Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजी क्षेत्रको मिश्रित प्रतिक्रिया

निजी क्षेत्रको मिश्रित प्रतिक्रिया


तुलनात्मकरूपमा ठीक छ : ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालू आर्थिक वर्षको मौद्रिक नीतिले तय गरेको कार्यदिशा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । अध्यक्ष ढकालले निजी क्षेत्रले उठाइरहेका विषय र राष्ट्र बैंकलाई दिएका सुझाव सम्बोधन भएको बताएका हुन् । तर, मौद्रिक नीति कार्यान्वयनका लागि आउने सर्कुलरले महत्वपूर्ण अर्थ राख्ने उनले बताए । १२ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखिनु तथा त्यसका लागि सहजताको नीति लिइनु, बैंकदर र नीतिगत दर घटाइनु, चालू पुँजी कर्जा मार्गदर्शनको व्यवस्थालाई लचक बनाइनु र बैंक तथा वित्तीय संस्थाको पुँजीकोष व्यवस्थाका लागि सहज नीति लिइनु मौद्रिक नीतिका सकारात्मक पक्ष रहेको ढकालले बताए ।

सेयर धितो कर्जामा संस्थागत लगानीकर्ताका लागि लगाइएको सीमा खारेज गरिनु, निर्माण क्षेत्रलाई लक्षित सहज नीति ल्याइएकाले यसको असर अर्थतन्त्रमा सकारात्मक पर्ने उनले बताए । यस्तै मौद्रिक नीतिले निर्माण व्यवसायीलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गर्ने, उनीहरूलाई चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्नेलगायत सुविधाले राम्रो गर्ने उनको भनाइ छ ।

लचक छ : चेम्बर
नेपाल चेम्बर अफ कमर्सले चालू आर्थिक वर्षको मौद्रिक नीति तुलनात्मकरूपमा केही सजगपूर्ण र लचक भएको बताएको छ । चेम्बरले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै मौद्रिक नीतिका केही पक्षहरू सकारात्मक र केही विषयहरू अझै सम्बोधन हुन नसकेको बताएको हो । मौद्रिक नीतिमार्फत बंैकदर र नीतिगत दर घटाइएको विषयलाई चेम्बरले सकारात्मक भनेको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दरलाई पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ । यसले ब्याजदर घटाउन सहजता प्रदान गर्नेछ ।’ निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाको लागि मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरू पनि सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ ।

चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयनमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने चेम्बरले जनाएको छ । असल कर्जामा गर्नुपर्ने विद्यमान एक दशमलव २० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई घटाएर एक दशमलव १० प्र्रतिशत कायम गरिनुपर्ने व्यवस्था सकारात्मक रहेको चेम्बरको ठहर छ । चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्नेलगायतका व्यवस्था परिमार्जन गर्नेगरी विद्यमान कर्जा सूचना तथा कालोसूचीसम्बन्धी निर्देशिकामा पुनरावलोकन गरिने व्यवस्था सकारात्मक रहेको चेम्बरको भनाइ छ ।संस्थागत सेयर कारोबारलाई प्रोत्साहन गर्न हाल कायम २० करोड रुपैयाँको कर्जा सीमा हटाउने पक्ष सकारात्मक भए पनि ५० लाख रूपैयाँभन्दा माथिको कर्जा प्रवाहको जोखिम भार शतप्रतिशत कायम गरिनुपर्ने माग सम्बोधन हुन नसकेको चेम्बरले दुखेसो व्यक्त गरेको छ । यस्तै घरजग्गा कारोबारलाई थप गति दिन ५० लाखभन्दा माथिको कर्जाको जोखिमभार शतप्रतिशत कायम गरिनुपर्ने एवं मूल्याङ्कनको सीमा ८०–२० को रेसियो कायम गरिनुपर्ने माग पूरा हुन नसकेको चेम्बरको भनाइ छ ।

सकारात्मक छ : एफक्यान
नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले मौद्रिक नीति निकै नै सकारात्मक भएको प्रतिक्रिया दिएको छ । मौद्रिक नीति सार्वजनिक भएलगत्तै आफ्नो आधिकारिक धारण सार्वजनिक गरेको महासंघले मौद्रिक नीति निर्माण व्यवसायीमैत्री भएको प्रतिक्रिया दिएको हो । महासंघका अध्यक्ष रवि सिंहले अब कार्यविधि पनि सोहीअनुरूप आउनुपर्ने धारणा राखे । महासंघ प्रतिनिधिमण्डलले खानेपानी मन्त्री प्रदीप यादवसँगको भेटमा मौद्रिक नीति सकारात्मक भएको बताएको हो ।

नाडाको असन्तुष्टि
सवारीसाधन बिक्री गर्ने व्यापारीहरूको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल’ले चालू आर्थिक वर्षको मौद्रिक नीतिप्रति असहमति जनाएको छ । संघले दिएको सुझावहरूलाई नेपाल राष्ट्र बैंकले उपेक्षा गरेको भन्दै नाडाले असन्तोष व्यक्त गरेको हो । नाडाले राष्ट्र बैंकसमक्ष विभिन्न सातवटा सुझाबहरू प्रस्तुत गरेको थियो । अटोमोबाइल क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाखौंँ नेपालीहरूलाई रोजगार प्रदान गरेको तर अर्थतन्त्रमा मन्दी हुँदा समग्र व्यापारमा ६८ प्रतिशत गिरावट आएकोे छ । त्यसको समाधानमा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने नाडाको माग थियो ।

नाडाले केही दिनअघि मात्रै पनि अटोमोबाइलमैत्री मौद्रिक नीतिको आवश्यकता रहेको जनाएको थियो । नाडाले मौद्रक नीतिले आफ्नो सुझावलाई सम्बोधन गर्न नसकेको मात्र नभएर पूरै बेवास्ता गरेको बताएकोे छ । नाडाले यही अवस्थामा सबै अटोमोबाइल व्यवसायीहरू ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने र धेरै नेपालीले रोजगारी गुमाउने अवस्था आउने बताएकोे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x