Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकञ्चनपुरका आठ स्थानीय तहले ल्याए बजेट

कञ्चनपुरका आठ स्थानीय तहले ल्याए बजेट


कञ्चनपुर,असार १२
धनबहादुर जप्रेल
कञ्चनपुरका ८ वटा स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम तथा बजेट ल्याएका छन् । ९ वटा स्थानीय तह रहेको जिल्लामा एउटा स्थानीय तहले भने बजेट ल्याएको छैन । असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम योजना तथा बजेट अनिवार्य रूपमा ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार जिल्लाका स्थानीय तहहरूले नगर÷गाउँसभामार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएका हुन् ।

सबै स्थानीय तहले पुराना कार्यक्रमलाई नै निरन्तरता दिँदै कोरोना केन्द्रित बजेट ल्याएका छन् । भीमदत्त नगरपालिकाले सबैभन्दा अगाडि असारको पहिलो साता नै बजेट ल्याएको थियो भने बेलौरी नगरपालिकाले असार १९ गते बजेट ल्याउने जनाएको छ । त्यसैगरी अन्य ७ स्थानीय तहले बुधबार बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा पहिला बजेट ल्याएको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि एक अर्ब ४६ करोडबराबरको बजेट ल्याएको थियो । भीमदत्त नगरपालिकाले सातौँ नगरसभाबाट ८६ करोड ६९ लाख चालू र ५९ करोड ४६ लाख पुँजीगत बजेट विनियोजन गरेको थियो ।

यो बजेट चालू आर्थिक वर्षको तुलनामा १५ करोड बढी हो । गतवर्ष एक अर्ब ३१ करोड बजेट विनियोजन गरिएको छ । माहाकाली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५४ करोड ७५ लाख आठ हजार दुई सय २८ रूपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको पाँचौ नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा चालूतर्फ १० करोड ८७ लाख १० हजार र ४३ करोड ८७ लाख ९८ हजार दुई सय २८ पुँजीगत बजेट विनियोजन गरिएको हो । बजेटमा कोरोना महामारी, शिक्षा, स्वास्थ्य, कृषि, उत्पादन र रोजगारलाई प्राथमिकता दिइएको छ । चालू आर्थिक वर्षमा दुई करोड ९६ लाख १२ हजार आन्तरिक आम्दानीको लक्ष्य राखिएको छ । बजेटमा संघ सरकारको वित्तीय समानीकरण १२ करोड ५६ लाख, सशर्त अनुदानमा १८ करोड ३३ लाख, राजस्व बाँडफाँडमा आठ करोड १८ लाख ५८ हजार दुई सय २८, अर्थ मन्त्रालयबाट वित्तीय समपुरक अनुदानमा २५ लाख, प्रदेश राजस्व बाँडफाँडबाट १७ लाख ५७ हजार, प्रदेशबाट वित्तीय समानीकरणमा ७३ लाख २७ हजार, प्रदेशबाट विशेष अनुदानमा ५३ लाख, प्रदेशबाट समपुरक अनुदानमा ११ करोड ७५ लाख, चार हजार प्रस्ताव गरिएको छ ।

यस्तै सडक बोर्डबाट ३५ लाख र गत वर्षको मौजदा नौ करोड ५० लाख गरी ५४ करोड ७५ लाख आठ हजार दुई सय २८ रूपैयाँ बजेट प्रस्ताव गरिएको छ । नगर प्रवक्ता दिलबहादुर सिजालीले कोरोना महामारीलाई मध्यनजर गरी कृषि उत्पादन, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएर आगामी वर्षको नीति कार्यक्रम तथा बजेट विनियोजन गरिएको बताए । ‘विश्व कोरोना महामारीको चपेटामा छ, मानवको अस्तित्व संकटमा भएको अवस्थामा कोरोना महामारी रोकथाम, नियन्त्रणलाई मध्यनजर गरी नीति, कार्यक्रम र बजेट ल्याउने प्रयास गरिएको छ’ प्रवक्ता सिजालीले भने ‘आगामी दिनहरूमा नीति तथा कार्यक्रममा कोरोना महामारी रोकथाम तथा नियन्त्रण सहितका नयाँ रणनीति समावेश गर्दै जाने छौँ ।’

यस्तै वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि अघिल्लो आवको भन्दा झण्डै १२ करोडभन्दा बढी बजेट नगरसभाबाट पारित गरेको छ । वेदकोटको सातौँ नगरसभाबाट आगामी वर्षका लागि ७२ करोड ४० लाखबराबरको बजेट पारित गरेको नगर प्रवक्ता नरेशबहादुर सिंहले बताए । कृष्णपुर नगरपालिकाले पनि सातौँ नगरसभाबाट आर्थिक वर्ष २०७७÷०७८ का लागि ८८ करोड १३ लाख बजेट ल्याएको छ ।

नगरप्रमुख कर्णबहादुर हमालले स्पष्ट कार्यनीति र समन्वयात्मक कार्यशैलीले नगरलाई आगामी दिनमा उत्कृष्ट नगरको पहिचान दिलाउने कुरामा आफू विश्वस्त रहेको बताए । कृष्णपुरमा पनि कोडिभ–१९ रोकथाम एवं नियन्त्रणकै योजना अघि सारिएका छन् । त्यस्तै नगरले नेपालको संविधानको धारा २२८ को उपधारा ९२० बमोजिम १६ वटा ऐनलाई संशोधनसहित पास गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाले पनि आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि गत वर्षको भन्दा झण्डै १३ करोडभन्दा बढी ६९ करोड पाँच लाख रूपैयाँबराबरको बजेट ल्याएको नगरका प्रवक्ता जगतबहादुर सिंहले बताए । ‘अहिले नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको छ, ‘उनले भने, ‘दफावार छलफल गरेर पारित गछौँ ।’ पुनर्वास नगरपालिकाले पनि आर्थिक वर्ष २०७७÷०७८ का लागि ६७ करोड १० लाख १७ हजारबराबरको बजेट ल्याएको छ ।

पुनर्वासका मेयर जिवनराज थापाका अनुसार पँुजीतर्फ ३५ करोड ३९ लाख र चालूतर्फ ३१ करोड ३१ लाख रकम छुट्याइएको छ । मेयर थापाले कोभिडसहित कृषि, रोजगारीलाई प्राथमिकता दिने बताए । आर्थिक वर्ष २०७७÷०७८ का लागि बेलडाँडी गाउँपालिकाले ३६ करोड ७४ लाखबराबरको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले कोभिडसहित कृषिलाई प्राथमिकता दिइएको बताए । लालझाडी गाउँपालिकाले पनि ३९ करोड ३८ लाख ५२ हजार रूपैयाँबराबरको बजेट ल्याएको छ । गाउँपालिका प्रमुख मदनसेन बडायकले कोरोना रोकथामसहित विभिन्न विकास निर्माण योजना ल्याएको बताए । बेलौरी नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले ७२ करोड हराहारीमा बजेट ल्याउने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x