Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशपहिरोको चपेटामा दोलखाको उत्तरी क्षेत्र

पहिरोको चपेटामा दोलखाको उत्तरी क्षेत्र


दोलखा । बाढी पहिरोको कारण दोलखाको उत्तरी क्षेत्रमा वर्षेनि ठूलो मात्रामा क्षति हुँदै आएको छ । यस क्षेत्रमा रहेका गाउँपालिका कालिञ्चोक, गौरीशंकर र विगु गाउँपालिकाले हरेक वर्ष बाढी पहिरोको कारण ठूलो जनधन तथा सयौँ हेक्टर खेतीयोग्य जमिन गुमाउने गरेको छ ।

पछिल्लो पाँच वर्षको अवधिमा यहाँका तीन वटा गाउँपालिकामा १७ ठाउँमा पहिरो गएको छ । यहाँको सबैभन्दा ठूलो पहिरो कालिञ्चोक गाउँपालिकाको लापिलाङ गएको थियो । उक्त पहिरो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त पहिरोले हालसम्म करिब एक सय ३७ घरपरिवारलाई विस्थापित बनाएको छ । तीन वर्षअघि रानीवनबाट सुरु भएको रानीभिर पहिरोले सिङ्गो गाउँ नै बगाएको थियो । उक्त पहिरोले सडक, खानेपानीसँगै चारसय रोपनीभन्दा बढी खेतीयोग्य जमिनलाई बगर बनाएको कालिञ्चोक गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी गौरीशंकरमा पछिल्लो पाँच वर्षयता नौ वटा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन् । पहिरोले यहाँका दुई सय घर परिवार विस्थापित बनेका छन् । गौरीशंकरको जुँगु, ज्याकु, खारे, मार्बु, टुनिटार, डोगाङमा, सिमीगाउँ, लामाबगरलगायतका बस्तीमा पटकपटक पहिरोका घटना दोहोरिएको पाइएको छ । त्यसैगरी बिगुको सिंगटी बजार आसपासमा हालसम्म तीन वटा पहिरो गएको छ भने पहिरोको कारण बिगु ओराङमा पनि ठूलो क्षति भएको छ ।

पहिरोले उत्तरी राजमार्ग अवरुद्ध
यस वर्ष पनि गत वर्षहरूमा जस्तै बाढीपहिरोले मुख्य ग्रामीण सडक राजमार्ग अवरुद्ध बन्दा उत्तरी क्षेत्रका तीन वटा स्थानीयतहका स्थानीयलाई आवतजावतमा समस्या भएको छ । जिल्ला सदरमुकाम र उत्तरी मुख्य व्यापारी नाका जोड्ने चरिकोट–सिँगटी सडकखण्डअन्तर्गतको झमार्सिमा पहिरोले सडक तानेपछि स्थानीयहरूलाई सदरमुकाम चरिकोट र राजधानी ओहोरदोहोर गर्न असहज भएको हो ।

चरिकोट–सिंगटी सडकखण्डको झमार्सीमा पहिरोले सडक बगाएपछि आइतबार बिहानदेखि नै सडक अवरुद्ध बनेको कालिञ्चोक गाउँपालिकाले जनाएको छ । शनिबार राति अत्यधिक वर्षा भएको र उक्त वर्षाले सडकमा भलबाढी आएसँगै मुख्य राजमार्ग बगाएकाले दुई पाङ्ग्रे सवारीबाहेक अन्य ठूला सवारी सञ्चालन गर्न समस्या भएको प्रहरीले जनाएको छ । सो पहिरोले उत्तरी क्षेत्रका मुख्यदेखि सहायक आधा दर्जनभन्दा बढी सडक अवरुद्ध भएको छ । प्रहरीले चरिकोट–सिंगटी सडक सञ्चालन ल्याउने प्रयास भइरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x