Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यापार प्रवद्र्धनका लागि पोखरामा ‘दसैँ उत्सव’

व्यापार प्रवद्र्धनका लागि पोखरामा ‘दसैँ उत्सव’


पोखरा । पोखराको सर्वेश्वर र पराजुली मार्गका बजारमा ‘दसैँ उत्सव’ गरिने भएको छ । सर्वेश्वर–पराजुली मार्गका व्यवसायीको छाता संस्था सर्वेश्वर व्यवसायी समितिले दसैँ, तिहार, नेपाल संवत, छठलगायतका पर्व लक्षित गरेर दसैँ उत्सव गर्न लागेको हो ।

दसैँ उत्सवका लागि समितिले शुक्रबार साँझ व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गरेको थियो । कार्यक्रममा दसैँ उत्सवसँगै व्यापार प्रवद्र्धनका कार्यक्रमसमेत गर्नका लागि सुझाव लिइएको छ ।

सर्वेश्वर–पराजुली मार्गका व्यवसायलाई ब्राण्डिङ गर्ने उद्देश्यले चाँडपर्व लक्षित कार्यक्रम गर्न लागिएको समिति अध्यक्ष तुलबहादुर थापा (राजन) ले जानकारी दिए । समितिले एक महिनासम्म दसैँ उत्सव गरिने उनले बताए ।

अध्यक्ष थापाका अनुसार सर्वेश्वर र पराजुली मार्ग छिर्ने सबैतिरका गेटमा प्रवेशद्वार बनाउने, बजार क्षेत्रलाई सजिसजाउ र झकिझकाउ बनाउने, झिलीमिली बत्ती बालेर दुलहीझैँ सिंगारिनेछ ।

साथै दसैँ उत्सवमा किनमेल गर्ने ग्राहकका लागि बम्पर उपहार योजना सञ्चालन गरिने, सामान खरिदमा कुपन दिइने र चाडपर्व सकिएपश्चात् चिट््ठा खोलिने योजना रहेको उनले बताए ।

व्यापार प्रवद्र्धनका गतिविधि अघि बढाउन कास्की, स्याङ्जा, तनहुँ, पर्वत, बागलुङ, म्याग्दीलगायतका जिल्लामा रेडियो, एफएमबाट सूचना प्रसारण गरिने समितिले जनाएको छ ।

अन्तरक्रियामा सहभागी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण भण्डारी, सल्लाहकार प्रेमप्रसाद सुवेदी, एकनारायण पनेरु, नरहरि अधिकारी, आजीवन सदस्य यादव पोखरेल, व्यवसायी नवराज त्रिपाठीलगायतले बोलेका थिए ।

सर्वेश्वर र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामान, फेन्सी तथा रेडिमेड सामान, श्रृंगारका सम्पूर्ण सामान, काँचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामान थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समिति महासचिव विशाल अधिकारीले जानकारी दिए ।

होलसेल तथा खुद्रा दुवै व्यापार हुने यी दुुई मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुमसम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको वरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x