Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर महानगरपालिकाद्वारा ३ अर्ब ३७ करोड ८१ लाखको बजेट सार्वजनिक

विराटनगर महानगरपालिकाद्वारा ३ अर्ब ३७ करोड ८१ लाखको बजेट सार्वजनिक


विराटनगर, असार ११
विराटनगर महानगरपालिकाको छैटौँ नगरसभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रूपैयाँको वार्षिक बजेट प्रस्तुत गरिएको छ । महानगरले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा दुई अर्ब ५२ करोड कम ल्याएको छ । गत आर्थिक वर्षको पाँचौँ नगरसभामा महानगरपालिकाको पाँच अर्ब ९० करोड ७४ लाख ४७ हजार सात सय ५० रूपैयाँको बजेट विनियोजन गरिएको थियो । तर, आर्थिक वर्ष ०७७/०७८ को लागि प्रस्तुत गरिएको बजेटमा तीन अर्ब ३७ करोड ८१ लाख १० हजारको मात्र बजेट प्रस्तुत गरिएको छ ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा महानगरपालिकाले प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार रूपैयाँ, सामाजिक सुरक्षातर्फ ३६ करोड रूपैयाँ र फोहोर व्यवस्थापनका लागि आवश्यक पर्ने ल्याडफिल साइटका लागि जग्गा खरिद तथा फोहोरमैला व्यवस्थापनमा ११ करोड ४९ लाख ५० हजार रूपैयाँको बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी महानगरपालिकाले नगर स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रममा ५६ करोड १३ लाख पाँच हजार, महिला, बालबालिका, युवा विकास तथा खेलकुदतर्फ दुई करोड नौ लाख २४ हजार र पुँजीगत खर्चतर्फ एक अर्ब ७१ करोड ७९ लाख ६५ हजारको बजेट विनियोजन गरेको महानगरकी उपप्रमुख कार्कीले नगरसभालाई जानकारी दिइन् ।

विराटनगर महानगरपालिकाको उक्त बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक स्रोतबाट ८९ करोड ८२ लाख १६ हजार सात सय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ७६ करोड ८२ लाख ५२ हजार नौ सय ४० र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ३८ करोड सात लाख ६८ हजार प्राप्त गर्ने अनुमान महानगरपालिकाले बजेटमा प्रस्तुत गरेको छ ।

संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान एक अर्ब दुई करोड नौ लाख रूपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान दुई करोड १० लाख नौ हजार एक सय ८० रूपैयाँ, संघीय सरकार विशेष अनुदानबाट १३ करोड रूपैयाँ, प्रदेश सरकार समपूरक अनुदानबाट तीन करोड रूपैयाँ, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट तीन करोेड २६ लाख ७८ हजार एक सय ८० रूपैयाँ र जनसहभागीताबाट नौ करोड ६२ लाख पाँच हजार रुपैयाँ प्राप्त हुने अनुमान महानगर उपप्रमुख इन्दिरा कार्कीले बजेटमा प्रस्तुत गरेकी छिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x