Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ प्रणालीमा अधिक तरलता मौद्रिक उपकरण बिक्री गरेर फेरि तानियो ४० अर्ब

बैंकिङ प्रणालीमा अधिक तरलता मौद्रिक उपकरण बिक्री गरेर फेरि तानियो ४० अर्ब


बैंक तथा वित्तीय संस्थाहरूमा हालसम्म सङ्कलन भएको कुल निक्षेप रकम ६४ खर्ब ३० अर्ब रूपैयाँ पुगेको छ । यस अवधिमा कुल कर्जा रकम ४५ खर्ब ५० अर्ब रूपैयाँ छ । बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमाभित्र रहेर कर्जा प्रवाह गर्न पाउँछन् । अहिले यस्तो अनुुपात ७८ दशमलव ५४ प्रतिशत छ । अहिलेको निक्षेपअनुसार ५७ खर्ब ८७ अर्ब रूपैयाँ कर्जा प्रवाह गर्न मिल्ने रकम हो । यस आधारमा बैंक तथा वित्तीय संस्थासँग अझै छ खर्ब ४३ अर्ब रूपैयाँको हाराहारीमा लगानीयोग्य रकम छ ।

दुई वर्षअघि वित्तीय प्रणालीमा तरलता अभाव थियो । उच्च आयातको कारण विदेशी मुद्रा सञ्चिति पनि कम हुँदै गएको थियो । अर्कोतर्फ मुद्रास्फीति पनि उच्च हुँदै गयो । त्यस समस्यालाई समाधान गर्न केन्द्रीय बैंकले आयात निरुत्साहित गर्ने नीति लियो र कर्जा प्रवाहमा कडाइ ग¥यो । माग पक्ष कमजोर बनाएर अर्थतन्त्र ट्र्याकमा ल्याउन ब्याजदर बढाउने नीति लिइयो । त्यसको असरले बजार सङ्कुचित हुनगयो । ब्याजदर बढाउँदा माग पक्ष कमजोर भयो र आयात निरुत्साहित भयो । बजारमा वस्तुको माग नै कम भएपछि उद्योगी व्यवसायीले उत्पादन घटाए, आयात खुम्चियो । बाह्य क्षेत्र ठीक ठाउँमा आयो । महँगो ब्याजदर भएकाले बैंकमा निक्षेप राखेर ब्याज खाने बढे । अहिले बैंकहरूले ब्याजदर घटाएका छन् । तर, उपभोगमा वृद्धि हुन सकिरहेको छैन यसले गर्दा बजारमा माग पक्ष अझै पनि कमजोर छ । माग पक्ष कमजोर भएपछि उद्योगीहरूले बैंकबाट ऋण लिएर उत्पादन बढाउन सकिरहेका छैनन् । यही कारण बैंकमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार सीडी रेसियो ७८ दशमलव ५४ प्रतिशत छ । बैंकिङ प्रणालीमा भएको कुल निक्षेप रकममध्ये वाणिज्य बैंकहरूसँग मात्रै ५७ खर्ब रूपैयाँ निक्षेप रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूसँग सात खर्ब ३१ अर्ब रूपैयाँ निक्षेप रहेको छ । यस अवधिमा वाणिज्य बैंकहरूले ४५ खर्ब ५० अर्ब रूपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले पाँच खर्ब ९२ अर्ब रूपैयाँकर्जा प्रवाह गरेका छन् ।
बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले विभिन्न समयमा निक्षेप सङ्कलन गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाले पनि अल्पकालीन अवधिको स्थायी निक्षेप सुविधा (एसडीएफ) प्रयोग गरिरहेका छन् । केन्द्रीय बैंकले साउन १६ गते बुधबार एकैदिन ४० अर्ब रूपैयाँ वित्तीय प्रणालीबाट तानेको छ । निक्षेप सङ्कलन बोलकबोलमार्फत सो रकम प्रशोचन गरेको हो । परिपक्व हुने अवधिमा २१ दिन अर्थात् भदौ पाँच गते तोकिएको यो निक्षेप उपकरण वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले खरिद गरेका हुन् । यसअघि पनि साउन २ गते केन्द्रीय बैंकले २१ दिनका लागि ५० अर्ब रूपैयाँ तानेको थियो । साउन नौ गते पुन २१ दिनको अवधि तोकेर ४० अर्ब रूपैयाँ वित्तीय प्रणालीबाट तानेको थियो । चालू आर्थिक वर्ष लागेपछि मात्रै केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट झण्डै पाँच खर्ब रूपैयाँ तरलता व्यवस्थापन गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि केन्द्रीय बैंकले एसडीएफमार्फत तीन प्रतिशत ब्याजदरमा पैसा लिएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूबीच तीन प्रतिशतभन्दा कम ब्याजदरमा कारोबार भइरहेको छ । अधिक तरलता रहेको अवस्थामा कुनै बैंकले एक सापटी खोज्दा धेरै बैंक दिन तयार रहने भएकाले ब्याजदर तीन प्रतिशतभन्दा तल झरको बैंकरहरू बताउँछन् । अहिले अन्तरबैंक कारोेबारको ब्याजदर दुई दशमलव ९७ प्रतिशत देखिएको छ ।

निक्षेप सङ्कलन बोलकबोल भनेको के हो ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x