Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारनिर्जीवन बीमा कम्पनीको लगानी साढे ६६ अर्ब

निर्जीवन बीमा कम्पनीको लगानी साढे ६६ अर्ब


निर्जीवन बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा गर्दै आएको लगानीमा वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८०÷८१ मा ६६ अर्ब ५२ करोड २० हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, संस्थाको अग्राधिकार सेयर, बन्ड, डिभेन्चर र ऋणपत्र, घर जग्गा, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर गरी मुख्य १४ वटा क्षेत्रमा बढी लगानी गर्दै आएको पाइन्छ । निर्जीवन बीमा कम्पनीहरूले कानुनसम्मत तोकिएको क्षेत्रमा लगानी गर्दै आएको रकममा वृद्धि भएको प्राधिकरणका अधिकारीहरूले बताएका छन् ।

समीक्षा अवधिमा सबैभन्दा बढी लगानी गर्ने कम्पनीहरूमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेनस र नेको इन्स्योरेन्स रहेका छन् । समीक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आठ अर्ब ४६ करोड तीन लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले आठ अर्ब आठ करोड ५१ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले छ अर्ब २१ करोड १२ लाख रुपैयाँ, नेको इन्स्योरेनस कम्पनीले छ अर्ब १० करोड दुई लाख रुपैयाँ, नेपाल इस्योरेन्स कम्पनीले चार अर्ब २३ करोड दुई लाख रुपैयाँ, द आरेन्टल इन्स्योरेन्स कम्पनीले तीन अर्ब २९ करोड २१ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्स कम्पनीले दुई अर्ब ५४ करोड ८७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स कम्पनीले दुई अर्ब ४६ करोड ९१ लाख रुपैयाँ लगानी गरेका छन् ।

समीक्षा अवधिमा शिखर इन्स्योरेनस कम्पनीले चार अर्ब ६२ करोड ५३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले दुई अर्ब ९१ करोड ९२ लाख रुपैयाँ, हिमालयन इभरेस्ट इन्स्योरेन्स कम्पनीले पाँच अर्ब दुई करोड २२ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले तीन अर्ब ३४ करोड ६१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पाँच अर्ब १९ करोड १७ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले चार अर्ब एक करोड ७८ लाख रुपैयाँ लगानी गरेका छन् । निर्जीवन कम्पनीहरूले घरजग्गामा भने लगानी गरेका छैनन् । प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार कम्पनीहरूले घरजग्गाबाहेक संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वाणिज्य बैंकको मुद्दती निक्षेपमा, पूर्वाधार बैंकको मुद्दती निक्षेपमा र सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरलगायतका शीर्षकमा भने पर्याप्त लगानी गरेका छन् । समीक्षा अवधिमा उक्त कम्पनीहरूले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा २१ करोड ५३ लाख रुपैयाँ, वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४६ अर्ब छ करोड पाँच लाख रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा पाँच अर्ब ४८ करोड ६४ लाख रुपैयाँ, वित्त कम्पनी तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब १७ करोड रुपैयाँ, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा तीन अर्ब ८६ करोड पाँच लाख रुपैयाँ, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिभेन्चर र ऋणपत्रमा तीन अर्ब २४ करोड ३८ लाख रुपैयाँ सूचीकृत पब्लिक लिमिटेडको कम्पनीको बन्ड डिभेन्चर र ऋणपत्रमा ९९ करोड ५४ लाख रुपैयाँ लगानी गरेका छन् । कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत्, सौर्य ऊर्जालगायतका नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत् प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा एक अर्ब दुई लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचअल फन्डमा ७२ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् । इन्भेस्टमेन्ट कम्पनीको सेयरमा १४ करोड १२ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा एक अर्ब ४१ करोड ७९ लाख रुपैयाँ, सूचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको सेयरमा एक करोड ९१ लाख रुपैयाँ र अन्य लगानी दुई अर्ब १८ करोड आठ लाख रुपैयाँ लगानी गरेका छन् ।

निर्जीवन बीमकको लगानी निर्देशन (पहिलो संशोधन) २०८० अनुरूप निर्जीवन बीमा कम्पनीहरूले बचतकोष, निक्षेपकोष, कृषि, सेवालगायतका सरकारका विभिन्न कोषहरूमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ भने सोही व्यवस्थामा रही कम्पनीहरूले लगानी गर्दै आएको पाइन्छ । निर्देशनबमोजिम निर्जीवन बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावलीबमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्दा कुल लगानीको बढीमा एक दशमलव पाँच प्रतिशत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । कम्पनीले लगानी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सेयरमा लगानी गरिने कम्पनीको चुक्तापुँजीको १५ प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरिएको छ । यदि कुनै कारणले तोकिएको सीमाभन्दा कम वा बढी लगानी भएमा सीमा नाघेको ३० कार्यदिनभित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याई सक्नुपर्नेछ । तर मुद्दती निक्षेप वा डिभेन्चरमा गरिएको लगानी परिपक्व नभएसम्म सो रकम बराबरको लगानी यस निर्देशनबमोजिम भएको मानिने छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा कम्तीमा तीन वटा सर्त पालना गर्नुपर्नेछ । राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको, तोकेको सीमाभन्दा बढी निष्कृय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारबाहीमा नपरेको हुनुपर्नेछ ।


क्याटेगोरी : बीमा बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x