Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंमा सफा पानी र हावाको समस्या

काठमाडौंमा सफा पानी र हावाको समस्या


काठमाडौं । नेपालका लागि जापानका राजदूत युताका किकुताले हाल काठमाडौंको लागि सफा पानी र सफा हावाको समस्या रहेको बताएका छन् । नेपाल जाइका अमनाई एसोसियसन (जान) ले शनिबार आयोजना गरेको ‘आजको संसारमा स्वस्थ जीवन’ विषयक चेतनामूलक सेमिनारमा उनले राजधानीमा सफा हावा र पानीका लागि सबैको ध्यान जान जरुरी रहेको बताए । यस्तै, उनले जापानले नेपाललाई अरू विभिन्न क्षेत्रको साथसाथै स्वास्थ्यका क्षेत्रमा पनि सहयोग गर्दै आएको जानकारी दिए । जानले कार्यान्वयन गर्ने कार्यक्रमहरू सबै अत्यन्त प्रभावकारी हुने बताउँदै उनले सेमिनारको विषय पनि सान्दर्भिक र महत्वपूर्ण रहेको उल्लेख गरे । सेमिनारमा डा. ओममूर्ति अनिलले आफूलाई मनपर्ने र खुसी हुने खालका कामहरू गर्दा स्वस्थ रहन सहयोग पुग्ने बताए । उनले स्वस्थ रहनको लागि आफूलाई सधैं सक्रिय राख्नुपर्ने र उमेर बढी भएका व्यक्तिलाई रिस, घृणा र नकारात्मक सोच हानिकारक हुने भएकाले यस्ता कुराहरूबाट टाढा रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा डा. शेरबहादुर पुनले भूकम्प र कोभिड–१९ मा धेरै दुःख भोगेर पनि विगतबाट पाठ सिक्न नसकेको बताए । सोही कारण अहिले स्वास्थ्य क्षेत्रमा ठूलो समस्याको रूपमा ‘डेङ्गु’ रहेको उल्लेख गरे । यसबाट सतर्क पनि रहन उनले सबैलाई आगह गरे । अहिले संसारमा विभिन्न देशहरूमा मन्की पक्सको समस्या रहेको तर हालको अवस्थामा नेपालको लागि मक्की पक्सको भन्दा डेङ्गुको बढी जोखिम रहेको उनले जानकारी दिए । साथै, उनले नेपालमा भएका अस्पतालहरूलाई व्यवस्थित बनाउन सबैको ध्यान जानुपर्नेमा जोड दिए । जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जानले समसामयिक सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी सेमिनारको आयोजना गर्दै आएको बताए । स्वास्थ्यसम्बन्धी चेतनामूलक सेमिनार पनि जानका सदस्यहरू र समुदायका व्यक्ति सबैको लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

सेमिनारमा जाइका नेपालका प्रमुख मिजुकी माच्चुजाकी, नेपाल सरकारका सचिव गोकर्णमणि दवाडी, जापानी राजदूतावास, जाइका नेपाल र नेपाल सरकारका उच्च अधिकृतहरू, जानका सदस्यहरू तथा समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x