनको कारण सवारी साधन उपलब्ध थिएनन् । त्यसमाथि पनि यस्तो आदेशका कारण राति कुनै पनि किसिमका सवारी साधन नचलेपछि उनीहरू झन् छटपटीमा परेका हुन् ।

जोरपाटीदेखि वीर अस्पतालसम्म हिँडेर आएका बिरामी यही कारण आइतबार सडकमा नै सुत्न बाध्य भए । सरकारको यो आदेशले राति–राति बाहिर जिल्लाबाट काठमाडौं प्रवेश गर्न खोज्नेहरूलाई भने बढी सजिलो भएको बताइएको छ । सवारी साधनबाट यता आइपुग्दा राति अबेर नै हुने र सुरक्षाकर्मीले शुभलाभसहित उनीहरूलाई भित्र्याउन सजिलोको लागि यो आदेश जारी गरिएको हुनसक्ने जानकार स्रोतको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x