Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशदोलखाका नौ स्थानीय तहको ४८ करोड बढी रकम फ्रिज

दोलखाका नौ स्थानीय तहको ४८ करोड बढी रकम फ्रिज


दोलखा । जिल्लाका नौ स्थानीय तहमा संघ र प्रदेश सरकारबाट आएको ४८ करोड बढी बजेट खर्च गर्न नसकेपछि फ्रिज गएको छ । यहाँ रहेका दुई नगरपालिका र सात गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ४८ करोड तीन लाख ७५ हजार रुपैयाँ रकम खर्च नगरी फिर्ता गरेको कोष तथा लेखा नियन्त्रणको कार्यालय दोलखाले जनाएको छ ।

यहाँका स्थानीय तहहरूले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि ५५ करोड बढी बजेट खर्च गर्न नसकेपछि फ्रिज गएको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्षको बजेटबाट विनियोजित ससर्त, विशेष र समपूरक अनुदानमार्फत आएको रकम फिर्ता गएको हो । पालिकाहरूले विभिन्न कारणले खर्च गर्न नसकी तथा काम सम्पन्न भएपश्चात बाँकी रहन गएको सो रकम फिर्ता गरेका हुन् । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार विभिन्न योजनाका लागि विनियोजित रकममध्ये शून्य खर्च भई पाँच करोड ४८ लाख ९७ हजार रुपैयाँ फिर्ता भएको छ भने कार्य सम्पन्नपश्चात बाँकी रहन गएको रकम ४२ करोड ५४ लाख ७८ हजार १७ रुपैयाँ फिर्ता भएको छ । फिर्ता भएको रकममध्ये सबैभन्दा बढी भीमेश्वर नगरपालिकाबाट तथा सबैभन्दा कम वैतेश्वर गाउँपालिकाबाट फिर्ता भएको कार्यालयले जनाएको छ ।

भीमेश्वर नगरपालिकाबाट ११ करोड ८३ लाख ८१ हजार रुपैयाँ फिर्ता भएको छ भने वैतेश्वर गाउँपालिकाबाट दुई करोड ६४ लाख २० हजार रुपैयाँ फिर्ता भएको छ । त्यसैगरी तामाकोशी गाउँपालिकाबाट सात करोड २४ लाख ७१ हजार रुपैयाँ, गौरीशंकर गाउँपालिकाबाट छ करोड पाँच लाख २५ हजार रुपैयाँ, विगु गाउँपालिकाबाट चार करोड ५६ लाख ५७ हजार रुपैयाँ र जिरी नगरपालिकाबाट चार करोड ४० लाख ३३ हजार रुपैयाँ फिर्ता भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मेलुङ गाउँपालिकाबाट चार करोड दुई लाख ७४ हजार रुपैयाँ, शैलुङ गाउँपालिकाबाट तीन करोड ७७ लाख ६७ हजार रुपैयाँ र कालिञ्चोक गाउँपालिकाबाट तीन करोड ४८ लाख ४२ हजार रुपैयाँ फिर्ता भएको छ ।

समग्रमा दोलखाका स्थानीय तहहरूको लागि गत आर्थिक वर्षमा प्रदेश तथा संघबाट विनियोजित रकममध्ये एक दशमल ९० प्रतिशत रकम खर्च नभई फिर्ता भएको छ भने कार्यसम्पन्नपश्चात बाँकी हुन गएको १४ दशमलब ७५ प्रतिशत रकम फिर्ता भएको छ ।


क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x