फौजदारी अनुसन्धानका लागि टेलिग्रामका मालिकलाई फ्रान्स छाड्नमा रोक
काठमाडौं,टेलिग्राम एपका संस्थापक तथा प्रमुख कार्यकारी पावेल डुरोफलाई फ्रान्समा सङ्गठित अपराधको एउटा अनुसन्धानका क्रममा अभियोग चलाइएको छ।
रुसमा जन्मिएका अर्बपतिलाई ५५ लाख अमेरिकी डलरको जमानतमा रिहा गरिएको भए पनि उनले फ्रान्सको भूभाग छाड्न पाउने छैनन्।
फ्रान्सका समेत नागरिक रहेका डुरोप हप्तामा दुई पटक फ्रान्सको प्रहरी चौकीमा हाजिर हुनु पर्नेछ।
उनले सामना गरेका कैयौँ अभियोगमध्ये उक्त एपमा अतिवादी र गैरकानुनी सामग्रीसँग जुझ्न विफल भएको, बाल दुर्व्यवहारका तस्बिरहरूको वितरणसम्बन्धी विषयको अनुपालनसहितका छन्।डुरोफ चार दिनसम्म न्यायिक हिरासतमा रहेका थिए।उनका वकिलले डुरोफमाथि “निरर्थक” आरोप लगाइएको भन्दै टेलिग्रामले युरोपेली डिजिटल नियमहरूलाई पूर्ण रूपमा पालना गरिरहेको बताए।
फ्रान्सका प्रहरीले प्यारिसभन्दा उत्तरमा अवस्थित एक विमानस्थलबाट शनिवार उनलाई टेलिग्रामसँग सम्बन्धित अभियोगलाई कारण देखाएर पक्राउ गरेका थिए।
आरोपबुधवारको विज्ञप्तिमा प्यारिसस्थित अभियोजनकर्ताहरूले डुरोपलाई विभिन्न फौजदारी आरोपको औपचारिक अनुसन्धानमा ल्याइएको जनाएका छन्। ती यस्ता छन्:
उक्त अनलाइन प्लेटफर्ममा सङ्गठित गिरोहले अवैध लेनदेन गर्न सक्षम गर्ने गरी रहेको प्रशासनिक जटिलता
अधिकारीहरूसँग संवाद अस्वीकार
सङ्गठित अपराधका रूपमा बालबालिकाको यौनजन्य तस्बिर वितरण अनुपालनको विषय
फ्रान्समा औपचारिकरूपमा अनुसन्धानको दायरामा ल्याइनुलाई दोषी वा छानबिनको नतिजा आइसकेको भन्न मिल्दैन।
तर त्यो न्यायाधीशहरूले अनुसन्धान अगाडि बढाउनका लागि पर्याप्त आधार देखेको रूपमा बुझ्न सकिन्छ।
पछिल्ला घटनाक्रमलाई लिएर डुरोपले कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।सोसल मिडियाका मालिकलाई उक्त प्लेटफर्म प्रयोगको तरिकालाई लिएर पक्राउ गरिएको यो एउटा अभूतपूर्व घटना हो।
जसले अभिव्यक्ति स्वतन्त्रता र जवाफदेहिताबारे अनलाइनमा चर्को बहस निम्त्याएको छ।
एक्सका मालिक इलोन मस्कले डुरोपको बचाउ गर्दै उनको रिहाइको माग गरेका छन्। उनले ‘मोडरेसन’ अर्थात् सामग्रीलाई ‘मिलाउनु’ सेन्सरशिपको लागि “प्रोपागान्डा” हुने तर्क गरेका छन्।
रुस-युक्रेनमा लोकप्रिय एपटेलिग्राम रुस, युक्रेन र पूर्व सोभियत सङ्घ देशहरूमा विशेष रूपमा लोकप्रिय रहेको छ।
रुस युक्रेनबीच जारी युद्धमा सूचनाको प्रमुख स्रोत रहेको यस एपलाई किएभ र मस्को दुवैतर्फका अधिकारीहरूले व्यापक रूपमा प्रयोग गर्ने गर्छन्।
प्रयोगकर्ताको तथ्याङ्क दिन त्यसअघि अस्वीकार गरेका कारण सन् २०१८ मा उक्त एपमाथि रुसमा प्रतिबन्ध लगाइएको थियो।
तर सन् २०२१ मा उक्त प्रतिबन्ध हटाइएको थियो।
टेलिग्राम एउटा प्रमुख सामाजिक सञ्जाल हो। फेसबुक, यूट्यूब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र वीच्याटपछि यसका प्रयोगकर्ता धेरै रहेको ठानिन्छ।
डुरोफले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए।
उनले आफ्नो सामाजिक सञ्जाल भीकन्ट्याक्टमा रहेका विपक्षीहरूका समूहहरूलाई बन्द गर्ने सरकारको माग कार्यान्वयन गर्न अस्वीकार गर्दै सन् २०१४ मा रुस छाडेका थिए।
उनले उक्त प्ल्याटफर्म विक्री गरेका थिए।
यस वर्षभित्र मासिक प्रयोगकर्ताको सङ्ख्या एक अर्ब पुर्याउने लक्ष्य टेलिग्रामले राखेको छ।
टेलिग्राममाथि निगरानीफोर्ब्सले डुरोफको सम्पत्ति १५.५ अर्ब डलर रहेको आकलन गरेको छ। उनी सन् २०२१ मा फ्रान्सका नागरिक बनेका थिए।
सन् २०१७ मा आफू र टेलिग्राम दुवैलाई दुबईमा सारेका उनले यूएईको पनि नागरिकता लिएको फ्रान्सेली सञ्चारमाध्यमहरूले जनाएका छन्।
सरकारी सुरक्षा निकायहरूलाई प्रयोगकर्ताका ‘इन्क्रिप्टेड’ सन्देशहरूमा पहुँच दिन अदालतले दिएको आदेश नमानेको भन्दै रुसले सन् २०१८ बाट उक्त एपमाथि प्रतिबन्ध लगाउन थालेको थियो।
तर त्यसले त्यहाँ टेलिग्रामको उपलब्धतामा खासै असर नपारेको रोयटर्सले जनाएको छ।
उक्त कदमले मस्कोमा विरोध प्रदर्शनहरू निम्त्याएको थियो भने गैरसरकारी संस्थाहरूले सरकारको आलोचना गरेका थिए।पछिल्लो समय टेलिग्रामको बढ्दो लोकप्रियतामाझ फ्रान्ससहित कैयौँ युरोपेली देशहरूमा सुरक्षा र तथ्याङ्कको चुहावटलाई लिएर चिन्ताहरू प्रकट हुने गरेका छन्।
मे महिनामा युरोपेली सङ्घको प्रविधि नियामक निकायले इयूको अनलाइन सामग्रीहरूसम्बन्धी कानुन अन्तर्गतका कडा मापदण्डहरू पालना गर्नुपर्ने अवस्थाको नजिक टेलिग्राम पुगेको भन्दै उक्त सञ्जालसँग आफूहरू सम्पर्कमा रहेको बताएका थिए।(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया