Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना र सीमा विवाद

कोरोना र सीमा विवाद


फरक मत: प्रख्यात व्यवस्थापन शास्त्रविज्ञ स्टेफेन कोभेको भनाइअनुसार धेरैजसो ठूला समस्या सृजित हुने एउटा कारण निर्णायक पदमा बस्नेहरुले तुरुन्त गर्नुपर्ने जरुरी काममा समय नदिई समय बिताउनु हो । अहिलेको समयमा नेपाललगायत विश्वका हरेक मुलुकको सरकारहरुको लागि तत्काल अविलम्ब ध्यान दिएर पाखुरा सुर्काएर काममा लाग्नुपर्ने दुईवटा अत्यन्तै जरुरी काम हो – कोरोनाको महामारी सामना गर्ने र अर्थतन्त्रमा कोरोनाबाट सृजित अत्यन्तै डरलाग्दो स्थितिलाई व्यवस्थापन गर्ने ।

सुदूरपश्चिमको नेपाली भूमिमा भारतले जबर्जस्ती बनाएको नयाँ सडकको उद्घाटन भारतीय रक्षामन्त्रीले गरेपछि एक तुफान नेपालमा आएकै हो । जुन स्वाभाविक पनि हो । तर, यो मान्छे मार्ने तुफान होइन । छ महिनाअघि सुरु भएको कोरोना मान्छे मार्ने तुफान हो भने कोरोनाबाट अर्थतन्त्रमा पर्ने असरबाट सृजना हुने भयावह स्थिति भनेको मान्छेलाई दिनको दुई छाक खानाबाट आधा छाकमा झार्नसक्ने तुफान हो ।

लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नेपालको नक्सालाई संवैधानिक वैधता दिने कानुनी प्रक्रिया पूरा भइसकेको छ । तर, यो प्रक्रियाभन्दा जटिल कार्य भनेको भारतसँग वार्ता गर्दा टेबलको आर्कोतर्फ बस्नेहरुसँग हुने छलफलमा जितेर देखाउने हो । यस सम्बन्धमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले सात वर्षपहिले वि.सं. २०६९ मा लेखेको पुस्तकमा भारतसँग वार्तामा बस्नुअघि गर्नुपर्ने विश्लेषण प्रस्तुत गरेका छन् । उनको भनाइअनुसार भारतले नेपाललाई प्रश्न गरेर आफ्नो पल्लाभारी गर्ने कोशिस गर्ने आठवटा बुँदाहरु छन्, जसमा नेपालले आफ्नो धारणा बनाउन गृहकार्य गर्न जरुरी छ :

१) भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक आफ्नै भूमि हो भनी धारणा राख्यो भने नेपालले लिने रणनीति ।
२) कालापानी राजा महेन्द्रले भारतलाई दिइसकेको हो भनेको खण्डमा त्यसको काउन्टर जवाफ ।
३) चीनले समेत कालापानी नेपालको हो भनेको छैन भनी भारतले अडान लिएको खण्डमा हामीले दिने जवाफ ।
४) उक्त विवादित भूभागलाई भारतले नोम्यान ल्याण्ड र बफर जोन बनाऔं भनेमा हामीले दिने जवाफ ।
५) दुवै देशको सेना संयुक्त तरिकाले तैनाथ गरौं भन्ने प्रस्ताव भारतले राख्यो भने हामीले लिने रणनीति ।
६) यो क्षेत्र सय वर्षको लागि लिजमा देऊ भनिएको खण्डमा हाम्रो अडान ।
७) तेस्रो देशको मध्यस्थता खोजौं भन्ने धारणा भारतले राखेको खण्डमा नेपालले दिने एक देशको नाम ।
८) यो सीमा विवाद विश्व रंगमञ्चमा बढाइएमा नेपाललाई नै हानि हुन्छ भनेमा नेपालले दिने जवाफ ।

एक विद्वान्को भनाइअनुसार कुन समय, काल र परिस्थितिमा के कस्तो विषय वा कामकुरालाई ध्यान नदिने भनी एकीन गर्ने कला पनि एक बुद्धिमान् हुने कलामा गनिन्छ । ‘सीमा संग्राम’ नामको पुस्तकमार्फत सात वर्षपहिले नै एक जना सीमाविद्ले नेपाल सरकारले गर्नुपर्ने गृहकार्य बुँदागत रुपमा फेहरिस्त पेश गर्ने जमर्को गरेसकेको भए पनि भारतसँग गर्नैपर्ने वार्ताको लागि गर्नुपर्ने गृहकार्य नेपाल सरकारले एकदमै सुस्तगतिमा मात्र गरिरहेको प्रष्ट भइसकेको छ ।

यसरी सात वर्षसम्म खासै ध्यान नदिएको यो सीमा विवाद अहिले आएर प्राथमिकता दिएर जनतालाई उक्साउने कामकुरो कुनै पनि दृष्टिकोणले उचित मान्न सकिँदैन । अहिले सम्पूर्ण राष्ट्रको अर्जुनदृष्टि कोरोना संक्रमण नियन्त्रण गर्ने र कोरोनाबाट आर्थिक तथा सामाजिक क्षेत्रमा पर्ने भयावह प्रभावलाई कसरी न्यूनीकरण गर्ने भन्नेमा हुनुपर्ने हो । यसको अलावा कोरोना संक्रमण नियन्त्रण गर्न अति आवश्यक सामग्री खरिद गर्दा अनियमितता र भ्रष्टाचार भएको शंका गरी दिनका दिन मिडियामा आइरहेको आलोचनालाई के कसरी सम्बोधन गरी जनतालाई आश्वस्त पार्ने भन्नेतिर ध्यान दिनुपर्ने हो । सीमा विवाद अहिलेको प्राथमिकतामा पर्ने विषय हुँदै होइन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x