Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशदेशकै पुरानो भद्रपुर नाकाबाट वर्षौंदेखि निर्यात शून्य

देशकै पुरानो भद्रपुर नाकाबाट वर्षौंदेखि निर्यात शून्य


झापा । विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो ।

विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक नाकाका रुपमा परिचित भद्रपुरको भन्सार नेपालकै पुरानो मानिन्छ । तर, विसं २०७५ भदौ १९ गते मात्र यसले छोटी भन्सारबाट स्तरोन्नति हुँदै मुख्य भन्सारको मान्यता पाएको हो ।

मुख्य भन्सारको मान्यता पाएपछि भद्रपुर भन्सार कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति र क्षेत्राधिकार बढेको छ । तर, निर्यात व्यापारको ढोका भने अहिलेसम्म खुल्न नसकेको जनाइएको छ ।

नेपालले भन्सारको स्तरोन्नति गरेजस्तै सीमापारिको गलगलियास्थित भारतीय नाकाको स्तरोन्नति हुन सकेको छैन । गलगलिया अहिले पनि छोटी भन्सारका रुपमा सञ्चालन भइरहेको छ । त्यहाँ सामान भण्डारण गर्ने गोदाम र जाँचपास गर्ने एजेन्टलगायत सुविधा नभएको जनाइएको छ ।

विसं २००७ पछि नेपालबाट चामल, काठलगायतका सामान भारत निर्यात गर्ने मुख्य नाकाका रुपमा भद्रपुर चिनिएको थियो । काँकडभिट्टामा मेची पुल र राजमार्ग विस्तार भएपछि भद्रपुरको व्यापार क्रमशः ओरालो लागेको हो । आर्थिक वर्ष २०७६/७७ देखि गत आव २०८०/८१ सम्म पाँच वर्षको अवधिमा भद्रपुर भन्सार कार्यालयले रु ९९ करोड ७७ लाख राजस्व असुली गरेको कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनप्रसाद सिटौलाले बताए । उहाँका अनुसार आव २०७६/७७ मा १४ करोड ४९ लाख, आव २०७७/७८ मा रु २७ करोड ३४ लाख, आव २०७८/७९ मा २४ करोड १३ लाख, आव २०७९/८० मा नौ करोड ४७ लाख र आव २०८०/८१ मा २४ करोड ३४ लाख राजस्व असुली भएको छ ।

चालू आव २०८१/८२ मा भद्रपुर भन्सारले ३३ करोड १३ लाख राजस्व असुलीको लक्ष्य निर्धारण गरेको छ । आव २०८०/८१ मा १२ करोड सात लाख असुलीको लक्ष्य लिएको कार्यालयले आश्चर्यजनक उपलब्धि हासिल गर्दै २४ करोड ३४ लाख राजस्व असुली गरेको थियो । विगत पाँच वर्षमा असुली भएको रु ९९ करोड ७७ लाख भन्सारबाट आयात भएको मालसामानको महसुलबापत हो । हालसम्म यस भन्सारबाट नेपाली कुनै पनि सामान निर्यात नभएको हुँदा निर्याततर्फको राजस्व शून्य रहेको भन्सार प्रमुख सिटौलाले स्वीकार गर्नुभयो ।

व्यापारिक नाका भनेकै दोस्रो र तेस्रो मुलुकसँग सामानको आयात र निर्यात गर्ने स्थान हो । तथापि भद्रपुर नाका नेपालका लागि सामान भित्र्याउने नाकामा सीमित हुन पुगेको छ ।

सीमावर्ती गलगलिया नाका भारतको विहार प्रान्तअन्तर्गतको कम प्राथमिकतामा परेको भन्सारको सूचीमा रहेको छ । गलगलिया भन्सारमा भौतिक पूर्वाधार, गोदाम, भन्सार एजेन्टलगायतको सुविधा छैन । स्थानीय व्यवसायीका अनुसार पाँच लाखभन्दा बढी मूल्यका सामान नेपाल ल्याउनसमेत गलगलिया भन्सारले दिएको छैन । पाँच लाखभन्दा बढी मूल्यका सामान फारवेसगञ्ज नाकाबाट जाँचपास गराएर मात्र नेपाल ल्याउन पाइने नियमका कारण नेपाली व्यवसायी हैरान छन् ।

भद्रपुर भन्सार कार्यालयका प्रमुख सिटौलाले यस नाकाबाट लत्ताकपडा, चिया उद्योगका पार्टपूर्जा, प्याकिङ मेटेरियल, प्लाइउड उद्योगमा प्रयोग हुने रेजिनलगायतका केमिकल र बालीनालीमा प्रयोग हुने विषादीजन्य वस्तुहरु आयात हुनेगरेको जानकारी दिए ।

झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठले भारतीय नाकाको भन्सारलाई स्तरोन्नति गरिने हो भने नेपालबाट चिया, प्लाइउडलगायत बर्सेनि अर्बौं मूल्यका नेपाली उत्पादन निर्यातको बाटो खुल्ने सम्भावना रहेको बताए । उनले भारतीय भन्सारले कोड प्राप्त गरेपछि क्वारेन्टाइनलगायत अन्य कार्यालय स्थापना गर्न जरुरी रहेको बताए । गलगलिया भन्सारमा चाँडै भन्सार एजेन्टहरु नियुक्त हुने जानकारी आएकोसमेत उनले बताए ।

नेपालकै पुरानो भन्सार भए पनि विगतमा मेची नदीमा पुल नभएका कारण व्यापार प्रभावित भएको थियो । विसं २०७६ मा मेची नदीमा पक्की पुल निर्माण भइसकेको छ । नेपालतर्फ छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सार घोषणा भएपछि भन्सारमा जनशक्ति थप गरेर २० जना पुर्याइएको छ । भद्रपुर भन्सार कार्यालय मातहतमा पाठामारी, घेराबारी, पन्थापाडा, केचना र कुमरखोद गरी पाँच वटा छोटी भन्सार छन् । कुमरखोदबाहेक अरु छोटी भन्सारको गतिविधि ठप्प रहेको छ ।


क्याटेगोरी : बिबिध, समाचार, कोशी प्रदेश
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x