Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्वारेन्टाइनमा बस्नेको संख्या घट्या, कोरोना संक्रमित दश हजार सात सय

क्वारेन्टाइनमा बस्नेको संख्या घट्या, कोरोना संक्रमित दश हजार सात सय


काठमाडौं, असार ११
नेपालमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या घट्दै गएको छ । सरकारले पीसीआर परीक्षण गर्दै कोरोना नदेखिएकाहरुलाई घर पठाउन थालेपछि क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटेको हो । बधुबार मात्रै सरकारले छ हजार आठ सय २८ जनाको कोरोना परीक्षण गरेको छ । यो क्रम दैनिक बढ्दै छ ।

विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्दै परीक्षण गर्ने काम सरकारले गरिरहेको छ । भारतबाट आउनेको संख्या घटेको कारण क्वारेन्टाइनमा रहनेको संख्या पनि घट्दै गएको हो । मंगलबार ८५ हजार आठ सय १३ जना क्वारेन्टाइनमा रहेकामा बुधबार त्यो संख्या घटेर ७८ हजार छ सय ३९ मा झरेको हो ।

पहिला दैनिक २५ हजार नेपालीहरु भारतबाट नेपाल भित्रिने गरेकामा अहिले दैनिक २५ सय पनि छैन । त्यही कारण क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको हो । सरकारले क्वारेन्टाइनमा बस्नेको परीक्षणलाई तीव्रता दिएको छ । सरकारले क्वारेन्टाइनमा रहेका ७८ हजार छ सय ३९ जनाको तत्काल कोरोना परीक्षण गर्ने भएको छ । क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण सकिएपछि मात्र थप अन्यमा तीव्रता दिने योजना सरकारको छ ।

बुधबार गरिएको परीक्षणमा थप छ सय २९ जनामा कोरोना देखिएको छ । सरकारी तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र प्रदेश नम्बर २ मा धेरै व्यक्तिहरु क्वारेन्टाइनमा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५ सय १९ पुरुष र १ सय १० महिला गरी कुल ६ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या १० हजार ७ सय २८ पुगेको छ । तीमध्ये एक हजार ९४ महिला र नौ हजार ६ सय ३४ पुरुष छन् ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय १४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये आठ महिला र १ सय ६ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार १ सय २४ पुगेको छ । तीमध्ये दुई हजार ३५ पुरुष र १ सय ८९ महिला छन् । डिस्चार्ज हुनेमा जलेश्वर अस्पताल महोत्तरीबाट एक महिला र १८ पुरुष, कोभिड–१९ अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पताल सिन्धुलीबाट तीन पुरुष रहेका छन् । यस्तै चितवनस्थित भरतपुर अस्पतालबाट नवलपरासी (पूर्व)का एक पुरुष र नवलपरासी (पश्चिम)का दुई पुरुष, चितवनका पाँच महिला र १३ पुरुष, कपिलवस्तुका एक महिला रहेका छन् ।

यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका चार पुरुष, मोरङका १८ पुरुष, सुनसरीका एक महिला र चार पुरुष तथा तेह्रथुमका एक पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा दमौली अस्पताल तनहुँका एक पुरुष, धौलागिरि अस्पतला बाग्लुङका चार पुरुष, गोरखा अस्पताल गोरखाबाट एक पुरुष, जिपी कोइराला शुक्लागण्डकीबाट छ पुरुष र कालिका अस्पताल स्याङ्जाबाट १० पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अहिलेसम्म दुई हजार ३ सय ३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १ सय ९७ महिला र दुई हजार १ सय ४१ पुरुष छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट छ हजार ८ सय २८ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा १२ हजार ११२ जनाको परीक्षण भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x