Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारलुम्न्बिनी प्रदेशराष्ट्रिय परिचयपत्र बनाउनेको भीड

राष्ट्रिय परिचयपत्र बनाउनेको भीड


खजुरा (बाँके) । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरूको भिड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको संख्यामा आउने गरेको कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार सात सय ५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम दर्ता गराएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार तीमध्ये ५४ हजार तीन सय ३३ जनाले जिल्ला प्रशासन कार्यालयमै पुगेर परिचयपत्रका लागि रजिस्ट्रेसन गराएको र अन्यले विभिन्न वडामा रजिस्ट्रेसन गराएका छन् । परिचयपत्रका लागि रजिस्ट्रेसन गराएर नम्बर लिएर जाने धेरै भए पनि परिचयपत्रको कार्ड लिन आउने भने निकै कम संख्यामा रहेका छन् । जिल्ला प्रशासन कार्यालयमा तयार भएर आएका ३४ हजार दुई सय ५१ परिचयपत्रका कार्डमध्ये सात हजार सात सय ४५ कार्ड मात्र सम्बन्धित व्यक्ति लिन आएको प्रजिअ रिजालले बताए ।

छब्बीस हजार पाँच सय छ कार्ड जिल्ला प्रशासनमा आए पनि सम्बन्धित व्यक्ति लिन नआउँदा वितरण हुन बाँकी रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय, कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनरी गाउँपालिकाका केही वडा, राप्तीसोनारी–९ तथा नरैनापुर गापाका वडा नं १, २, ३, ४ र ५ का लागि ‘रजिस्ट्रेसन’ को काम भइरहेको छ ।

पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउनेहरूमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका नागरिक बढी रहेका जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र रजिस्ट्रेसन शाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार, लुम्न्बिनी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x