Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जना पक्राउ

 विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जना पक्राउ


काभ्रेपलाञ्चोक । जिल्लाका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ । जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेपछि विशेष टोली परिचालन गरी उक्त गिरोहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हालसम्म सङ्गठित गिरोहले जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरी चौकी भकुण्डेबेँसी र इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले चोरीमा संलग्न सातलाई प्रारम्भिक सोधपुछपछि नियन्त्रणमा लिएको थियो । चोरी गरिएका तामाका तार भक्तपुरका विभिन्न कवाडी पसलमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।

अनुसन्धानका क्रममा भक्तपुरको जगातिस्थित प्रहरी वृत्तसँगको संयुक्त टोलीले गिरोहका थप तीनजनालाई पक्राउ गरी भक्तपुरका विभिन्न कवाडी पसलमा खानतलासी गर्दा गिरोहले बिक्री गरेको तामाका तारलगायत सामान बरामद गरिएको प्रनाउ श्रेष्ठले बताए । उनका अनुसार उक्त गिरोहले बस्ती, खानेपानी तथा सिँचाइका लागि व्यवस्थित गरिएका ट्रान्सफर्मर चोरी गरेका हुन् ।

प्रहरीका अनुसार उनीहरूले कवाडी सामान सङ्कलन गर्ने बहानामा काभ्रेको विभिन्न स्थानमा राखिएका ट्रान्सफर्मरको अवस्था पत्ता लगाई रातको समयमा ट्रान्सफर्मर निकाली फोडेर तामाका तार चोरी गर्ने योजना बनाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

गिरोहले करिब डेढ महिनाको अवधिमा भुम्लु गाउँपालिका–९ मेलडाँडास्थित एनसेल टावर, तेमाल गाउँपालिका–५ मनकुलबेँसीस्थित खानेपानी, नमोबुद्ध नगरपालिकाको ६ नं वडास्थित बृहत् खानेपानी तथा ५ नं वडाको कानपुर खानेपानी, मण्डनदेउपुर नपा–९ रानीटारस्थित खानेपानी र मण्डदनदेउपुर–७ को खानेपानीका लागि राखिएका ट्रान्सफर्मर चोरेका थिए ।

प्रहरीले चोरीमा संलग्न बा१ज ८७३४ नम्बरको मिनीभ्यान नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दोलखाका २२ वर्षीय प्रल्हाद बस्नेत, २७ वर्षीय सुनिल बस्नेत, ३० वर्षीय दिकुल खत्री, २१ वर्षीय प्रविन बस्नेत र २४ वर्षीय जगन्नाथ बस्नेत, काभ्रेका ४५ वर्षीय विष्णुबहादुर सार्की, सिन्धुपाल्चोकका २२ वर्षीय सन्तोष विक, ४२ वर्षीय राजेश विक, २८ वर्षीय कुमार विक र २४ वर्षीय प्रेम मिजार रहेको प्रहरीले जनाएको छ । विभिन्न मितिमा समातिएका उनीहरूलाई जिल्ला अदालतमार्फत म्याद थपी अनुसन्धान भइरहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x