Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिँचाइ परियोजनामा करिब १५ अर्ब सहुलियतपूर्ण ऋण लिँदै सरकार

सिँचाइ परियोजनामा करिब १५ अर्ब सहुलियतपूर्ण ऋण लिँदै सरकार


सरकारले सिँचाइ परियोजनाका लागि करिब १५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने एक सय १० मिलियन अमेरिकी डलर (१४ अर्ब ६३ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (करिब एक अर्ब ९९ करोड रुपैयाँ) अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिँदै सहुलियतपूर्ण ऋण र अनुदान स्वीकार गर्नका लागि सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ताटोली गठन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बताए ।

मन्त्रिपरिषद् बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा रमेश आचार्य, धादिङलाई नियुक्त गरेको छ । खाद्यले वैशाख ५ गते प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धा प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि सार्वजनिक सूचना जारी गरेको थियो । सार्वजनिक सूचना जरी भएपछि सर्वोच्च अदालतले जेठ ७ गते प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति प्रक्रिया स्थगन गर्न आदेश दिएकोमा जेठ १४ गते पदपूर्तिको लागि प्रक्रिया अघि बढाउन परमादेश दिएको थियो । सोसँगै खाद्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका २०७८ अनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत छनोटका लागि गठित सिफारिस समितिले सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको नाम सार्वजनिक गरेको थियो । जसको पहिलो नम्बरमा भक्तपुरका गोपीकृष्ण न्यौपाने, दोस्रोमा तनहुँका डिल्लीराज लम्साल र तेस्रोमा रमेश आचार्य, धादिङको नाम थियो ।

मन्त्रिपरिषद्ले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा प्रकाशप्रसाद पोखरेल, इलामलाई नियुक्त गरेको छ । लिमिटेडले २०८० जेठ २३ गते महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको थियो । खाद्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका २०७८ अनुसार लिमिटेडको महाप्रबन्धक छनोटका लागि गठित सिफारिस समितिले सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको नाम सार्वजनिक गरेको थियो । जसमा पहिलोमा बैतडीका कर्णबहादुर कुँवर, दोस्रोमा काठमाडौंको गोपल घिमिरे र तेस्रोमा इलाका प्रकाशप्रसाद पोखरेल थिए ।

साउन २९ गतेदेखि ३२ गतेसम्म भुटानमा हुने ‘फोरकम अफ द इलेक्सन म्यानेजमेन्ट बडिज अफ साउथ एसिया’ को १२औँ सम्मेलनका सन्दर्भमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गरेको छ । गुह मन्त्रालयले भ्रमणको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । मन्त्रिपरिषदले भू–उपयोग ऐन २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ञ) बमोजिम संघीय भूृ–उपयोग परिषद्को सदस्यमा डा. रेवतीरमण पौडेल, चितवन, डा. यमुना घले, चितवन, डा. रेश्मा श्रेष्ठ, काठमाडौं र जगतबहादुर देउजालाई मनोनयन गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव गरेको नेपाल सरकारका नाममा दर्ता रहेको सिरहा जिल्ला नवराजपुर गाउँपालिका वडा नम्बर ४ को १९ विद्या जग्गा इलाका प्रहरी कार्यालय झाँझपट्टी, सिरहालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । उसले नेपालको नागरिक उड्डयान क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । भने निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x