सरकारको आम्दानी र खर्चभन्दा धेरै व्यापार घाटा
एक महिनामा मुलुकको व्यापार घाटा सर्वा खर्ब रुपैयाँ भएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस आर्थिक वर्ष २०८१÷८२को साउन महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १६ अर्ब १५ करोड नौ लाख रुपैयाँ भएको छ । जुन गत आर्थिक वर्ष २०८०÷८१ को साउन महिनाको भन्दा शून्य दशमलव ३८ प्रतिशतले बढी हो । एक वर्षअघि साउनमा व्यापार घाटा एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख रुपैयाँ थियो ।
सरकारको आम्दानी र खर्चभन्दा मुलुकको व्यापार घाटाको आकार बढी छ । साउनमा सरकारको कुल आम्दानी ९६ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ छ भने खर्च ४० अर्ब २० करोड ७६ लाख रुपैयाँ मात्रै छ । सरकारको आम्दानीको ठूलो हिस्सा आयात राजस्वमा निर्भर छ । जसले गर्दा सरकारको आम्दानीभन्दा आयात व्यापारको आकार ठूलो हुने निश्चित छ । राजस्वको लक्ष्य परिपूर्ति गर्नका लागि सरकारले आयातलाई प्रोत्साहन नीति लिँदा मुलुकको कृषि, उत्पादन, सेवा, ऊर्जा, खनिज पर्यटनलगायतका क्षेत्रहरूमा लगानी खुम्चिँदै गएको छ । आन्तरिक उत्पादनलाई बढवा दिने र आन्तिरक उत्पादन तथा सेवामार्फत राजस्वको लक्ष्य पूरा गर्ने लक्ष्य लिन नसक्दा व्यापारमा समेत घाटा बेहोर्नुपर्ने अवस्था सिर्जना भएको विज्ञहरू बताउँछन् ।
एक वर्षअघिको तुलनामा साउनमा आयात र निर्यात व्यापार दुवै घटेको छ । साउनमा आयात व्यापार शून्य दशमलव ६७ प्रतिशत र निर्यात व्यापार नौ दशमलव ६३ प्रतिशतले घटेको छ । साउनमा एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आयात एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँबराबर थियो । आयातको तुलनामा निर्यात धेरै घट्दा व्यापार घाटा भने केही बढेको छ ।
समीक्षा अवधिमा पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादन, मेसिनरी तथा पाट्र्स, कच्चा भटमास, औषधि, विद्युतीय सामग्री, यातायातका साधन र तिनका पार्टपुर्जा, कच्चा पाम तेल, अन्न, तयारी पोसाक, दूरसञ्चार सामग्री र सुनलगायतका सामग्रीहरूको उच्च आयात भएको छ ।
साउनमा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको निर्यात व्यापार रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा निर्यात व्यापार १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँबराबर थियो । समीक्षा अवधिमा फलाम तथा फलामका उत्पादनहरू, यार्न, उनी गलैँचा, तयारी पोसाक, जुस, अलैँची, प्लाइउड, जुट तथा जुटका सामानहरू, उनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना सल, कुकुर विरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादनहरू निर्यात भएका छन् ।
समीक्षा अवधिमा कुल वैदेशिक व्यापारमा समेत कमी आएको छ । चालू आर्थिक वर्षको साउनमा एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँबराबरको कुल वैदेशिक व्यापार रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार समेत एक दशमलव ५२ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा आयात÷निर्यातको अनुपात १० दशमलव ५० छ ।
सात अर्बको पेट्रोलियम पदार्थ आयात
चालू आर्थिक वर्षको साउनमा सबैभन्दा बढी परिणाममा पेट्रोलियम पदार्थको आयात गरिएको छ । समीक्षा अवधिमा सात अर्ब २८ करोड ६८ लाख रुपैयाँबराबरको पेट्रोलियम पदार्थको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोलियम पदार्थमध्ये पेट्रोल तीन अर्ब ४४ करोड ९५ लाख रुपैयाँ, डिजेल दुई अर्ब ९३ करोड ७० लाख रुपैयाँ र खाना पकाउने एलपीजी ग्यास ९० करोड एक लाख रुपैयाँको आयात गरिएको छ । समीक्षा अवधिमा मोबाइल ६४ करोड ६२ लाख ९१ हजार रुपैयाँ, मोटरसाइकलका पार्टपुर्जा एक अर्ब २३ करोड ७२ लाख ७९ हजार रुपैयाँ, कच्चा सूर्यमुखी तेल ६१ करोड ११ लाख ३३ हजार रुपैयाँ, फलामजन्य सामग्री ६० करोड ८३ लाख १४ हजार रुपैयाँ, पेट्रोलियम सवारीसाधन (१००० देखि १५०० क्षमता)को ५५ करोड ४२ लाख १७ हजार रुपैयाँ, विद्युतीय सवारीसाधन ३७ करोड ४० लाख ७१ हजार रुपैयाँ र भटमास २९ करोड ३९ लाख ७३ हजार रुपैयाँबराबरको आयात गरिएको छ ।
एक अर्बको गलैँचा निर्यात
चालू आर्थिक वर्षको साउनमा करिब सवा अर्बको गलौँचा निर्यात गरिएको छ । समीक्षा अवधिमा गलैंचा एक अर्ब ११ करोड ७५ लाख १८ हजार रुपैयाँ, यार्न ६९ करोड ४८ लाख ६९ हजार रुपैयाँ, ऊन ५८ करोड २० लाख ३१ हजार रुपैयाँ, चिया ५१ करोड ३२ लाख ९९ हजार रुपैयाँ, स्टिल तथा फलामजन्य सामग्री ४७ करोड ९७ लाख तीन हजार रुपैयाँ, ओयल केक ४३ करोड ३१ लाख ७५ हजार रुपैयाँ, फलफूलजन्य रस ३५ करोड २६ लाख ३० हजार रुपैयाँ, जुटजन्य सामग्री ३१ करोड ६४ लाख ३१ हजार रुपैयाँ र पस्मिना ३० करोड नौ लाख ३९ हजार रुपैयाँबराबरको निर्यात भएको छ ।
सबैभन्दा धेरै व्यापार घाटा भारतसँग
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको साउनमा सबैभन्दा बढी व्यापार घाटा नेपालले भार, चीन र कतारसँग बेहोरेको छ । समीक्षा अवधिमा नेपालले सबैभन्दा धेरै भारतसँग ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ, चीनसँग २४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ, कतारसँग दुई अर्ब ९१ करोड ६८ लाख रुपैयाँ, युक्रेनसँग दुई अर्ब ३० करोड दुई लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
समीक्षा अवधिमा नेपालले अष्ट्रेलियासँग एक अर्ब ९२ करोड ५३ लाख रुपैयाँ, बहराइनसँग एक अर्ब ५५ करोड ८१ लाख रुपैयाँ, मलेसियासँग एक अर्ब ४७ करोड ३४ लाख रुपैयाँ, इन्डोनेसियासँग एक अर्ब २६ करोड ११ लाख रुपैयाँ र टर्कीसँग एक अर्ब तीन करोड २९ लाख रुपैयाँ व्यापार घाटा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया