Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमारवाडी समुदायले बैंकसँग मिलेर यसरी सिध्याउँछन् नेपाली उद्योग

मारवाडी समुदायले बैंकसँग मिलेर यसरी सिध्याउँछन् नेपाली उद्योग

चार करोड नदिन लतिकाको सेटिङ, गोल्यानले भने, ‘यसमा म जोडिएँ, घर खाली गरिदेऊ’


काठमाडौं । महेन्द्रसिंह जज एक युवा उद्यमी हुन् । उनले नेतृत्व गरेको कम्पनी गोदावरी इन्टरनेसनल लिमिटेड हो । गोदावरी इन्टरनेसनल एउटा त्यस्तो कम्पनी हो, जुन कम्पनीमा विश्व बैंकको समेत लगानी थियो । साथै यो कम्पनी नेपालको पहिलो त्यस्तो कम्पनी हो, जसले नेपालको छुर्पी अमेरिकामा निर्यात गर्छ । तर, यो कम्पनी अहिले मारवाडी समुदायको निशानामा परेको छ ।

मारवाडी समुदायले विभिन्न बाहनामा एउटा बैंकसँग मिलेर सम्पत्ति हड्प्न गरेको धरकपड, बाध्य भएर सम्पत्ति बिक्री गरेपछि पनि बैंकको तिर्नुपर्ने साँवाब्याजको दायित्व मात्र मिलाएर बाँकी रकम भुक्तानी नदिई स्थानीय टोलेगुण्डा, उच्च राजनीतिक नेतृत्व र प्रशासन समेतको मिलेमतोमा घर खाली गराउन दिएको धम्की र बलजफ्ती गरेर यस उद्योगलाई धराशायी बनाउने कोसिस गरिएको छ । यस घटनालाई हेर्दा नेपालको धेरैजसो बैंक मारवाडी समुदायको मतियार भएको र यसले कसरी मारवाडी समुदायको स्वार्थसिद्ध हुनेगरी काम गर्छ, राम्रोसँग चलिरहेको निर्यातजन्य उद्योगलाई बन्दै गर्नुपर्ने अवस्थामा ल्याएर सम्पत्ति हडप्न खोज्छ भन्ने कुराको बलियो उदाहरण पनि हो ।

गोदावरी इन्टरनेसनल कोभिड–१९ महामारीअघिसम्म निकै राम्रोसँग चलेको नेपाली निर्यातजन्य उद्योग हो । यो उद्योगले नेपालको हिमाली भेगमा उत्पादन हुने छुर्पीलाई प्रशोधन गरेर अमेरिका निर्यात गर्थ्यो । अमेरिकामा घरपालुवा कुुकुरहरुको लागि नेपाली छुर्पीको माग उच्च थियो र अहिले पनि छ । यही सम्भावनाका बाबजुत युवा उद्यमी महेन्द्रसिंह जजले नेपालको छुर्पी निर्यातको लागि गोदावरी इन्टरनेसनल लिमिटेड नामक कम्पनी खोले । यो कम्पनी खोल्नुको कारण महेन्द्रले अमेरिकामा छुर्पीको माग उच्च रहेको बुझेका थिए, देखेका थिए ।

किनकि उनले अमेरिकामा नेपाली छुर्पीको मागको बारेमा अष्ट्रेलिया बसेर अध्ययन गर्दा नै थाहा पाएका थिए । त्यसपछि उनी नेपाल फर्किएर छुर्पी निर्यातको लागि उद्योग खोले । यो उद्योगमा विश्व बैंकले समेत केही लगानी गरिदियो । यसरी उद्योग खोलेपछि महेन्द्रले नेपालको हिमाली क्षेत्रमा उत्पादन भएको उच्चगुणस्तरको छुर्पीलाई प्रशोधन गर्दै अमेरिका निर्यात गर्न थाले । उनको यो निर्यातले नेपालको हिमाली क्षेत्रको अर्थतन्त्र धेरै हदसम्म चलायमान भयो, त्यहाँको स्थानीय उत्पादनले अमेरिकी बजारमा प्रवेश पायो । यसले नेपालको निर्यातजन्य उद्योग र मुलुकको बढ्दो वैदेशिक व्यापारघाटा कम गर्न केही हदसम्म योगदान दिएको छ ।

व्यापार राम्रैसँग चलिरहेको बेला कोभिड–१९ महामारीबाट यो उद्योग पनि प्रभावित भयो । लामो समयसम्म उत्पादन बन्द गर्नुपर्ने अवस्था आयो । बन्दाबन्दीका कारण निर्यात सम्भव भएन । उत्पादन भइसकेको ठूलो परिमाणको छुर्पी नष्ट भयो । कोभिड १९ को असर उद्योगलाई पर्यो । तर, बैंकलाई नपरेको जस्तो देखियो । महेन्द्रले उद्योग सञ्चालनको लागि सानिमा बैंकबाट चालू पुँजी कर्जा लिएका थिए । तर, बैंकले कर्जा दिँदा नै स्वीकृत कर्जामा केही महिनाको ब्याज समेत कटाएर कर्जा दियो । यस अर्थमा गोदावरी इन्टरनेसनलले सानिमा बैंकबाट चालु पुँजी शीर्षकमा स्वीकृत भएको कर्जा भन्दा निकै कम मात्र रकम पायो । खैर, जे भए पनि उद्योग चल्दै थियो । तर यहीबीचमा आएको कोभिड–१९ महामारीले उद्योगमा नराम्रो असर गर्यो । उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पनि बैंकको साँवाब्याजले उनलाई छोडेन । बैंकको साँवाब्याज तिर्नको लागि महेन्द्रले केही व्यक्तिहरुसँग केही रकम सरसापट लिएर चलाए । तर, व्यक्तिसँग लिएको रकम मागेपछि तुरुन्त दिनुपर्ने भयो । त्यो रकम तिर्र्नको लागि महेन्द्रले ८० लाख रुपैयाँभन्दा बढी पर्ने आफूले चढ्दै आएको गाडी झण्डै ३० लाख रुपैयाँमा बेचेर ती केही व्यक्तिहरुको रकम चुक्ता गरिदिए ।

कोभिड–१९ को असर छँदै थियो । उद्योग चल्न सकेको थिएन । बैंकले ब्याजमाथि ब्याज थप्दै गयो । सानिमा बैंकलाई तिर्न बुझाउनुपर्ने रकम १४ करोड रुपैयाँभन्दा बढी पुगिसकेको रहेछ । कोभिड–१९ प्रभाव विस्तारै कम भएपछि उद्योग बिस्तारै चल्न थाले पनि एकाध वर्षमा नै बैंकको उक्त कर्जा चुक्ता गरिसक्ने अवस्था थिएन । कर्जा चुक्ता गर्नको लागि बैंकले गर्दै आएको निरन्तरको ताकेता, साँवाब्याजको दायित्व बढ्दै गएपछि महेन्द्रले उद्योगको नाममा रहेको सम्पत्ति मात्र बिक्री गरी बैंकको ऋण दायित्वबाट मुक्त हुने योजना बनाए ।

एउटा कुरा यो पनि स्मरणीय छ कि, नेपालको बैंकिङ क्षेत्रमा एउटा यस्तो समूह छ, जसले बैंकसँगको सेटिङमा अप्ठ्यारोमा परेका ऋणीहरुको ऋण सकार गरी प्राइम ठाउँको जग्गा र अन्य भौतिक सम्पत्ति हडप्ने गरेको छ । ऋण दायित्व सकार गर्ने नाममा महेन्द्रसँग पनि यस्तै एउटा व्यापारिक समूह जोडियो । त्यो समूह हो, गोल्यान । विभिन्न बैंक, बीमा, होटल र धेरै उद्योगहरुमा हात हालेको यो समूहले अहिले कृषिमा सरकारी सहुलियत कर्जा र अनुदानको लागि विभिन्न कृषिजन्य उद्योग र फर्महरु दर्ता गरी अबौंँ रुपैयाँ चलाएको छ ।

पीडित महेन्द्रसिंह जजले यो समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जोडिएको लेकाली कोर्प प्रालिले गोदावरी इन्टरनेसनल लिमिटेडको नाममा ललितपुरको गोदावरीमा रहेको ६० आना जग्गामा बनेको घर बंगला र उद्योग कम्पाउन्डसहितको सम्पत्ति १९ करोड रुपैयाँमा खरिद गर्ने प्रस्ताव गरेको र सोही प्रस्तावअनुसार लेकाली कोर्पले गोदावरी इन्टरनेसनलको नाममा सानिमा बैंकमा रहेको १४ करोड ३० लाख ऋण चुक्ता गरिदिने र बाँकी रकम केही महिनाभित्रमा किस्ताबन्दीमा दिने सहमति भएकोे बताए । सहमतिअनुसार लेकाली कोर्पले सानिमा बैंकको ऋण चुक्ता गरिदियो । बाँकी दिनुपर्ने चार करोड रुपैयाँ भने दिएन । विभिन्न बहाना बनाएर रकम नदिन मिति सार्दै गयो र तर रकम दिएन । उल्टै गोदावरी इन्टरनेसनलको नाममा रहेको जग्गा लेकाली कोर्पले खरिद गरेको भन्दै घर खाली गरिदिन स्थानीय प्रशासन, टोलेगुण्डा, राजनीतिक नेतृत्वको प्रयोग गर्यो । डर, त्रास र धम्की दिएर घर खाली गराउन निरन्तर दबाब दिइरह्यो ।

दबाब खप्न नसकेर मानसिकरुपमा विक्षिप्त भई महेन्द्रकी श्रीमतीले ललितपुरको कुपण्डोलमा नै रहेको आफ्नो व्यवसायको सटर नै बन्द गरी आफ्नो १० वर्षीय छोरीलार्ई समेत लिएर आफू र आफ्नो छोरीको जिउधनको सुरक्षाको लागि भन्दै दिल्ली गइन् । अहिले पनि गोल्यान समूहले बाँकी रकम दिनु त परको कुरा निरन्तर घर खाली गराउन दिनदिनै फरक–फरक गुण्डाहरु प्रयोग गरी धम्की दिँदै आएको छ । धम्कीका कारण आफ्नी आमा निकै चिन्तित र हतोत्साही भएको र शारीरिक एवं मानसिकरुपमा कमजोर भएको महेन्द्रले बताए ।

‘आफूले बिक्री गरेको सम्पत्ति दिने हो, तर बिक्री गरेबापतको रकम त पाउनु पर्यो नि । हामीले पाउनुपर्ने चार करोड रुपैयाँ पाउनु पर्यो । हामी घर खाली गरिदिन्छौँ’, उनी भन्छन्, ‘सम्झौताअनुसारको बाँकी रकम नदिनकै लागि गोल्यानले यो जालझेल र डर धम्की दिएको हो । यसको विरुद्ध म कानुनी उपचारमा गइसकेको छु, मलाई घर खाली गर्न समस्या होइन । सम्झौताअनुसारको रकम भुक्तानी दिनुपर्यो, हामी घर खाली गरिदिन्छौँ ।’

गोदावरी इन्टरनेसनलसँगको विवादको बारेमा लेकाली कोर्पकी लतिका गोल्यानको एनसेल नम्बरमा पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन । सोही प्रकरणमा अप्रतक्षरुपमा जोडिएका भनिएका पवन गोल्यानसँग सम्पर्क गर्दा फोन लागे पनि फोन उठेन ।

को हो, जग्गा खरिद गर्ने लेकाली कोर्प ?
लेकाली कोर्प गोदावी इन्टरनेसनल कम्पनीको नाममा ललितपुरको गोदावरीमा रहेको जग्गा र बंगला खरिद गर्ने कम्पनी हो । यो कम्पनीमा लतिका गोल्यान, निकोलश पाण्डे र तुषार तोडीको लगानी छ । गोदावरी इन्टरनेसनलसँग भएको मुद्दाकै कारण यो कम्पनीको नाउँमा रहेको खाता रोक्का रहेको छ । कम्पनीको सानिमा बैंकमा रहेकोमा अमेरिकी डलर सात हजार छ सय रोक्का छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x