Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकासूचना माग्नेलाई स्थान हद (घेराबन्दी)

सूचना माग्नेलाई स्थान हद (घेराबन्दी)

गैरकानुनीरुपमा कर्मचारी राखेको नागरिक समाजको आरोप


काठमाडौं । सिद्धलेक गाउँपालिकामा पालिकाले करार सेवामा राखेको कर्मचारी गैरकानुनी र विधिविपरीत भएको नागरिक समाजले आरोप लगाएको छ । नागरिक समाज सिद्धलेकका संयोजक मोहमद रकिम अन्सारीसहितको टोलीले पटक–पटक गाउँपालिकामा पुगेर विधिविपरीत कर्मचारी भर्ना नगर्न अनुरोध गरे पनि नमानेको र विधि मिचेर राखिएकोले मागेको सूचना समेत नदिएको नागरिक समाजको आरोप छ ।

गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको निर्देशनमा कर्मचारी छनोट समितिमा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार अधिकारी, अध्यक्षले तोकेको विषय विज्ञमा जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ छत्कुली र सम्बन्धित शाखाको प्रमुखमा शंकरबाबु दुवाडीलाई राखेर अन्तरवार्ता लिएर कर्मचारी छनोट गरिएको थियो । साउन २३ र २४ गते अहेब चार जना, अनमी दुई जना, ल्याब असिस्टेन्ट एक जना, अमिन एक जनाका लागि अन्तरवार्ता लिइएकोमा दुवाडीलाई पालिकाले साउन २३ गते नै कुम्पुर स्वास्थ्य चौकीमा काज फिर्ता गरेको व्यक्ति भएकोले शाखाप्रमुखको रुपमा रहन नसक्ने भएकोले अवैधानिक भएको अन्सारीको भनाइ छ । चरम विवाद, अनियमितता आदिको आरोप लाग्दै आएको सिद्धलेक गाउँपालिकामा फर्जी अन्तरवार्ता लिएर कर्मचारी राखेकोले यससम्बन्धी सूचना माग गर्दा समेत सूचना माग गर्नेलाई नै सुरक्षाकर्मी लगाएर दिनभर घेराबन्दी गर्दै धम्की दिइएको समेत खुलेको छ ।

सूचना माग्न गएपछि राज्यले गोप्य राख्नुपर्छ भनेका सूचनाबाहेकका सूचना दिनुपर्छ तर सिद्धलेक गाउँपालिकाले माग गरिएको सूचना नदिएर आफूहरुमाथि मानवअधिकार उल्लंघन संविधानविपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङमा पीडितहरुको तर्फबाट २०८१ भदौ १२ गते उजुरी गरिएको छ ।

सिद्धलेक गाउँपालिका ५ का ५० वर्षीय मोहमद रबिम अन्सारी र सिद्धलेक गाउँपाकिलाका ५२ वर्षीय रबिन सिलवाललाई पालिकामा सूचना माग्न गएको भन्दै भदौ ११ गते दिनभर नेपाल प्रहरी बोलाएर स्थान हद गरेर (प्रहरीले घेराबन्दी गरेर) राखेको भदौ १३ गते प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अहेव, अनमी, ल्याब असिस्टेन्ट र अमिनको परीक्षाको विषयमा विवाद भएको र सो परीक्षाको निर्णय तथा परीक्षा लिने व्यक्तिहरुका बारेमा जानकारी पाउन सिद्धलेक गाउँपालिकामा साउन २७ गते पहिलो पटक सूचना मागेकोमा उनीहरु दुई जनासहित सात जना नागरिक समाजका व्यक्तिहरुले लिखित सूचना माग गरेका थिए ।

गाउँपालिकाको तर्फबाट त्यस दिन निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका शिवराम अधिकारीले हस्ताक्षर गरी सूचना माग गर्नेहरुलाई साउन ३० गते प्रक्रियामा रहेको परीक्षाको बारेमा सूचना दिन नमिल्ने भन्दै पत्र दिइएको थियो ।

भदौ ११ गते प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा सूचना उपलब्ध गराउने भनेर बोलाएको र बिहान १० बजे कार्यालय पुगेपछि सुरक्षाकर्मी प्रयोग गरी दिनभर घेराबन्दी गरेर राखेकोले मानव अधिकारको उल्लंघन भएको र संविधानले दिएको हक उपभोग गर्न नपाएकोले कारबाहीको माग गर्दै उजुरी गरिएको पीडित अन्सारीले बताए ।

पालिका कर्मचारी लगाएर राति धम्कीपूर्ण फोन गरेको र दिउँसो समेत धम्की आएकोले आफूहरु असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसमक्ष उजुरी परेको हो । पीडित पक्ष सूचना खोज्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् भने मानव अधिकार संरक्षणमा पहल गरिदिन इन्सेकलाई आग्रह गरेका छन् ।

विवादित व्यक्ति र पालिका आफैँले शाखाप्रमुखबाट स्वास्थ्य चौकी पठाएका व्यक्ति राखेर गरिएको अन्तरवार्ता कानुनीरुपमा मान्य नहुने सूचना माग गर्ने अधिकारीहरुले नेपाल समाचारपत्रलाई बताएका छन् ।

प्रक्रिया चलिरहँदा पनि को–को अन्तरवार्तामा बसेको हो ? उनीहरुको हैसियत के हो ? किन उनलाई नै राखिएको हो सूचना मागेपछि दिनुपर्छ तर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नभएको दिन निमित्त प्रशासकीय अधिकृतले सूचना दिन नमिल्ने पत्र पठाउनुलाई नागरिक समाजको तर्फबाट आपत्ति जनाउँदै यस किसिमको अवैधानिक गतिविधिबारे नागरिकहरुलाई सुसूचित गर्ने र जागरुक गर्ने समेत सूचना मागकर्ताहरुको भनाइ छ ।

जताततै अनियमितता गरेको आरोप खेपिरहेको सिद्धलेक गाउँपालिकाले बजेट नभएको भनेर खानेपानी योजनाहरु समेत कटौती गरेको गतवर्ष मलेखुबाट पालिकासम्म सातवटा गेट बनाउने, बाटोछेउमा केही फलामको फूल राख्ने भाँडो राखेर करोडभन्दा बढी बजेट सकेको स्थानीय राजनीतिक दलहरु र बहुमत कार्यपालिका सदस्यहरुले व्यपाक विरोध समेत जनाएका थिए ।

बीचमा कुनै गलत काम गर्नका लागि पनि चिठीपुर्जी चलानी किताबमा समेत बीच–बीचमा ठाउँ खाली राख्ने गरेको भेटिएको छ । पालिकाको आर्थिक वर्ष २०८०।८१ को चिठीपुर्जी चलानी किताबको चनाली नम्बर १०१ खाली राखेर छाडिएको पाइएको हो ।

विभिन्न घटना र सूचना नदिएको सम्बन्धमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय शिवराम अधिकारीले प्रक्रियामा रहेको कर्मचारी छनोटको विषय सूचना दिन नमिल्ने भएर नदिएका बताउँदै सूचना माग गर्न आउनेलाई अन्य सबै सूचना दिएको दाबी गरे । कार्यालयमा आएर कर्मचारीलाई धम्की दिएकाले उनीहरुबाट सुरक्षित रहनुपर्ने भएको समेत अधिकारीको भनाइ छ ।


क्याटेगोरी : समाचार, गाउँ पालिका
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x